|

गोरखा : गोरखाको लार्के हुँदै तिब्बत जोड्ने सडक निर्माणको कामलाई नेपाली सेनाले तीव्रता दिएको छ। तिब्बत सीमाजोड्ने बेनिघाट–लार्के सडकको लापुभीरमा ट्रयाक खोल्ने काम गरिरहेको छ। यस अघि अति नै गाह्रो भनिएको एक्ले भीर सकेर नेपाली सेनाले लापुभीरमा खन्ने काम थालेको हो।

एक्लेभीरमा सेनाले बम विस्फोट गरेर ट्रयाक खोली लापुभीरको काम सुरु गरेको हो। यहाँ पनि बम विस्फोट गराउँदै ट्रयाक खोल्ने काम भइरहेको सडक निर्माणमा खटिएका  सेनाका मेजर निशान्त क्षेत्रीले जानकारी दिए। सेनाले अहिले ट्र्याक खोलेको क्षेत्रमा सडक सात मिटर फराकिलो बनेको छ। सो सडकको गत वैशाख ११ गते प्रधानसेनापति राजेन्द्र क्षेत्रीले शिलान्यास गरेका थिए। 

‘गाह्रो भनिएको एक्लेभीर छिचोलेर अघि बढियो’ क्षेत्रीले भने ‘ट्रयाक खोलिएको सबै ठाउँको सडक सात मिटर फराकिलो बनेको छ।’ सेनाले अहिले सम्म एक हजार मिटर भन्दा धेरै लामो दुरीमा सडक खनिसकेको छ। लापुभीरमा नेपाली सेनाका १२० जना निर्माण दलको टोली नियमित खटिएको छ। 

सो सडक निर्माणका लागि दिनहुँजसो बम विस्फोट गर्नुपरेको थियो। धेरै विस्फोट गर्नुपर्ने देखेर सरकारले नेपाली सेनालाई नै सो सडक निर्माणको जिम्मा दिएको हो। सो सडक खण्ड हुँदै हिमालपारी गाविस भएका गोरखाका चुमन्ब्री गाउँपालिका र धार्चे गाउँपालिकाको गाउँहरूमा पुग्न सहज हुनेछ। अहिले उत्तरी क्षेत्रमा यातायातको साधनको रूपमा खच्चड र चौँरी मात्र छन्। तिब्बतसँग सिधा यातायात सेवा हुने बताइएको सो सडकको १२१ किलोमिटर सडक नेपाली सेनाले निर्माण गर्ने जिम्मा लिएको छ।  

बेनीघाट देखि हावा डाँडाको सडक ६२ किलोमिटर सडक भने यस अघि नै सडक डिभिजन कार्यालयले निर्माण गरिसकेको छ। नेपाली सेनाले अहिले लापुभीरमा सडक खन्नेकाम गरिरहेको भएपनि हावाडाँडा देखि तातोपानी सम्मको १६ किलो मिटर सडकको सर्भे समेत गरिसकेको छ। बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडकको लम्बाइ १८३ किलोमिटर छ ।

मध्ये सेनाले आरुघाट–लार्केभञ्ज्याङ खण्डको १२१ किमि सडक निर्माण गर्ने जिम्मा पाएको छ। बेनीघाट–आरुघाट–हावाडाँडा खण्डको ६२ किलोमिटर सडक निर्माण सडक विभागले गरिरहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.