अब महिला विश्वकप एउटा इभेन्टमात्रै रहेन। दर्शकहरुको चासोका कारण यो छुट्टै खेलजस्तो बन्यो।

|

लण्डन : यदि तपाईंले अब महिला विश्वकप क्रिकेट जित्नुभयो भने त्यो अहिलेसम्म आयोजना भएको सबैभन्दा ठूलो प्रतियोगिता हुनेछ।

जब हेथर नाइटको हात महिला क्रिकेटको सबैभन्दा ठूलो उपाधितर्फ बढ्दै थियो। त्यतिबेला इङल्यान्डमात्रै नभएर यो खेलसँग आबद्ध धेरैले जितेका थिए। कारण थियो, महिला विश्वकपको सफलता र परिवर्तित अवस्था।

क्रिकेटको मक्का मानिने लर्डस् मैदानमा भएको भारत र आयोजक इङल्यान्डबीचको फाइनलले यस खेलको इतिहासमा ठूलो अर्थ राख्नेछ। किनकी ४ वर्षअघि भारतमा महिला विश्वकप हुँदा  रंगशालामा दर्शकहरुको संख्या निकै न्युन थियो। अझ भनौं शुन्यप्राय : नै थियो। 

भारतमा भएको विश्वकपमा इङल्यान्ड फाइनल खेल्नबाट बन्चित भएको थियो। तर यसपटक इङ्ल्यान्डको टोलीले उपाधि जित्यो। प्रशिक्षक मार्क रोबिनसनको नेतृत्वमा इंलिस टोलीमा धेरै परिवर्तन भएको अवश्य हो। तर परिवर्तन इङल्यान्ड मात्रै नभएर भारतीय टोलीमा देखियो। समग्र महिला क्रिकेटमा देखियो। 

४ वर्षअघि इङ्ल्यान्डले समूह चरणमै आयोजक भारत विरुद्ध ३२ रनको जित निकालेको थियो। यसपटक ९ रनले इङल्यान्ड फाइनलमा विजयी भयो। २६ हजार ५ सयभन्दा धेरै दर्शकबीच उपाधि जित्यो। ठूलो कुरा, यसपटक महिला क्रिकेटले दर्शकहरुको मन जित्यो।

टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण गरिएको यसपटकको महिला विश्वकपलाई विश्वभर ५ करोडभन्दा धेरैले हेरेको अनुमान लगाइएको छ। प्रत्यक्ष रुपमा रंगशालामा उपस्थित हुने दर्शकको संख्या पनि ठूलो रह्यो। जबकी ४ वर्षअघि प्रवेश निशुल्क गर्दा पनि रंगशाला खाली थिए।

अब महिला विश्वकप एउटा इभेन्टमात्रै रहेन। दर्शकहरुको चासोका कारण यो छुट्टै खेलजस्तो बन्यो। लर्डसमा भारत र इङल्याण्डबीच भएको फाइनलले  फराकिलो बन्दै गरेको यस खेलमा नयाँ परिचय थप्योे।

बीबीसी स्पोर्ट बेवसाइटबाट मात्रै १० लाखले नियमित रुपमा प्रतियोगिताको फाइनल खेलको फलो गरे। दक्षिण अफ्रिका विरुद्ध इङल्यान्डले सेमिफाइनलमा विजय हासिल गर्दाको समाचारले पनि बेलायतका पत्रपत्रिकामा पहिलो पृष्ठमा स्थान पाएको थियो।

प्रतियोगितामा खेलहरु आयोजना भएका ब्रिस्टोल, लेस्टर, डर्बी र टाउनटनजस्ता शहरमा अन्यत्र स्थानबाट खेल हेर्न समेत फ्यानहरु आएका थिए। प्रतियोगिताको प्रवर्द्धनका लागि सबै गरियो,’ इंगलिस टोलीकी पूर्व ब्याट्सवुमन इबोनी रेनफोर्ड ब्रेन्टले भनिन्,‘जति उर्जा यस प्रतियोगिताको आयोजनामा खर्च भयो। त्यसअनुसार नतिजा पनि आएको छ।’

यस प्रतियोगिता हेर्न आउने प्राय दर्शकहरु नयाँ थिए। उनीहरु गत वर्षबाट सुरु भएको टी २० महिला सुपर लिगका कारण पनि यस प्रतियोगिताप्रति आकर्षित भए।

विश्वकपमा क्रिकेट खरिद गर्नेहरुमध्ये ५० प्रतिशत महिला थिए। जसमध्ये १६ वर्षमूनिका ३१ प्रतिशत किशोरीहरुले टिकट खरिद गरका थिए। झन्डै १३ हजार टिकट स्कुलमा दिइएको थियो र फाइनलमा स्कुले विद्यार्थीहरु प्लास्टिकको ब्याट बोकेर आएका थिए। यसले प्रतियोगिताको फाइनल खेलको माहोल अविस्मरणीय बनाउन भूमिका खेल्यो।

सर्रेबाट खेल हेर्नका लागि आफ्नी ७ वर्षीया छोरी लुसीलाई लिएर मेरी लर्डस् आएकी थिइन्। ‘लुसीका ड्याडीले पनि क्रिकेट खेल्थे। तर अब उनले के थाहा पाइन् भने महिलाले पनि क्रिकेट खेल्न सक्छन्,’ उनले भनिन्,‘हामीले महिला क्रिकेटबारे रेडियोमा धेरै सुनेका थियौं। तर अब  लुसीले प्रत्यक्ष खेल हेरी, यदि उसले भविष्यमा क्रिकेट खेल्न चाहन्छे भने यस खेलमा उसका लागि अवसर छ।’

