|

काठमाडौँः साँगास्थित स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा आयोजित एक भव्य समारोहमा शुक्रबार कृष्णप्रसाद भण्डारीद्वारा लिखित ‘ह्विल चियरको जिन्दगी’ कृति विमोचन गरियो। 

मेरुदण्ड पक्षाघात भएका पाँच दर्जनभन्दा बढी ह्विल चियर प्रयोग गर्दै आएका बिरामीहरूका बीचमा सोही समस्याबाट पीडित सिन्धुपाल्चोककी छ वर्षकी सलिना श्रेष्ठ र मुगुकी आठ वर्षकी बन्दना रावलले उक्त कृतिको लोकार्पण गरे। 

अत्यन्त भावुक परिवेशमा बोल्दै समालोचक डा. देवी नेपालले मेरुदण्ड पक्षाघातबाट उत्पन्न शारीरिक अपाङ्गता कुनै दोष नभएर परिस्थितिको उपज भएको हुनाले यसलाई जीवनमा आइलागेको एउटा मोड सम्झेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए। शारीरिक अपाङ्गता होइन, मानसिक अपाङ्गताचाहिँ मानव जीवनका लागि घातक भएको उनको भनाइ थियो।

‘अरूलाई अपाङ्ग देख्ने मानसिक अपाङ्गहरूले यो समाज र सिङ्गो देशलाई धोका दिएका छन् तर कृष्ण भण्डारीको लेखनले हरेक मान्छेलाई उत्साहपूर्ण जीवन जिउने कला सिकाएर आशावादी, सङ्घर्षशील एवं सकारात्मक समाज निर्माणमा ठूलो योगदान दिएको छ’, डा. नेपालले भने।

कृतिका बारेमा बोल्दै दृष्टिविहीन सरिता लामिछानेले शारीरिक अपाङ्गता भएकाहरूभित्र अनन्त सम्भावना र चौतर्फी अनुभूतिहरू हुने हुँदा कसैले पनि निराश र हतास हुनु नहुने विचार राखिन्। 

नेपाली विषयमा एमए र बीएडसम्मको शिक्षा हासिल गरी शिक्षण पेसामा संलग्न रहेकै समयमा तीन वर्षअगाडि मेरुदण्ड पक्षाघातको सिकार भएका स्रष्टा कृष्ण भण्डारीले उक्त घटनापछि आफ्नो जीवनले नयाँ मोड लिएको र यस मोडलाई सिर्जनात्मककार्यमा रूपान्तरण गर्न र आफू अनि आफू जस्तै परिस्थितिवश अपाङ्गता स्विकार्न बाध्यहरूको हतास मानसिकतामा उत्साह भर्न यो कृति तयार पारेको बताए। 

कृतिमा मेरुदण्ड पक्षाघात भएपछि पनि आफूभित्र अद्भूत क्षमता निर्माण गरी देश र विदेशमा समेत चर्चित बन्नपुगेका देवी आचार्य, ऋषिराम ढकाल, किशोरबहादुर शाही, छिरी शेर्पा, सोनिका ढकाल, प्रवीण श्रेष्ठ, तिलक पोखरेल, हिमाल अर्याल, रामबहादुर तामाङ, रमेशचन्द्र पाण्डे, लाली तामाङ, कृष्ण चौधरी, लक्ष्मी कुँवर, कृष्ण गौतम र शिव न्यौपाने गरी पन्ध्र व्यक्तित्वका सङ्घर्षपूर्ण जीवनकथा समेटिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.