|

 भक्तपुर : आर्थिक अभावका कारण निरन्तर रुपमा सञ्चालन हुन नसकेको मध्यपुर थिमीको जिब्रो छेड्ने जात्रा यसवर्ष सञ्चालन हुने भएको छ। आर्थिक अभावका कारण ११ वर्षदेखि रोकिएको इन्द्र जात्राको भोलिपल्ट मध्यपुरथिमीमा सञ्चालन हुने जिब्रो छेड्ने जात्रा यसवर्ष सञ्चालन हुन लागेको हो।

इन्द्रजात्राको भोलिपल्ट हुने जिब्रो छेड्ने जात्रालाई स्थानीय भाषामा येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा अर्थात् काठमाडौं पूर्णिमाको जिब्रो छेड्ने जात्रा भनिन्छ। भाद्र शुक्ल पूर्णिमाको अवसरमा काठमाडौंमा प्रसिद्ध इन्द्रजात्रा हुने भएकाले सो पूर्णिमालाई येंया पुन्हि अर्थात् काठमाडौं पूर्णिमाको संज्ञा दिइएको हो।

मध्यपुर थिमी नगरवासी तथा विभिन्न सामाजिक संघसंस्थाहरुको सहयोगमा यस वर्ष आगामी भाद्र २१ गते मध्यपुर थिमी नगरपालिका वडा नं. ५ का २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेड्ने भएपछि ११ वर्षपछि यो जात्रा सञ्चालनमा आउन लागेको हो।

जात्रालाई व्यवस्थित एवं मर्यादित ढंगबाट सञ्चालन गर्न येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा व्यवस्थापन समितिसमेत गठन गरेको छ। समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठका अनुसार यो जात्रा पछिल्लो पटक ११ वर्ष अघि २०६३ सालमा सञ्चालन भएको थियो। त्यसअघि २०५९ र २०५३ सालमा यो जात्रा सञ्चालन भएको पाइन्छ। पछिल्लो तीनैपटक कृष्ण नानिचा श्रेष्ठले जिब्रो छेडाएका थिए।

जिब्रो छेड्ने जात्राको लागि करिब एकमहिना अगाडिदेखि नै तयारी गर्नुपर्ने समितिका अध्यक्ष श्रेष्ठले बताए। जिब्रो छेड्ने नातु (सुइरो) बनाउनका लागि करिब एक महिना अगाडि नातु बनाउने नकर्मीलाई खबर गर्न जानुपर्ने प्रचलन रहेको अध्यक्ष श्रेष्ठले बताए।

नकर्मीले नातु बनाइसकेपछि ३ हप्ताजति शुद्ध तोरीको तेलमा नातुलाई डुबाएर राख्ने गर्दछ। जात्राको दिन १० इन्च लामो सो सुइरोले मध्यपुर थिमी दिगुटोलस्थित दिगु भैरव मन्दिर अगाडिको डबलीमा कमी नाइकेले जिब्रो छेडिदिने गर्दछ।

जिब्रो छेडिसकेपछि जिब्रो छेड्ने व्यक्तिले बाँसबाट बनाएको स्थानीय भाषमा भ्य् भनिने महादीप बोकेर नगर परिक्रमा गरिन्छ। जिब्रो छेड्नुअघि जिब्रो छेड्ने व्यक्तिले बालकुमारीदेखि दिगुभैरवसम्मका विभिन्न देवताहरुलाई बत्ती चढाउनु पर्दछ।

जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार नगरको विभिन्न भागको परिक्रमापछि स्थानीय बालकुमारी मन्दिरमा पुगेर जात्रा समापन गरिन्छ। जात्रा समापन गर्ने क्रममा कमिनायोले सो सुइरो निकालिन्छ। सुइरो निकालिसकेपछि जिब्रोमा भएको खालमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो राखिदिन्छ। अनि सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ।

मितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले पौराणिक कथनअनुसार परापूर्वकालमा थिमीका स्थानीय वासिन्दाहरुलाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले दुःख दिन थालेपछि थिमीका जनताहरुलाई सो दुःखबाट छुटकारा दिलाउन थिमीका अराध्यदेवी बालकुमारीको साधना गरेपश्चात भाद्र शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरु यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरु रहेको भन्दै भागेको जनश्रुति रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.