|

गोरखा : गोरखाको लार्के हुँदै तिब्बत जोड्ने सडक निर्माणको कामलाई नेपाली सेनाले तीव्रता दिएको छ। तिब्बत सीमामा जोड्ने बेनिघाट–लार्के सडकको लापुभीरमा ट्रयाक खोल्ने काम गरिरहेको छ। यसअघि अति नै गाह्रो भनिएको एक्ले भीर सकेर नेपाली सेनाले लापुभीरमा खन्ने काम थालेको हो। एक्लेभीरमा सेनाले बम विस्फोट गरेर ट्रयाक खोली लापुभीरको काम सुरु गरेको हो।

यहाँ पनि बम विस्फोट गराउँदै ट्रयाक खोल्ने काम भइरहेको सडक निर्माणमा खटिएका सेनाका मेजर निशान्त क्षेत्रीले जानकारी दिए। सेनाले अहिले ट्रयाक खोलेको क्षेत्रमा सडक सात मिटर फराकिलो बनेको छ। सो सडकको गत वैशाख ११ गते प्रधानसेनापति राजेन्द्र क्षेत्रीले शिलान्यास गरेका थिए।

‘गाह्रो भनिएको एक्लेभीर छिचोलेर अघि बढियो’ क्षेत्रीले भने ‘ट्रयाक खोलिएको सबै ठाउँको सडक सात मिटर फराकिलो बनेको छ।’ सेनाले अहिलेसम्म हजार मिटरभन्दा धेरै लामो दूरीमा सडक खनिसकेको छ। लापुभीरमा नेपाली सेनाको १ सय २० जना निर्माण दलको टोली नियमित खटिएको छ।

सो सडक निर्माणका लागि दिनहुँजसो बम विस्फोट गर्नुपरेको थियो। धेरै विस्फोट गर्नुपर्ने देखेर नेपाल सरकारले नेपाली सेनालाई नै सो सडक निर्माणको जिम्मा दिएको हो। सो सडक खण्ड हुँदै हिमालपारी गाविस भएका गोरखाका चुमन्ब्री गाउँपालिका र धार्चे गाउँपालिकाको गाउँहरुमा जानआउन सहज हुनेछ।

अहिले उत्तरी क्षेत्रमा यातायातको साधनको रुपमा खच्चड र चौँरी मात्र छन्। तिब्बत सँग सिधा यातायात सेवा हुने बताइएको सो सडकको १२१ किलोमिटर सडक नेपाली सेनाले निर्माण गर्ने जिम्मा लिएको छ।

बेनीघाटदेखि हावा डाँडाको सडक ६२ किलोमिटर सडक भने यस अघि नै सडक डिभिजन कार्यालयले निर्माण गरिसकेको छ। नेपाली सेनाले अहिले लापुभीरमा सडक खन्ने काम गरिरहेको भए पनि हावाडाँडादेखि तातोपानीसम्मको १६ किलोमिटर सडकको सर्भे समेत गरिसकेको छ।

वेनीघाट-आरुघाट–लार्केभन्ज्याङ सडकको लम्बाइ १ सय ८३ किलोमिटर छ। जसमध्ये सेनाले आरुघाट–लार्केभन्ज्याङ खण्डको १ सय २१ किमी सडक निर्माण गर्ने जिम्मा पाएको छ। बेनीघाट–आरुघाट–हावाडाँडा खण्डको ६२ किलोमिटर सडक निर्माण भने सडक विभागले गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.