|

काठमाडौं : नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले पार्टीमा भागबण्डा नगरी अघि बढ्न सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन्। शनिबार सुरु केन्द्रीय कार्यसमितिको बैठकमा आइतबार बोल्दै केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पार्टीमा भागबण्डा खोज्नेहरुलाई खुसी पार्ने कार्यमा नलाग्न सचेत गराए।

‘एकातिर पार्टीलाई एकढिक्का बनाउँदै योग्यता र क्षमताको आधारमा साथीहरुलाई अवसर दिनुपर्छ भन्ने अनि अर्कोतिर भागबण्डा खोज्ने वरिष्ठ नेता रामचन्द्र पौडेलज्यूको प्रवृत्ति ठीक भएन’, नेता बुढाथोकीको भनाई उधृत गर्दै एक नेताले भने ‘नेताज्यू पार्टीलाई प्रालि बनाउन पाइँदैन।’ उनले प्राइभेट कम्पनीमा जस्तो पार्टीभित्र भागबण्डा गर्न नहुने जिकिर गरे।

केन्द्रीय सदस्य बुढाथोकीले वरिष्ठ नेता पौडेललाई लक्षित गरी अभिव्यक्ति दिँदा आइतबार बिहानको केन्द्रीय कार्य समिति बैठकमा सन्नाटा छाएको थियो। नेता पौडेलले पार्टीको शनिबारको बैठकमा पार्टीलाई बलियो बनाउने हो भने भागबण्डा नगरी अघि बढ्न सभापति देउवालाई सुझाएका थिए।

कांग्रेस बैठकमा भारतका बिषयमा छलफल 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य किरण यादवले मित्र राष्ट्र भारतलाई हेर्ने दृष्टिकोण र व्यवहार स्पस्ट गरेर अघि बढ्न नेतृत्वलाई सुझाव दिइन्। कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा बिरलै उठ्ने भारतसँगको सम्बन्धलाई लिएर केन्द्रीय सदस्य यादवले भनिन् ‘नयाँ पिँढीले भारतसँगको नेपालको सम्बन्ध कस्तो हुनु पर्ने र उसको व्यवहार कस्तो छ भन्ने बिषयमा पार्टीको धारणा बुझ्न खोज्छन्।’

यादवले संविधान जारी भएपछि भारतबाट गरिएको नाकाबन्दीको बिषयमा पार्टीले स्पस्ट दृष्टिकोण राख्न नसक्दा पनि पार्टीले स्थानीय तहको निर्वाचनमा आशा गरे अनुसारको सफलता हासिल गर्न नसकेको बताइन्।

महोत्तरीबाट निर्वाचित सांसद यादवले भारतसँग डराएर भक्ति भाव देखाउने र विरोध गर्दै हिंड्ने प्रवृत्ति ठीक नभएको धारणा राखिन्। एक सदस्यका अनुसार उनले बारम्बार भारतसँगको सम्बन्धलाई लिएर कांग्रेसलाई आरोप र बदनाम गराउने गरेकोले यसलाई चिर्न समेत पार्टीका प्रस्ट दृष्टिकोण आउनु पर्नेमा जोड दिएकी थिइन्।

महाभियोग र आईजीपी नियुक्त प्रकरण ठीक थियो

पार्टीले आधिकारिक रुपमा फिर्ता लिएको तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव उपयुक्त भएको कांग्रेसका एक केन्द्रीय सदस्यले बैठकमा बताए। केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले प्रहरी प्रमुख कसलाई बनाउने भन्ने निर्णय सरकारले गर्न पाउने अधिकारमाथि हस्तक्षेप गर्ने प्रधानन्यायाधीश कार्कीलाई महाभियोग ल्याउनु उचित भएको जनाए। 

बस्नेतले आईजीपी नियुक्ति प्रकरण र महाभियोग अघि बढाउने निर्णय पार्टीले गर्नु उचित भएको बताएको एक केन्द्रीय सदस्यले वताए। बस्नेतले स्थानीय तह निर्वाचनमा पार्टी पराजित हुनुको कारण महाभियोग र आईजी नियुक्त प्रकरण नभएको दाबी गरे।

स्थानीय तहमा चुनाव हार्नुको कारण ‘अन्तरघात’

कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यले स्थानीय तहमा पार्टी पराजित हुनुको कारण ‘अन्तरघात’ भनेर दाबी गरेका छन्। शनिबार र आइतबार बोल्ने धेरैजसो केन्द्रीय सदस्यले स्थानीय तहमा अन्तरघात भएकै कारण पार्टी पराजित हुनुपरेको दाबी गरेका थिए।

केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार नेताहरु रमेश लेखक, वीरबहादुर बलायर मोहनबहादुर बस्नेत, लगायतले अन्तरघातकै कारण पार्टीले आशातित सफलता प्राप्त गर्न नसकेको धारणा राखेका थिए। केन्द्रीय सदस्य पौडेलले भने पार्टी पराजित हुनुका कारण अन्तरघात मात्र नभएको जिकिर गरेका थिए। उनले पार्टीले धेरै सफलता पाउन नसक्नुमा विगतमा पार्टी नेतृत्वले लिएका राजनीतिक एजेण्डा, संगठन परिचालन र व्यवस्थापनमा कमजोरी र उम्मेदवार चयनमा कमजोरी तथा ढिलो निर्णय नैं भएको बताएका थिए।

लेखकले भने ‘सामाजिक सञ्जाल परिचालनमा कमजोरी मेरै हो’

स्थानीय तह निर्वाचनको लागि पार्टीद्वारा गठित प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सामाजिक सञ्जालमार्फत पार्टीको पक्षमा काम गर्न नकसेको स्वीकारेका छन्।

केही दिन पहिले लेखकले स्थानीय तह निर्वाचनमा पार्टी पराजित हुनुको कारण चुनाव प्रचार प्रसार समितिले लिनुपर्ने भनाई राखेका थिए। चुनाव प्रचार समितिको संयोजक नेता रामचन्द्र पौडेल हुन् भने उपसिमिति संयोजक लेखक हुन्।

लेखकले चुनाव प्रचार प्रसार समितिमा आमसञ्चार माध्यममा क्रियाशील पत्रकारहरुलाई नसमेटेको, मिडिया परिचालन गर्न नसकेको र पार्टीको पक्षमा मिडिया र सामाजिक सञ्जाललाई उपयोग गर्न नसकेको भन्दै पार्टी सभापति देउवाले नैं असन्तुष्टी व्यक्त गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.