|

रमेश पराजुली-

    सिन्धुपाल्चोक : पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३ भोताङका देवबहादुर तामाङ र पूर्णी तामाङ घरदेखि खेतबारीसम्मका सबै काम मिलेरै गर्छन्। ०७२ वैशाखमा गएको महाविनाशकारी भूकम्पले उनको घर लडाएपछि उनीहरुले घर बनाउन सकेका छैनन्। घर बनाउने उपर्युक्त  विकल्पको माध्याम उनीहरुले तरकारी खेतीलाई रोजेका छन्। तामाङ भन्छन्,'बर्खाभर तरकारी बेचेको पैसा जम्मा पारेर  हिउँदमा  भूकम्प प्रतिरोधी घर बनाउने सोचमा छु।'

    ‘भैंसी तथा वस्तुभाउको स्याहारको काम मेरो जिम्मामा छ श्रीमानलाई बाजे शब्दले बोलाउने पूर्णीले लजाउँदै भनिन्, ‘टनेलमा लगाएको गोलभेंडाको स्याहार र गोडमेल लगायतको काम उहाँले गर्दा मैंले घरमा खाना बनाउँछु। खेतबारीमा मल बोक्ने, जोत्ने, खन्ने लगायतका काममा भने हामीसँगै हुन्छौं। मिलेर काम गर्दा एउटालाई मात्रै गाह्रो हुँदैन, काम गर्न पनि रमाइलो हुन्छ।’

    परिवारमा हुने हरेक आम्दानी सल्लाह गरेर उपर्युक्त काममा मात्र खर्च गर्ने गरेका छन् उनीहरुले। ‘तरकारी बेचेर, बाख्रा पाठा बेचेर आएको पैसा ‘हजुरआमा’ले राख्ने गरेको छ। घर खर्चका लागि नुन तेल कपडा किन्नु पर्दा घरसल्लाह गरेरै किन्छौं।’ श्रीमतीलाई हजुरआमा अर्थात् ‘मम खु यु’ शब्दले बोलाउने देव बहादुरले भने, ‘खर्च चाहिँदा माग्छु, सामान किन्छु र बचेको पैसा फेरि राख्न दिन्छु। आफूसँग राख्दा मासिन्छ कि भनेर उनलाई नैं दिने गरेको हुँ।’

    देवबहादुर र पूर्णी दुई छोरीका अभिभावक हुन्। छोरीलाई नै छोरासरह मानेको बताउने देवबहादुर र पूर्णीले छोराको आवश्यकता महशुस नगरेको बताउँछन्। ‘एउटी छोरी बिहे गरेर गइसकेकी छिन्। सानी छोरी काठमाडौंमा १० कक्षामा पढ्दै छिन्। हामीलाई कहिल्यै छोराको खाँचो महशुस भएको छैन’पूर्णीले भनिन्।

    २ आना क्षेत्रफलमा बनाएको टनेलमा अघिल्लो पटक लगाएको गोलभेंडा, तितेकरेला र काँक्रोबाट ३० हजार रुपैंयाँ आम्दानी भएपछि उत्साहित भएको तामाङ परिवारले यस वर्ष अर्को टनेल थपेको छ। यसपटक २ सय २० किलो गोलभेंडा बिक्री भइसकेको र ११ हजार रुपैयाँ बराबरको आम्दानी लिइसकेको देव बहादुर बताउँछन्। उनले भने, ‘दुईवटा टनेलबाट उत्पादन भएको २ सय २० किलो गोलभेंडा हामीले हाटबजारमा लगेर बेच्यौं। एक किलोको ५० देखि ६० रुपैंयाँका दरले बिक्री हुँदा अहिलेसम्म ११ हजार रुपैयाँ लिइसकेका छौं।’

    ‘अघिल्लो वर्ष त हामीले १२ हजार रुपैंयाँको गोलभेंडा बेच्यौं। तितेकरेला पनि १२ हजार रुपैंयाँ बराबरको बिक्यो। काँक्रो बिक्री गरेर हामीले ५ हजार रुपैंयाँ पायौं।’ पूर्णीले भनिन्, ‘टनेलभन्दा बाहिर लगाएको बन्दाबाट पनि ६ हजार रुपैंयाँजति आम्दानी भएको छ। जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा दिएको प्लास्टिक (२ हजार रुपैंयाँमा) किनेर अर्को टनेल बनाउँदै छौं।’

    गोलभेंडा, बन्दा र तितेकरेला ६० रुपैंयाँका दरले र काँक्रो ३० रुपैयाँका दरले गाउँमै बिक्री भएको देवबहादुर तामाङ बताउँछन्। ‘५÷६ पाथी मकै कोदो फल्ने जग्गामा बेमौसमी तरकारी फलाउँदा एक सिजनमा ३५ हजार रुपैंयाँ कमाइ हुँदो रहेछ। त्यही भएर हामीले घर सल्लाह गरेरै अर्को टनेल बनाउँदै छौं।  देव बहादुरले सुनाए, ‘आफैंले तरकारी फलाउँदा तरकारी किन्ने पैसा बचत भयो। आपूmले खाएर बढी भएको तरकारी बिक्री गर्दा घर खर्च चलाउने पैसा हुँदो रहेछ।’

    तरकारी बिक्रीबाट आएको रकममध्ये २० हजार रुपैंयाँ बचत भएको उनीहरु बताउँछन्। उक्त बचत रकम गाउँकै सेरच्यु बरलो साना किसान कृषि सहकारी संस्थामा जम्मा गरेको देव बहादुरले बताए। उनले भने, ‘तरकारीका लागि बीउ, कृषि औजार, टनेलको प्लास्टिक र टनेल बनाउन ५ हजार रुपैंयाँ समेत संस्था (आत्मनिर्भर केन्द्र र केएर नेपाल) बाट पायौं। हामी आफैंले धेरै लगानी गर्नुपरेन। तरकारी लगाउँदा, गोडमेल गर्दा, टिप्दा र बिक्री गर्दा आफैंले गरेका छौं। आफैंले बनाएको गोठेमल हालेको हुँदा मल पनि किन्नुपरेन।’

    यस वर्ष दुईवटा टनेलमा फलेको गोलभेंडा बेचेर हुने आम्दानीसमेत थपेर हिउँदमा घर बनाउने योजना छ देवबहादुर र पूर्णीको। ‘सरकारले दिएको पहिलो किस्ता ५० हजार रुपैंयाँ पनि सहकारीमा बचत गरेका छौं।’ पूर्णीले भनिन्, ‘यसअघि तरकारी बेचेर बचेको पैसा र अब हुने आम्दानी समेत गरेर अबको हिउँदमा भूकम्पप्रतिरोधी घर बनाउँछौं। आर्थिक अवस्था राम्रो नभएकोले यस वर्ष घर बनाउन सकिएन।’

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.