|

काठमाडौँः काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्स, सेन्टर फर आर्ट एण्ड डिजाइनमा कला विषयमा स्नातक गरेका १४ जना विद्यार्थीका कलाको नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी सुरु भएको छ। 

प्रदर्शनीको उद्घाटन काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ मकाजु श्रेष्ठ र नेपालका लागि फ्रान्सका राजदूत इभस कारमोनाले बिहीबार संयुक्त रूपमा गरेका थिए। नेपाली कलामा नयाँ पुस्ताका कलाकारले राम्रा कलाकृति बनाउँदै आएको नेपालका लागि फ्रान्सका राजदूत कारमोनाले बताए।

कला र संस्कृति मानव जीवनको मेरुदण्ड भएकाले यसको विकासमा काठमाडौँ विश्वविद्यालयले काम गरिरहेको उपकुलपति मकाजुले बताए। स्कुल अफ आर्ट्सका डिन डा. सागरराज शर्माले कलाले समाजलाई जोड्ने भएकाले नेपाली समाजको प्रतिविम्बका रूपमा प्रदर्शनीमा राखिएका कला रहेको बताए। 

पाँच दिनसम्म चल्ने सो प्रदर्शनीमा सेन्टर फर आर्ट एण्ड डिजाइनका प्रोग्राम कोअडिनेटर सुजन चित्रकारले कला क्षेत्रमा विद्यार्थीले नयाँ ढंगले सिर्जनात्मक रूपमा काम गरेको बताए। 

प्रदर्शनीमा पुष्पा पराजुली, बर्सात वे कार्की, कञ्चन तामाङ, निलम भुर्तेल, राजकुमार राई, राजा महर्जन, सरला मानन्धर र युनिशा श्रेष्ठले स्टुडियो आर्टअन्तर्गत बनाएका कला राखिएको छ। 

त्यस्तै, एलिना मानन्धर, विशेषता धाख्वा, ज्योति श्रेष्ठ, नुरिशा सिंह, संभव महर्जन, श्रेया श्रेष्ठले ग्राफिक कम्युनिकेशनअन्तर्गत गरेका प्रोडक्ट डिजाइन, ज्वेलरी डिजाइनलगायतका कला प्रदर्शनीमा राखिएको छ।

सोमबारसम्म चल्ने प्रदर्शनीमा कलाकारले सांस्कृतिक, सामाजिक, लैंगिक, समानता, सपनालगायतका विषयमा कलाकृति रचना गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.