|

इलाम : १० वर्षे सशस्त्र द्वन्द्वबाटपीडित बनेका १ सय १६ जनालाई ५ करोड ६६ लाख रुपैयाँ राहत वितरण गरिएको छ। स्थानीय शान्ति समितिमार्फत विभिन्न ५ वर्गमा विभाजन गरी द्वन्द्वपीडितलाई राहत रकम उपलब्ध गराइएको हो।  राहत पाउनेमा १ सय ८ जना सर्वसाधरण, ४ सेना–प्रहरी र ४ जना बेपत्ताका परिवार रहेका छन्।

नेपाल बैंकमार्फत राहत रकम उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ। ‘शान्ति तथा पुनर्निर्माण मन्त्रालय द्वन्द्वप्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगतसंकलन कार्यदलले तयार गरेको प्रतिवेदनको आधारमा निवेदन संकलन गरी पहिचान भएकालाई क्षतिपूर्ति तथा आर्थिक सहायतास्वरुप रकम उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा नित्यानन्द घिमिरेले जानकारी दिए।

कार्यदलको प्रतिवेदनअनुसार सशस्त्र द्वन्द्वका क्रममा मारिएका एक सय १२ जना मृतकको परिवारलाई यसअघि पाएको रकममा थप गरी १० लाख पुर्‍याइएको छ। यस्तै, बेपत्ता भएका ४ जनाको परिवारको लागि यसअघि प्राप्त भइसकेको रकममा थप गरी जम्मा १० लाख रुपैयाँ नै बेपत्ता व्यक्तिको हकबालालाई प्रदान गरिएको छ। घिमिरेका अनुसार बैंक खातामा मृतक परिवारका हकदारको खातामा ५ करोड ४६ लाख तथा बेपत्ता परिवारको हकवालाको खातामा २० लाख रुपैंयाँ राहत रकम गरिएको छ।

द्वन्द्वको समयमा राज्य तथा तत्कालीन विद्रोही पक्ष (माओवादी) बाट अपहरणमा परेको भनी पहिचान भएका तथा र विस्थापित जीवन बिताउन बाध्य १ सय ९३ जनाको लागि २५/२५ हजार राहत रकम भने जिल्ला प्रशासन कार्यालयबाटै वितरण गरिएको छ।

विस्थापितमध्ये केहीले अझै उक्त राहत रकम लगेका छैनन्। विस्थापित परिवारका लागि जम्मा २४ लाख ८९ हजार ९ सय रुपैयाँ वितरण गरिएको छ। कार्यदलको प्रतिवेदनअनुसार द्वन्द्वपीडितलाई वितरण गर्न करिब ६ करोड रुपैयाँ बजेट प्राप्त भए पनि निवेदनमा पर्याप्त प्रमाण नपुगेको तथा बैंक खाता नभएका व्यक्तिलाई रकम उपलब्ध गराउन नमिल्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.