लण्डनबाट आफ्नी ५ वर्षकी छोरी कोनी र ३ वर्षकी सिसीलाई लिएर टोम क्रिकेट हेर्न आएका थिए। दुबै बालिकाका लागि क्रिकेट खेल हेरेको यो पहिलो अनुभव थियो। ‘मैले सोचे यो उनीहरुका लागि रमाइलो हुनेछ र रमाइलो पनि भयो,’ उनले भने।

युवापुस्ताका लागि नाइट, ट्यामी ब्युमोन्ट र एन्या सरबसोल नयाँ हिरो हुनसक्छन्। तर भारतको फाइनलसम्मको अविश्वसनीय यात्राले चारपटकको विजेता इङल्यान्डको भन्दा ठूलो महत्व राख्छ किनकी भारतलाई सुरुबाटै कमजोर आँकिएको थियो। 

चार वर्षअघि घरेलु मैदानमा प्रतियोगिता हुँदा दर्शक धेरै कम थिए। भारत पहिलो चरणबाटै घर फर्किएपछि दर्शकको संख्या अझ घट्ने नै भयो। तर त्यतिबेला पनि आफ्ना समर्थकहरु बनाएकी कप्तान मिथाली राजले मिडियाको ध्यान आकृष्ट गरेकी थिइन्। यसपटक उनले टोलीलाई फाइनलसम्म लिएर आइन्।

भलै उनले सचिन तेन्दुलकर, विराट कोहली वा महेन्द्रसिंह धोनीले जस्तो उच्च छवि बनाउन सकेकी छैनन्। तर उनको देशका क्रिकेटप्रेमीलाई राम्रोसँग थाहा छ उनको टोलीको यात्रा कति रोमान्चकारी रह्यो भन्ने।

भारतको पूरुष टोलीले अविश्वसनीय रुपमा १९८३ को विश्वकप जितेपछि एकदिवसीय खेलमा नयाँ युग सुरु भएको थियो। सन् २००७ मा भारतले टी–२० विश्वकप के जितेको थियो। छोटो भर्सनको क्रिकेट भारतमा यति लोकप्रिय भइदियो कि आजसम्म  पनि आईपिएल भारतको सर्वाधिक हेरिने खेलकुद प्रतियोगिता हो।

अब भारतले अस्ट्रेलिया र इङल्यान्डको फलो गर्दै महिला टी २० लिग आयोजन गर्ने पो हो की? मिथाली राज, स्मृती मन्धना र हर्मनप्रित कौरजस्ता स्टारले महिला क्रिकेटलाई नयाँ उचाईमा लग्न सक्छन्।

‘किन हामी आफैं भारतमा लिग सुरु नगर्ने,’ राजले भनिन्,‘अब भारतमा यस्तो काम सुरु गर्ने बेला भएको छ किनकी महिला क्रिकेट सबैतिर छ। महिलाहरुले यस्ता लिगमा खेल्न पाए भने उनीहरुको अनुभव बढ्नेछ र खेल सुधार हुनेछ।’

पर्दा पछाडिका पूरुष

यदी महिला क्रिकेट फराकिलो दायरा, धेरै दर्शक र व्यवसाहिकताको बाटोमा अघि बढ्दै गरेको अवस्थामा इङल्यान्डका प्रशिक्षक मार्क रोबिनसनको भूमिकाको समेत उत्तिकै तारिफ गरिएको छ। यी पूर्व फास्ट बलरले काउन्टी क्लब ससेक्सको पूरुष टोलीको जागिर छाड्दै महिला टिमको प्रशिक्षण सुरु गरेका थिए। सन् २००९ देखि ठूलो ट्रफी जित्न नसकेको इङल्यान्डको कमान सम्हाल्नु उनका लागि चुनौतीपूर्ण थियो। सन् २०१६ को विश्व टी २० मा पनि इङल्यान्ड सेमिफाइनलबाटै बाहिरीएको थियो। तर यसपछि उनले कडा प्रशिक्षण सुरु गरे।

उनले खेलाडीहरुलाई फिट रहनका लागि कडा निर्देशन दिने गरेका छन्। मैदानभित्र मात्रै नभएर मैदान बाहिर पनि उनले परिवर्तन ल्याएका छन्। यसअघि १ वर्षको मात्रै सम्झौता पाएका राष्ट्रिय खेलाडीसँग अहिले २ वर्षको सम्झौता छ, जसका कारण बेरोजगार भइएला भन्ने चिन्ता उनीहरुमा रत्तिभर छैन्। टोलीकी कप्तान नाइट सफलताको जस मार्कलाई दिन्छिन्। तर मार्क इङल्यान्डको सफलतापछि प्रकाशमा भने रहनेछ्रनन्। उनी त छायाँ हुन्।

प्रकाशमा कप्तान नाइटसहितका १४ खेलाडी हुनेछन्। उनीहरुले विश्वकप जितेका छन्। महिला क्रिकेटलाई अर्कै उचाईमा लग्न योगदान गरेका छन्।

कसले विश्व चलाउँछ? अवश्य महिला । (बीबीसीबाट)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.