|

सुर्खेत :  जिल्लाको चौकुने गाउँपालिकाले वडा अध्यक्षहरुलाई मोटरसाइकल खरिदका लागि २२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ। १० वटा वडा रहेको यस गाउँपालिकाको बैठकले सबै वडा अध्यक्षहरुलाई सवारी साधनका रुपमा मोटरसाइकल खरिद गर्ने निर्णय गरेको हो।

भौगोलिक विकटताले गर्दा यस गाउँपालिकादेखि सदरमुकाम वीरेन्द्रनगरसम्म  नियमित सवारी साधन समेत चल्दैनन्। गाउँपालिकाले वडाअध्यक्षलाई मोटरसाइकल खरिद गर्ने निर्णय गरेर बजेट छुट्याउने निर्णय गरेसँगै स्थानीयबासीले विरोध जनाएका छन्। उनीहरुले एम्बुलेन्स नपाएर उपचार अभावले मर्नुपर्ने अवस्था रहेको गाउँपालिकामा वडा अध्यक्षहरुलाई मोटरसाइकल किन्ने निर्णय गलत रहेको बताएका छन्।

गाउँपालिकामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट प्राप्त ३० करोड ९५ लाख बजेटबाट मोटरसाइकल खरिदका लागि १२ लाख ५० हजार र  आन्तरिक स्रोतबाट १० लाख जुटाउने निर्णय भएको हो।

गाउपालिका अध्यक्ष धिरबहादुर शाहीले गाउँमा चारपांग्रे सवारी साधन नचल्ने भएकाले मोटरसाइकल किन्न लागेको बताए। उनले भने, 'हामीलाई थाहा छ, पश्चिमका अधिकांश सडकको अवस्था नाजुक छ, तर सडक नाजुक छ भनेर हामी जनप्रतिनिधिले जनतालाई सेवा त दिनैपर्‍यो नि, जनतालाई छिटो र सहज सेवा दिनकै लागि मोटरसाईकल किन्ने निर्णय गरिएको हो।'

गाउपालिका अध्यक्ष शाहीले वडा अध्यक्षहरुले गाउघरका काम गर्नका लागि सार्वजनिक यातायातबाट असम्भव रहेकाले मोटरसाइकल किन्न लागेको जिकिर गरे। गाउपालिकाका सबै वडाहरुमा सडक सञ्जाल नपुगेकाले सबै वडा कार्यालयमासम्म सहज रुपले पुग्नका लागि सडकको स्तरोन्ति पनि गरिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.