|

पर्वत : जिल्ला अस्पतालको कार्यालय सहायक पदमा कार्यरत रामबहादुर दमाई ५५ वर्ष पुगे। उनको काम पोष्टमार्टमका लागि आउने शवहरुको चिरफार गर्ने हो। यस बाहेक हरेक दिन अस्पताल सफा गर्ने, बिग्रिए भत्किएका ठाउँको मर्मत गर्ने काम पनि गर्छन्। 'अस्पतालमा काम गर्न थालेको २७ वर्ष भयो। मेरो धेरै जसो समय शवहरुकै साथमा बित्ने गर्छ। यही कामले नै अब जिन्दगी बित्न लाग्यो' उनले भने।

तनहुँको छाङमा जन्मिएका पत्नी र ३ छोरीका साथ जिल्ला अस्पताल प्राङ्गणको सानो छाप्रोमा बस्छन्। पोष्टमार्टम गर्ने शवको चिरफार गरेबापत आएको अतिरिक्त रकम र कार्यालय सहायकको तलबले नै उनको जीविका चलेको छ। २१ वर्षको उमेरदेखि शव चिर्ने काम सुरु गरेका रामबहादुरले यो काम गर्न थालेको २७ वर्ष पुग्यो। यस अवधीमा उनले झण्डै १५ सय शव चिरिसके।

सुरुमा शव चिर्दा रामबहादुरलाई डर लाग्थ्यो। सुरुमा शव चिर्दाको एउटा घटना उनले सुनाए 'त्यसबेला झुण्डिएर आत्महत्या गरेकी पर्वतको पाङराङकी १४ वर्षीया बालिकाको लास चिरेको थिएँ। पहिलो भएर होला लास चिर्दा चिर्दै दुखाईको कारण मान्छे नै उठ्छ कि जस्तो लाग्यो अनि लासको घाँटी चिर्दा घाँटीबाटै सास बाहिर आएको अनुभव भएजस्तो भयो। 'मुटु ढक्क फुल्यो ज्यानभरी करेन्ट लागेजस्तो भयो अनि सिरिङ्ग भयो।'

लास चिर्ने काम सम्बन्धी उनले कुनै तालिम पनि लिएका छैनन्। शुरु शुरुमा त शरीरभित्र कुन अंङ्ग कहाँ हुन्छ भन्ने समेत थाहा पाउँदैनथे। रामबहादुरलाई अहिले यो सबै काम अनुभवले नै सिकायो। 'अहिले त डाक्टर साबले भन्न नपाउँदै लासका भित्री अंग निकाली सक्छु' उनले भने।

रामबहादुर अबको ३ बर्षपछि यो काम छाड्ने योजनामा छन्। उनलाई बिरामी हुँदा समेत पालो दिने मान्छे छैन। उनले कार्यालय सहयोगीको तलब २२ हजार रुपैयाँ पाउँछन् र एउटा शव चिरेको थप १७० रुपैयाँ पाउँछन्। 'कार्यालय सहयोगी सबैले बराबर तलब पाउँछौं, तर लास चिरेको पैसा निकै कम छ। कर कटाएर एउटा लासको १७० आउँछ, काम त्यस्तो गर्नुपर्छ पैसा भने छैन। त्यही भएर अब ३ बर्षपछि जागिरको ३० बर्ष पुग्छ। अनि छोडेर बस्ने हो' उनले भने।

अहिलेसम्मको कमाईमा करिब २ लाख रुपैयाँ बचत रहेको बताउने उनले त्यही बचत भएको पैसा र पेन्सनले भाडामा कोठा खाजेर बस्ने योजना बनाएका छन्। तनहुँमा रहेको घर जग्गा सबै बाबुले बेचेर सकेकोले उनको पुर्ख्यौली सम्पत्ति केही छैन। जेठा दाजुको मृत्यू भैसकेको छ भने माईला दाजु बेपत्ता छन्।

जीवनमा शव चिर्ने काम गर्नुपर्ला भनेर उनले सोचेका पनि थिएनन्। उनी भन्छन्, “यो भन्दा अगाडि जिविसमा घोडा स्याहार्ने काम गर्थेँ, त्यो जागिर अस्थायी थियो। तर, पछि स्थायी हुन्छ रे भन्ने सुनेर अस्पतालमा आवेदन दिएँ। एक जना कार्यालय सहयोगी चाहिएकोमा २५ जनाले निवेदन दिए। तर, लास चिर्ने भनेपछि सबै डराए अनि १३ औं नम्बरमा रहेको मैले यो काम गर्छु भनेर नै नियुक्ति पाएँ' उनले भने।

जिल्ला अस्पताल पर्वतमा उनी मात्र एक जना कर्मचारी हुन् रामबहादुर जसले पोष्टमार्टमको लागि लास चिर्छन्। उनको सट्टामा काम गर्न सक्ने अरु कोही छैन। जिल्ला अस्पताल पर्वतले पनि उनको विकल्पमा अरु कसैलाई काम सिकाएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.