प्रचण्डले भने, 'सँगै बसेर विगतका अनुभवको खुला मनले समीक्षा गरौँ'

|

काठमाडौं : नेकपा माओवादी केन्द्रले विगतमा पार्टी छोडेर छुट्टै पार्टी गठन गरेका नेताहरूलाई पार्टी एकताका लागि आह्वान गरेको छ।

काठमाडौंमा एक सातासम्म चलेको माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकले विगतमा पार्टी छोडेका मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूलाई पार्टी एकताका लागि आह्वान गरेको हो।

'बैठकले पार्टी एकता प्रक्रियालाई पूर्णता दिने कुराको आवश्यकता महसुस गर्दै मुख्यतः मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, र नेत्रविक्रम चन्द विप्लव नेतृत्वका घटक र सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूलाई अपिल गरेको छ', बैठकका निर्णयहरूबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनको परिणामले विभाजनको असर उजागर गरेको बताए। 'दुई चरणमा भएका चुनावले विभाजनको असर उजागर गरेको छ र माओवादी केन्द्र नै यसको मूलधार रहेको तथ्यलाई अनुमोदन गरेको छ', प्रचण्डले भने, 'सँगै बसेर विगतका अनुभवको खुला मनले समीक्षा गरौँ र विना कुनै पूर्वाग्रह अगाडि बढौँ।'

वैद्य नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष छन् भने डा. भट्टराई नयाँ शक्ति नेपालका संयोजक छन्। यी दुबै दलले स्थानीय तहको निर्वाचनमा सहभागी भए पनि सफलता भने पाउन सकेनन्। नयाँ शक्तिले स्थानीय तहको निर्वाचनमा एउटामात्र गाउँपालिकामा अध्यक्ष जित्यो भने वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले गठन गरेको मोर्चाले वडाको जितमै खुम्चियो। विप्लव नेतृत्वको नेकपाले भने स्थानीय तहको निर्वाचन बहिस्कार गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.