|

  • विकास डाँगी

दाङ : अन्तरक्रिया कार्यक्रममा पुरानै प्रश्नहरु दोहोरिए। जवाफ पनि उस्तै आयो। तर सञ्चार उद्यमी देवी प्रसाद धिताल ‘हेमराज’को हत्या भएको  ७ वर्षसम्म पनि अझै रहस्य पत्ता लाग्न सकेको छैन्। 

२०६७ साल साउन ६ गते अपरान्ह् साढे ५ बजेतिर तुलसीपुर सीतलपुर सडक खण्ड अन्तर्गत हेमनगरको मुख्य रोडमा एक समुहले गोलि प्रहार गरी हेमराजको हत्या गरेको थियो। रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष हेमराजको हत्यारा पत्ता लगाउन त्यतिबेलादेखि नै विभिन्न स‌ंघ-स‌ंस्था तथा सर्वसाधारणले माग गर्दै आएका छन्। 

 २०६८ सालदेखि हरेक वर्ष  देविप्रसाद धिताल हेमराज प्रतिष्ठानले उनको संझनामा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने गरेको छ। अन्तरक्रियाका सहभागीहरुले हत्याको रहस्य पत्ता लगाउन माग गर्छन्। प्रशासनका उच्च अधिकारीहरुले गम्भिरतापूर्वक घटनाको छानविन भइरहेको जवाफ फर्काउँछन्। यस्तै भयो शनिबार पनि। 

‘मेरा बुबाको हत्या किन गरियो? कुन समुहले गरे? भनिदिनुस्,’ स्वर्गीय हेमराजकी १८ वर्षीया छोरी मनिषाले प्रश्न तेर्‍र्याइन्। प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले यस घटनालाई गम्भिरतापूर्वक लिइरहेको बताए।

‘असार २५ गते प्रमुख जिल्ला अधिकारीका रुपमा दाङ आए देखि यस घटनालाई गम्भीरतापूर्बक लिएको छु। लगातार जानकारी लिई रहेको छु,’ प्रजिअ श्रेष्ठले भने,‘निराश नहुनुहोस् व्यापार व्यवसाय गर्नुहोस प्रहरी सुतेको अवस्था पनि होइन।’

मनिषा यतिमै रोकिइनन्। छेउमै बसेर आँशु पुछिरहेकी आफ्नी आमा र प्रमुख जिल्ला अधिकारी तथा सुरक्षाकर्मीहरुलाई हेर्दै फेरि सोधिन्, ‘अन्य हत्याका घटनामा संलग्नहरुको पहिचान हुने तर मेरा बुबाका हत्यारासम्म प्रहरी पुग्न नसक्ने किन हो ?’

मनिषाको कुरा गम्भीरतापूर्वक सुनेपछि नेपाली सेनाको १९ नम्बर बाहिनीका बाहिनीपति विनोद पाण्डेले सुरक्षाकर्मीबाट शान्ति सुरक्षा प्रदान गर्न प्रयत्न भइरहेको बताए। 

‘अब ढिला नगर्नुहोस् मेरा बुवाका हत्यारालाई पक्राउ गरी कारबाही गर्नुहोस्,’ मनिषाले आग्रह गरिन्। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख,प्रहरी नायब उपरीक्षक भूवनेश्वर तिवारीले स्वर्गीय धितालकी छोरीको रोदन र आँशुका थोपाले थप गम्भीर र संवेदनशिल बनाएको बताए। उनले अपराधीहरुको पहिचान गरी कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे। ‘सहयोग गर्नुहोस् ती अपराधीहरुलाई पक्राउ गर्न प्रहरी सफल हुनेछ,’ उनले भने। 

अन्तरक्रियामा मानवअधिकारकर्मी तेजबहादुर कार्की,तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष मीनराज भण्डारी,मानवअधिकार शान्ति समाज दाङका सभापति सुरेश हमाल लगायतले हत्याराको पहिचान गरि कारबाही गर्न सुरक्षाकर्मीसँग माग गरे। 

प्रतिष्ठानका अध्यक्ष हरीप्रसाद रजौरियाको अध्यक्षतामा भएको अन्तरक्रिया अन्तरक्रिया कार्यक्रमपछि स्थानीय तहको निर्वाचनमा सुरक्षार्थ खटिएका तत्कालीन प्रहरी हबल्दार (अहिले असई) दुर्गाबहादुर रानालाई प्रभावकारी सुरक्षा दिएको भन्दै  ७ हजार नगदसहित सम्मानित गरियो।

त्यस्तै पत्रकार लिला शाहलाई २५ सय २५ रुपैयाँ, यातायात मजदुर नीमबहादुर डाँगीलाई २१ सय ५ रुपैयाँसहित सम्मानित भए। मानवअधिकारकर्मी तेजबहादुर कार्की र यातायात व्यवसायी तेजमणी आचार्यलाई पनि सम्मान गरियो। 

हत्या भएको ७ वर्ष बितिसक्दा पनि प्रहरीले हत्याराको पहिचान गर्न सकेको छैन्। जागेश्वर डाँगी,रत्नवली,राजकुमार श्रेष्ठ,रणबहादुर घर्ती लगायतका व्यवसायीहरुको श्रृखलाबद्ध हत्या तथा रहस्यमय मृत्युका कारण तुलसीपुर सुरक्षाको दृष्टीकोणले संवेदनशिल स्थान मानिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.