|

काठमाडौं : अविरल वर्षाको कारण दुगुनामा गएको पहिरोले भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल पूर्ण रुपमा भत्काएको छ। पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ र त्यसतलको लार्चाको पुल पनि पूरै भास्सिएको छ।

गत असार २१ मा भोटेकोसीमा आएको पहिरोले क्षति पुगेको लार्चा पुल अहिले भने पूर्णरुपमा क्षतिग्रस्त भएको छ। ‘पहिरोको ढिस्को भोटेकोसीमा परिरहेको छ, यसले भोटेकोसी थुनिएर बाढी आउने जोखिम बढेको छ’, सीमास्थित सशस्त्र प्रहरी बलका डीएसपी बिमल डाँगीले भने, ‘ लार्चाको पुल पूरा ध्वस्त भइसकेको छ, अझै वर्षा र पहिरो रोकिएको छैन।’

वर्षाका कारण दुगुनाको भीरबाट माटो खसिरहेको उनले बताए। जसका कारण कोदारी राजमार्गमा समेत क्षति पुगेको छ। कोदारी राजमार्गका दर्जनौ स्थानमा पहिरो खसिरहेको बेला थप लार्चा पुल भास्सिएपछि स्थानीयमा त्रास फैलिएको छ।

‘नदी आसपासका सबै स्थानीयमा त्रास बढ्दै गएको छ,’ उनले भने। भोटेकोसी हाइड्रो पावरको क्षतिग्रस्त ड्यामका कारण जोखिम झन् बढेको स्थानीयको भनाइ छ। लार्चाका स्थानीय पदम श्रेष्ठका अनुसार त्रासका कारण स्थानीय निदाउन सकेका छैनन्। पहिरोले पुल भासिएपछि स्थानीयमा डर बढेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.