|

काठमाडौं : जनैपूर्णिमाको दिन बाँधिने रक्षाबन्धन (डोरो) यसवर्ष नागपञ्चमीकै दिन बाँधिने चर्चाले धेरै हिन्दु नेपालीहरु अन्योलमा परेका छन्। नाग पञ्चमीकै दिन डोरो बाँध्ने र द्विजहरुले जनै फेर्नुपर्ने चर्चा गलत हो वा सही हो भन्ने अन्योल पनि परेको छ।

यस विषयमा देखिएको अन्योल प्रष्ट पार्दै ज्योतिशास्त्र सम्बन्धी सरकारी निकाय नेपाल पञ्चाङ्ग निर्णायक समितिले नागपञ्चमीकै दिन रक्षाबन्धन गर्नु शास्त्र र परम्परा अनुसार ठीक रहेको बताएको छ।

'यसवर्ष वि.सं. २०७४ साल श्रावण २३ गते सोमबार श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रि-पूर्व खण्डग्रास चन्द्रग्रहण भएकाले सो दिन गरिने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन श्रावण १३ गते शुक्रबार श्रावणशुक्ल पञ्चमी (नागपञ्चमी) का दिन गर्नु शास्त्र तथा परम्परा अनुसार समुचित छ' समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले शनिबार जारी विज्ञप्तिमा भनिएको छ।   

यसवर्ष जनैपूर्णिमाको दिन ग्रहण लाग्ने भएकाले त्यसको १० दिन अगाडि नागपञ्चमीकै दिन रक्षाबन्धन गर्नु र जनै फेर्नु परम्परा अनुसार ठीक भएको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यसअघि वि. सं. १९९३, १९८२, २०२८ र २०४७ सालको पनि श्रावण शुक्ल पूर्णिमामा ग्रहण परेकाले श्रावण शुक्ल पञ्चमी (नागपञ्चमी) को दिन नै रक्षाबन्धन गरिएको थियो।

यसवर्ष जनैपूर्णिमा भने साउन २३ गते परेको छ। पञ्चाङ्ग निर्णायक समितिले जनैपूर्णिमाका दिन गरिने जात्रा, उत्सव, तिथि, श्राद्ध र अरु परम्पराहरु भने पूर्णिमाकै दिन गर्नु शास्त्रसम्मत हुने जनाएको छ। समितिले अन्तिममा भनेको छ ' अत: कुनै भ्रममा नपरी २०७४ श्रावण १३ गते शुक्रबार पञ्चमीका दिन नै उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन गर्न यो समिति सर्वसाधारण सबैमा जानकारी गराउँदछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.