|

बागलुङ : सोमबार बिहान बडीगाड गाउँपालिका वडा नम्बर ५ मा भएको जिप दुर्घटनाका घाइतेहरूको नाम प्रहरीले सार्वजनिक गरेको छ।

बडीगाड गाउँपालिका ५ ग्वालीचौरमा सोमबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। बसमा चालकसहित १२ यात्रु सवार थिए।

बडीगाड ८ रणसिंह किटेनीका भीमबहादुर शेर्वुजा, टेकबहादुर पाइजा र दिपशिखा पाइजा गम्भीर घाइते छन्। बडीगाड ८ कै बालमति पाइजा र दिनेश पाइजा तथा गलकोट नगरपालिका १० पाण्डवखानी भिमबहादुर श्रीस पनि घाइते छन्।

काठमाडौंबाट हेलिकोप्टर पठाउने तयारी

जिप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि पोखरा लैजाने तयारी भएको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले घाइतेहरूको उपचारका लागि गृह मन्त्रालयसँग हेलिकोप्टर पठाउन आग्रह गरिएको जानकारी दिए।

जिल्लाको जलजलाबाट खर्बाङतर्फ आउँदै गरेको जिप ग्वालीचौरको दाबिक भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। ध १ ज १८४ नम्बरको जिप घुम्ती मोड्ने क्रममा सडकबाट ९ सय मिटर तल खसेको घटनास्थलमा रहेका ग्वालीचौर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्ष्णु लम्सालले जानकारी दिए।

दुर्घटनामा बडीगाड ५ ग्वालीचौरका मुक्तबहादुर पाइजा, वडा नम्बर ८ रणसिंहकिटेनीका नारायण सेरपुजा, वडा नम्बर ४ जलजलाका होमेन काउछा र चालक जलजलाकै तुलबहादुर पुनको मृत्यु भएको हो।

घाइते ६ जनाकै अहिले ग्वालीचौर स्वास्थ्यचौकीमा उपचार भैरहेको छ।

भिरबाट तल खसेको जिप टुक्रटुक्रा परेको र उद्धारमा समेत कठिनाई भएको प्रहरी सहायक निरीक्षक लम्सालले बताए। साँघुरो बाटोमा हिलो समेत भएकाले मोड्ने क्रममा जिप अचानक सडकबाट तल खसेको देखिएको उनले बताए।

बागलुङका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले ग्रह मन्त्रालयबाट 'मौसम हेरेर तत्काल हेलिकप्टर पठाउने जानकारी आएको' बताए। घटनास्थलमा प्रहरी टोली र स्थानीयवासीले घाइतेको उद्दार गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.