|

काठमाडौं  : नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवामाथि स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा उम्मेदवार चयन गर्दा केन्द्रीय सदस्यहरुको समेत सल्लाह नलिएको आरोप लागेको छ।

केन्द्रीय कार्यालयमा सानेपामा शनिबार बिहानदेखि बसेको पार्टी केन्द्रीय कार्य समितिको बैठकमा नेता रामचन्द्र पौडेल पक्षधर केन्द्रीय सदस्यहरुले यस्तो आरोप लगाएका हुन्।

१,३,४,५ र ७ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी चयन गर्ने काम केन्द्रीय कार्य सम्पादन समितिले गरेको थियो। बैठकमा नेता पौडेलले २ नम्बर प्रदेशमा उम्मेदवार छान्ने अधिकार विधान बमोजिम संसदीय समितिलाई दिनुपर्छ भन्दै संसदीय समिति गठनको माग गरेका थिए।

उनले पार्टी केन्द्रीय कार्य समितिलाई पूर्णता दिन, पदाधिकारी छनौट गर्न र संसदीय समितिसहित सवै विभाग गठन गर्न माग गरेका थिए। केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टी सञ्चालन प्रक्रियामा केही सकारात्मक र केही नकारात्मक पक्ष देखिएको औंल्याएका थिए।

उनले माओवादी केन्द्रसँगको सहमतिमा निर्माण भएको सरकारले स्थानीय तहका ६ वटा प्रदेशको निर्वाचन सम्पन्न गर्नु, भातृ संस्थाको महाधिवेवशन गर्नु सकारात्मक पक्ष भएको टिप्पणी गरे।

घिमिरेले पदाधिकारी, केन्द्रीय सदस्य चयन र विभागहरुलाई पूर्णता दिन नसक्नु पार्टी नेतृत्वको कमजोरी भएको बताए। उनले पार्टी सञ्चालनका विधि र प्रक्रिया अपनाउँदा निर्णय प्रक्रियामा सल्लाह नगरेको र गुटको व्यवस्थापनमा  ध्यान दिँदा पार्टी संगठनलाई व्यवस्थित गर्न नसकेको भनी आलोचना गरेका थिए।

छलफलमा अधिकांश केन्द्रीय सदस्यले पार्टीका भातृ संस्थालाई परिचालन गर्न नसकिएको भन्दै नेतृत्वको आलोचना गरे। केन्द्रिय सदस्य बलबहादुर केसी, कमला पन्त, धनराज गुरुङ, सरिता प्रसाईं, कल्याण गुरुङ, रामकृष्ण यादव लगायतले स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गर्नेबेला नेतृत्वले हस्तक्षेप गरेका कारण हार व्यहोर्नु परेको आरोप लगाए।

पौडेल पक्षधर केन्द्रीय सदस्यहरुले भातृ संस्थालाई परिचालन गर्न नसकेको, वित्तिय व्यवस्थापनमा ध्यान नदिएको र गुटलाई प्राथमिकता दिएको आरोप लगाए। 

उनीहरुले मन्त्रिपरिषद् बिस्तारमा ढिलाई गरेको र कांग्रेसले कुन–कुन मन्त्रालय पाउने हो भन्ने विषयमा नेतृत्व तहमा सल्लाह नगरेको आरोप लगाए।
केन्द्रीय सदस्य महेश आचार्य, आनन्दप्रसाद ढुंगाना, प्रदीप पौडेल, शंकर भण्डारी, देवेनद्रराज कँडेलले सभापति देउवा नेतृत्वले माओवादीलाई विश्वासमा लिएर दुई चरणमा निर्वाचन सम्पन्न हुनु सकारात्मक पक्ष भएको बताए।

उनीहरुले स्थानीय तहका निर्वाचनमा भएको कमजोरीलाई सच्याएर अघि बढ्न सुझाव दिए। केन्द्रीय सदस्य तथा मन्त्री फरमुल्लाह मन्सुर, भिष्मराज आङदम्बे, चन्द्र भण्डारी, महेन्द्र यादव, मीन विश्वकर्मा, पार्वती डीसी चौधरी, मानबहादुर विश्वकर्मा लगायतले ६ वटा प्रदेशमा कांग्रेसले व्यहोरेको क्षति दुई नम्बर प्रदेशले पूर्ती गर्ने दाबी गरेका थिए। 

उनीहरुले स्थानीय तहको निर्वाचनबाट कांग्रेस कमजोर नभएको दाबी गरे। केन्द्रीय सदस्य महेन्द्र यादव र मीन विश्वकर्माले स्थानीय तहको निर्वाचनमा प्राप्त भएको सफलतालाई कमजोर नठान्न भन्दै दुई नम्बर प्रदेशका एक सय २७ मध्ये एक सय सिटमा कांग्रेसले जित हात पार्ने दाबी गरे। 

उनीहरुले पार्टी नेतृत्वको आलोचना गर्नु भन्दा सभापतिको हात बलियो बनाउनको लागि भूमिका खेल्न आग्रह गरे। नेतृत्वलाई कमजोर बनाएर पार्टी बलियो नबने उनीहरुको तर्क थियो। 

बैठकमा १९ जनाले धारणा राखेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकमा पार्टीका पदाधिकारी एवं सदस्यहरुले आफ्नो धारणा राख्न बाँकी नै छ।  बैठक आइतबार ८ गते बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा पुनः बस्ने पौडेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.