|

मिलनप्रकाश ढुङ्गाल
बैतडीः विश्व बैंकको करिव २० करोड रुपैयाँ सहयोगमा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका जोखिमयुक्त राजमार्गमा स्टिल बार (स्टिल क्रस बेरियर) लगाउने कार्य सम्पन्न भएको छ। 

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले वि. सं. २०७२ फागुनदेखि विश्व बैंकको सहयोगमा सडक विभाग, वैदेशिक महाशाखा, सडक तथा ट्राफिक सुरक्षा योजनाअन्तर्गत बैतडीको खोडपेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, दशरथ चन्द राजमार्गअन्तर्गत बैतडीको सतबाझ झुलाघाट सडकखण्ड र महाकाली राजमार्गअन्तर्गत बैतडीकै सतबाँझदेखि दार्चुला सदरमुकाम खलंगा जोड्ने सडकखण्डमा स्टिल बार लगाउने कार्य सम्पन्न भएको हो। 

निर्माण कार्यको ठेक्का पाएको गौरी पार्वती सूर्य जेभी कन्स्ट्रक्सनले तीनओटै राजमार्गका दुर्घटना हुनसक्ने क्षेत्रमा स्टिल बार लगाइएको बतायो। खोडपेदेखि बझाङ सडकखण्डको कुल १०६ किलोमिटर सडकको दुर्घटना बढी हुनसक्ने क्षेत्रमा करिब साढे ११ किलोमिटर, बैतडीको सतबाझ झुलाघाट सडकखण्डको कुल ३७ किलोमिटर सडकमध्ये बढी दुर्घटना हुनसक्ने ४ दशमलब ७९ किलोमिटर क्षेत्रमा, सतबाझ गोकुलेश्वर दार्चुला सडकखण्डको कुल १२६ किलोमिटर सडकमध्ये बढी दुर्घटना हुनसक्ने १० दशमलब ३३ किलोमिटर क्षेत्रमा स्टिल बार लगाउने कार्य सम्पन्न भएको सुपरभाइजिङ कन्सल्ट पंकज चन्दले बताए।

‘पहाडको बाटो, त्यसमा पनि सिंगल लेन साँघुरो बाटोमा बढी दुर्घटना हुने सम्भावना हुन्छ’, चन्दले भने, ‘स्टिल बार लगाइसकेपछि अब दुर्घटनामा कमी हुनेछ र यात्रुहरूले पनि यात्रा गर्दा सुरक्षित महसुस गर्नेछन्।’ 

दुर्घटना न्यूनीकरण हुने अपेक्षा
स्टिल बार लगाइसकेपछि चालक होसियार हुनुका साथै आत्मविश्वास बढ्ने से१ज ६८७ जिपका चालक मानबहादुर टेरले बताए। ‘घुमाउरो बाटो दुर्घटनाको सम्भावना बढी हुन्छ’, उनले भने, ‘स्टिल बारपछि गाडी चलाउन सजिलो छ।’ 

पहाडी सडक, भीर, घुमाउरो अनि सिंगल लेन भएका यी सडकमा नयाँ तथा पहिलो पटक गाडी चलाउने चालक डराउने गरेको र स्टिल बार लगाइसकेपछि त्यो समस्यासमेत हट्ने विश्वास गरिएको स्थानीयको भनाइ छ।

से१ख १३३३ ट्रकका चालक धर्मानन्द जोशीले स्टिल बारले ठूलो गाडी सञ्चालनमा पनि सहज भएको बताए। ‘लामो रुट भएकाले कतै दुर्घटना भइहाल्यो भने पनि स्टिल बारले क्षति हुनबाट रोक्छ’, उनले भने। 

सडक सुरक्षा परियोजनाको यो उत्तम कार्य भएको र बाँकी यस्ता राजमार्ग क्षेत्रमा पनि दुर्घटना बढी हुनसक्ने क्षेत्रको खोजी गरी स्टिल बार लगाउन सकिए राम्रो हुने उनले बताए। 

स्टिल बार लगाइसकेपछि दुर्घटनामा कमी आउने भएकोले ट्राफिक प्रहरीलाई समेत सवारी व्यवस्थापनमा सजिलो हुने विश्वास गरिएको छ। विश्व बैंकको सहयोगमा कालोपत्रे भएका सडकखण्डहरूमा सडक सुरक्षा योजनाअन्तर्गत स्टिल बार लगाउने कार्य गरिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.