|

दमकः कदम थिएटर निर्माण सहयोगार्थ झापाको दमकमा ‘मरिचेको चुपी’ नाटक प्रदर्शन हुने भएको छ।

थिएटरको भवन निर्माणमा सहयोग उठाउने उद्देश्यले थिएटरले साउन २२ देखि २६ गतेसम्म नाटक ‘मरिचेको चुपी’ प्रदर्शन गर्ने भएको हो। इलाममा भर्खरै सम्पन्न राष्ट्रिय नाटक महोत्सवमा प्रदर्शन भएको यो नाटक उपेन्द्र सुब्बाले लेखेको कथालाई नवीन प्राचीनले नाटकीय रूपान्तरण गरेका हुन्।

नाटकको निर्देशन सिजन दहालले गरेको शनिबार दमकमा पत्रकार सम्मेलन गर्दै थिएटरले जानकारी दिएको छ।

दमकमा नयाँ कलाकार उत्पादन गर्ने उद्देश्यले थिएटरको स्थापना गरिएको थिएटरका महासचिव मेची पुत्रले जानकारी दिए। ‘थिएटरको मुख्य उद्देश्य दमकमा नयाँ कलाकार उत्पादन गर्नु हो’, उनले भने, ‘तर पनि थिएटरले कलाबाहेक दमकमा सबै खाले साहित्यिक गतिविधिहरूको आयोजना गर्छ।’ 

कला र संस्कृतिको सम्मानका गर्न थिएटर स्थापना गरिएको उनले बताए। उनले थिएटरको भवनमा २०० जना बसेर कार्यक्रम गर्न सकिने जानकारी दिए।  

थिएटर निर्माणका लागि दमक नगरपालिकाले दमक– ९ मा तीन कठ्ठा जग्गासमेत उपलब्ध गराएको छ। उक्त जग्गामा आधुनिक नाट्य घर स्थापना गर्ने उद्देश्य रहेको उनले बताए। उक्त नाटक प्रदर्शनीमा तीन लाख ४१ हजार २५० रुपैयाँ खर्च हुने र १२ लाख २० हजार रुपैयाँ आय गर्ने अनुमान गरिएको थिएटरका सचिव कमन देवानले बताए। 

संकलन भएको रकमको ३० प्रतिशत रकमबाट थिएटर कोष स्थापना गरिने तथा ७० प्रतिशत अस्थायी नाटक घर निर्माणका लागि खर्च गरिने उनले बताए। नाटक एक हजार २०० दर्शकले हेर्ने उनले दाबी गरे। 

उनले अहिले आफूहरूले व्यक्तिगत खर्च उठाएर नाटक प्रदर्शन गर्न लागेको जानकारी दिए। उनले भने, ‘हामीसँग पैसा छैन, तर हिम्मत छ, हामी हिम्मतका साथ काम गर्छौं र सफल हुन्छौँ भन्ने आशा छ।’ 

उनले नाटक घर स्थापना भएपछि काठमाडौँका थिएटरका उत्कृष्ट नाटकहरु झापाका जनताले दमकमै हेर्न पाउने दाबी पनि गरे।

कार्यक्रममा कलाकार राज थापाले दमकको पहिचान कदम थिएटर रहने बताए। उनले भने, ‘प्रत्येक शहरमा एउटा पहिचान हुन्छ, त्यस्तै दमकको पनि पहिचान कदम थिएटर हुनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.