|

काठमाडौँ : आइतबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा काठमाडौँ उपत्यकामा सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे छलफल थियो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनाइ राख्दै थिए, मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री निर्वाचन क्षेत्र निर्धारण आयोगका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रममा जान हतारिए।

क्षेत्रीले सभापति डोरप्रसाद उपाध्यायसँग बोल्न समय माग गरेपछि पालो उनकै आयो। उनले मुख्य सचिवलाई समिति बैठकमा आगामी दिनबाट नबोलाउन आग्रह गरे। संसदीय समितिमा मुख्य सचिवलाई बोलाउँदा असहज हुने भन्दै हरेक बैठकमा नडाक्न उनले सुझाव दिए। 'सबै काम प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयबाट हुने होइनन्। हरेक काम हेर्ने विभाग छन् हाम्रो काम सहजीकरणको मात्रै हो', मुख्य सचिव क्षेत्रीले भने,' भोलिका दिनमा मुख्य सचिवलाई नबोलाइयोस्।'

उनले भनाइ राख्दै गर्दा समिति सदस्यहरु आक्रोशित मुद्रामा थिए। समिति सदस्यहरुको आक्रोश बुझेर मुख्य सचिवले आफ्नो भनाई तुरुन्तै सच्याए। 'समितिले आवश्यक ठानेमा म उपस्थित नहुने भन्ने चाहिँ हुँदैन म उपस्थित हुन्छु।' त्यति भनेर उनी कार्यक्रमबाट बाहिरिए।

सांसदहरुको आक्रोश

मुख्य सचिवको यस भनाइप्रति सांसदहरुले आक्रोशमात्रै पोखेनन् उनलाई कारबाही गर्न सरकारलाई ध्यानाकर्षण गराउनुपर्नेसम्मको कुरा उठाए। यसअघि डेढ वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमान सिंह कार्कीले कृषि तथा जलस्रोत समितिको बैठकमा आफू सुशासन समिति बाहेक अन्य संसदीय समितिको बैठकमा नआउने बताएका थिए। यसपटक मुख्यसचिवले पनि लोकमान प्रवृत्ति देखाएको भन्दै सांसदहरु रामहरि खतिवडा, धनराज गुरुङ, भरत कलवार लगायतले मुख्य सचिव क्षेत्रीको भनाइप्रति आपत्ति जनाए। उनीहरुले लोकमान प्रवृत्ति नदेखाउन ध्यानाकर्षण गराउँदै सचेत गराउन समेत सरकारसँग माग गरे।

'मुख्य सचिवको अनुहार हेर्न मात्रै संसदीय समितिले बोलाएको होइन', कांग्रेस नेता तथा सांसद धनराज गुरुङले भने,'संसदीय समितिमा प्रयोग गर्ने भाषाप्रति सजग हुनुस् लोकमानसिंह कार्की पनि समितिमा बोलाउँदा कहिल्यै उपस्थित भएनन् मुख्य सचिवको पनि तरिका त्यस्तै हुन खोज्दैछ, उहाँलाई सरकारले सचेत गराउनुपर्छ।'

यस्तै सांसद रामहरि खतिवडाले मुख्य सचिवले हल्का टिप्पणी गरेको भन्दै संसदीय समितिप्रति उत्तरदायी र जिम्मेवार हुन आग्रह गरे। 'मुख्य सचिवले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ यस्तो हल्का टिप्पणी गर्नुभएन समितिमा बोलाउँदा उहाँले प्रकट गरेको असहमति सह्य हुँदैन' उनले भने।

यस्तै सांसद विकास लम्सालले प्रधानमन्त्री समेत संसदीय समितिले बोलाउँदा उपस्थित हुनुपर्ने भन्दै जिम्मेवार हुन मुख्य सचिवलाई ध्यानाकर्षण गराए। 'संसदीय समितिले बोलाउँदा प्रधानमन्त्री समेत उपस्थित हुन्छन् मुख्य सचिवले नबोलाउनु भन्न मिल्दैन जिम्मेवार हुनुहोस्,' लम्सालले भने। सांसद भरत कलवारले समेत मुख्य सचिवको अभिव्यक्तिलाई आपत्तिजनक भने।

निर्वाचन क्षेत्र निर्धारण आयोगको पदाधिकारीको सपथमा गएकाले मुख्य सचिव क्षेत्रीले सांसदहरुको ध्यानाकर्षण सुन्न पाएनन्। सांसदहरुले मुख्य सचिवलाई लोकमानसिंह प्रवृत्ति नदेखाउन माग गर्दै सभापति उपाध्यायलाई समितिले ध्यानाकर्षण गराउन माग गरेपनि बैठकले त्यस विषयमा निर्णय गरेन।

के गर्‍यो त लेखा समितिले निर्णय?

लेखा समितिकै सभापति डोरप्रसाद उपाध्यायको शब्दमा लेखा समितिले 'उस्ताउस्तै तर फरक' निर्देशन दिएको छ । समितिको बैठकले सडक निर्माणलाई तीव्रता दिन १३ बुँदे निर्देशन दिएको छ।

  • सडक निर्माण समयमै सम्पन्न नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्ने
  • सडक निर्माण गर्दा गुणस्तर कायम गर्ने
  • सडक ढल खानेपानी एकीकृतरुपमा निर्माण गर्ने
  • तीन महिना भित्र नागढुंगा, त्रिपुरेश्वर सडक निर्माण गर्ने
  • स्थानीय तहले निर्माण गर्नुपर्ने सडक तोक्ने

समितिका सभापति उपाध्यायले यत्ति निर्णय सार्वजनिक गर्दै भने, 'हामीले आजको बैठकमा उस्ताउस्तै तर फरक १३ बुँदे निर्देशन दिएका छौँ।' समितिको बैठक अर्को सूचना नआउन्जेलसम्म स्थगित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.