|
प्रतीकात्मक तस्विर

चितवन : बिग्रिएर बनेको महिना दिन नपुग्दै जमिनमुनि गाडीएको बिजुलीको तारमा समस्या हुँदा दक्षिण चितवनको माडी पाँच दिनदेखि अन्धकार भएको छ।

चितवन राष्ट्रिय निकुञ्जभित्र जमिनमुनि गाडिएको तारमा समस्या हुँदा साउन तीन गतेबाट यहाँ विद्युत् सेवा अबरुद्ध भएको हो। आजसम्म निर्माण कम्पनीले सो समस्याको विषयमा कुनै चासो नदिएको स्थानीयले बताएका छन्। 

जमिनमुनि गाडिएको तार सात स्थानमा गाँसिएको छ। सो मध्ये २ स्थानमा डढेको जस्ता कालो लागेको पाइएको भए पनि परियोजना हस्तान्तरण नहुँदा आफूहरुले हेर्न नपाएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेल बताउँछन् । 

‘स्थानिय उपभोक्ताहरु हामीलाई गाली गरिरहेका छन्,समस्याबारे कुरागर्दा हामी आफैं आएर हेर्छाैं भनेका छन्, पौडेलले भन्नुभयो, हस्तान्तरण नभएको परियोजना हामीले सिधै गएर हेर्न मिल्दैन।’

परियोजनाले समस्या हेर्ने जिम्मा ठेकेदारलाई दिएकाले ठेकेदारको लापरवाहीका कारण समस्या बेलैमा पहिचान हुन नसकेको आरोप स्थानियले दिएका छन्। 

यसअघि चितवन राष्ट्रिय निकुञ्ज स्थित जमिनमुनि गाडिएको विद्युतको तारमा देखिएको खराबीका कारण  असार ५ गतेदेखि अवरुद्ध भएको त्यहाँको विद्युत सेवा दुई सातापछि शुरु भएको थियो। त्यसको महिनादिन नपुग्दै फेरि समस्या देखिएको हो।

जमिनमुनिको तारमा देखिएको खराबी पत्ता लगाउन नेपालको प्रविधिले नसकेपछि खराबी पत्ता लगाउने मेसिन (केवल फल्ट फाइण्डिङ मेसिन) भारतबाट ल्याई सेवा सुरु गरिएको थियो।

स्थानीयबासी गोविन्द न्यौपाने माडीमा पटकपटक विद्युत बन्द हुन समस्याले मारमा परेका छन्। भारतीय सैनिक कल्याणकारी कोष र विद्युत् प्राधिकरणको लगानीमा सञ्चालित २०६७ सालबाट भरतपुर, चनौली, माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले २०७३ साल कार्तिकमा यहाँ विद्युत पुर्‍याएको थियो। 

मंसिरबाट विद्युत सेवा शुरु भएको माडीमा अहिले करिब ४ हजार ग्राहक छन्। पटकपटक जमिनमुनिको खराबीले यहाँका उपभोक्ता मारमा पर्दै आएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.