|

चितवनः पश्चिम चितवनको शुक्रनगरमा गोली हानी लुटपाट गर्ने तीन जना आज पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत चितवनका न्यायाधीश वासुदेव पौडेलको इजलासले घटनाका योजनाकार भनिएका रत्ननगर घर भई भरतपुर– २७ बस्ने कृष्ण शाही ठकुरी, नवलपरासी मध्यविन्दु नगरपालिका– १० अरुणखोलाका लक्ष्मण परियार र सोही  ठाउँका नारायण विकलाई कारागार चलानको आदेश दिएको हो।

भरतपुर महानगर– २५ स्थित शुक्रनगरमा जेठ ४ गते राती स्थानीय गंगासागर महत्तोको घरमा पसी उनलाई गोली र अन्य तीन जनालाई हम्मर र रडले हानेर घाइते बनाई लुटपाट गरी उनीहरू फरार भएका थिए। 

उनीहरूले गंगासागरकी आमा साउनी महत्तो, बहिनी रामकुमारी महत्तो र श्रीमती कुन्ती महत्तोलाई घाइते बनाएका थिए।

प्रहरीको विशेष अनुसन्धान टोलीले ठकुरीलाई असार १६ गते भारतमा पक्राउ गरेको थियो भने परियार र विकलाई असार ११ गते पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

उनीहरुबाट ८३ हजार रुपैयाँ नगदसहित घटनामा प्रयोग भएको पेस्तोल, गरगहना, हम्मर, खुकुरी, रड, चक्कुसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। 

लुटिएको सुन खरिद गर्ने नवलपरासी मध्यविन्दु नगरपालिका– १० का २४ वर्षका दीपेन्द्र विक भने ७५ हजार रुपैयाँ धरौटीमा छुटेका उपरीक्षक थापाले जानकारी दिए। 

लुटेराको गोली लागेर घाइते भएका स्थानीय २५ वर्षका गंगासागर महत्तोको उपचारको क्रममा मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.