|

काठमाडौं : साझा पार्टी र विवेकशील नेपाली दलबीच एकीकरण हुने भएको छ। रवीन्द्र मिश्रको नेतृत्वमा रहेको साझा पार्टी र उज्ज्वल थापाको नेतृत्वमा रहेको विवेकशील नेपाली दलबीच विभिन्न चरणमा भएका एकीकरण वार्ता सकारात्मक भएको दुबै दलका नेताहरूले बताएका छन्।

साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले प्रदेश र संघीय संसदको निर्वाचनलाई लक्षित गरी जतिसक्दो चाँडो एकता प्रक्रियालाई पूर्णता दिने गरी छलफल अघि बढेको थाहाखबरलाई बताए।

‘मूल्य मान्यता र राजनीतिक दृष्टिकोणका हिसाबले हामी नजिक छौँ, राष्ट्रिय मुद्दामा पनि हामीले विगतदेखि नै सहकार्य गरिरहेका छौँ’, आचार्यले भने, ‘हामी एकता प्रक्रियाको प्रारम्भिक चरणमा छौँ। प्रदेश र संघीय संसदको निर्वाचनअघि जतिसक्दो चाँडो एकीकरण गर्ने गरी छलफल अघि बढेको छ।‘

विवेकशील नेपाली दलका प्रवक्ता रमेश पौडेलले पनि आफ्नो दलको राजनीतिक संवाद समितिमार्फत साझा पार्टीसँग चलिरहेको एकता छलफल सकारात्मक रहेको प्रतिक्रिया दिए। ‘हाम्रा वैचारिक मतभिन्नता छैनन्, हामी मूल्य मान्यताको राजनीतिमा विश्वास गर्छौँ’, उनले भने, ‘विभिन्न चरणमा हाम्रो छलफल चलिरहेको छ र यो सकारात्मक छ।’

के के मिलाउन बाँकी?

निर्वाचन आयोगमा दर्ता भैसकेका यी दुई दलअहिले एकीकृत पार्टीको नाम, चुनाव चिह्न र नेतृत्व मिलाउन छलफलमा व्यस्त छन्। विवेकशील नेपाली दल र साझा पार्टीको नाम मिसाएर ‘विवेकशील साझा पार्टी’ नाम राख्‍ने सम्भावना रहे पनि नेताहरू निष्कर्षमा भने पुगेका छैनन्।

यसैगरी विवेकशील नेपालीले निर्वाचन आयोगसँग चुनाव चिह्न ‘हँसिलो मुहार’ मागेको छ भने साझा पार्टीले ‘तराजु’। एकीकृत दलको चुनाव चिह्न के राख्ने भन्नेमा पनि नेताहरू निष्कर्षमा पुगेका छैनन्।

सबैभन्दा जटिल दुई दलको नेतृत्व मिलाउन हुने देखिन्छ। तर साझाका प्रवक्ता सूर्यराज आचार्य दुबै पार्टीको अवधारणा र लक्ष्य समान भएकोले प्राविधिक विषयले समस्या नपार्ने दावी गर्छन्।

‘वैकल्पिक राजनीतिप्रति नागरिकको आपेक्षा छ’, आचार्य भन्छन्, ‘हामीबीच अवधारणा र लक्ष्य मिल्छन्, नाम र नेतृत्व जस्ता प्राविधिक विषयले अल्झाउँदैन।‘

यद्यपि अलग अलग नाम, चुनाव चिह्न र परिचय बोकेका दुई दल एकअर्कामा विलय भएको भन्दा पनि दुबैको सम्मान हुने गरी एकता प्रक्रियालाई पूर्णता दिने तयारीमा आफूहरू रहेको उनले बताए।

साझा पार्टीले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाबाट र दोस्रो चरणमा इटहरी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको थियो। विवेकशील नेपालीले पहिलो चरणमा काठमाडौं महानगरपालिका र दोस्रो चरणमा शुक्लाफाँटा नगरपालिका प्रमुख, यही नगरको वडा नम्बर ११ को वडाध्यक्ष र मोरङको केराबारी गाउँपालिका वडा नम्बर ९ को वडाध्यक्षमा उम्मेदवारी दिएको थियो।

काठमाडौं महानगरपालिका प्रमुखमा विवेकशील नेपालीकी रञ्जु दर्शना न्यौपानले २३ हजार ४२९ मतसहित तेस्रो भएकी थिइन् भने प्रमुखमा साझाका उम्मेदवार किशोर थापाले १८ हजार ४९६ मत ल्याएका थिए। ललितपुर महानगरपालिकामा साझा पार्टीका प्रमुखका उम्मेदवार रमेश महर्जनले १३ हजार ४५८ मत ल्याएर तेस्रो स्थानमा रहे भने उपप्रमुखकी उम्मेदवार शोभा शाक्यले १४२४० मत ल्याएर दोस्रो स्थानमा रहेकी थिइन्।  

विवेकशील दलले १५ जिल्लामा कमिटी बनाएको छ भने साझा पार्टीले पनि जिल्ला जिल्लामा संगठन विस्तार गरिरहेको छ।

कहिले उदाए विवेकशील र साझा पार्टी?

विभिन्न सामाजिक आन्दोलनहरुमा सक्रिय हुँदै आएको विवेकशील नेपाली दल २०७० सालको संविधानसभा चुनावभन्दा केही अगाडि भएको हो। यस दलका उम्मेदवारले संविधानसभा चुनावमा काठमाडौंका चारवटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए।

काठमाडौं क्षेत्र नम्बर १ मा गोविन्द नारायण, क्षेत्र नम्बर ४ बाट सन्तोष प्रधान, ५ बाट अध्यक्ष उज्वल थापा र ८ बाट पुकार बमले उम्मेदवारी दिएका थिए। विवेकशील नेपालीले मेडिकल शिक्षा सुधारका विषयमा डा. गोविन्द केसी अनसन बस्दा उनको पक्षमा दबाबमुलक प्रदर्शनमा सहभागी हुँदै आएको छ। त्यस्तै भ्रष्टाचार विरोधी आन्दोलन र भूकम्पपछिको पुनर्निर्माणमा दबाबमुलक प्रदर्शन गर्दै आएको छ।

बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले जागिरबाट राजिनामा दिएपछि २०७३ साल फागुनमा साझा पार्टी नेपालको स्थापना गरेका हुन्। उनको अभियानलाई साथ दिँदै केही पेशाकर्मी र पूर्व प्रशासकहरु पनि साझा पार्टीमा आवद्ध भएका छन्। साझा पार्टीले पहिलो पटक निर्वाचनमा भाग लिएको गत वैशाख ३१ को स्थानीय तह निर्वाचनमा नै हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.