घुम्ती शौचालयदेखि 'हेलो मेयर' कार्यक्रमसम्म सञ्चालन गर्ने पहिलो बैठकको निर्णय

|

  • मणिकुमार श्रेष्ठ-

सुनसरीः प्रदेश नं. १ को केन्द्रको रूपमा चर्चा गरिँदै आएको इटहरी उपमहानगरपालिकाको नगर कार्यपालिका र नगरसभाले पूर्णता पाएको छ। 

साउन ८ गते आइतबार भएको नगरसभाको निर्वाचनबाट नगर कार्यपालिकामा आठ जना निर्वाचित भएपछि नगर कार्यपालिका र नगरसभाले पूर्णता पाएको हो। आइतबार भएको नगर कार्यापलिकाको निर्वाचनबाट अल्पसंख्यकतर्फ तीन जना र महिलातर्फ पाँच जना निर्वाचित भएसँगै नगर कार्यपालिका ३० जना र नगरसभा १०५ जनाको भएको छ। 

नगर कार्यपालिकामा उपमहानरपालिकाका प्रमुख, उपप्रमुख, २० वटा वडाका वडाध्यक्ष र आइतबार निर्वाचित भएका आठ जना सदस्य रहेका छन्। आइतबार नगर कार्यपालिकामा निर्वाचित भएका सदस्यहरू आठै जना नेकपा एमालेबाट निर्वाचित भएका हुन्। 

निर्वाचित हुनेहरूमा अल्पसंख्यकतर्फ गौरीमान परियार, विश्व धिमाल र दुर्गे सरदार निर्वाचित भएको इटहरी उपहमानगरपालिकाका उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिए। यसैगरी, महिलातर्फ इन्दिरा राई, गंगा भुजेल, जिरा चौधरी, गायत्री चौधरी र शान्ता अधिकारी निर्वाचित भएका छन्। कार्यपालिकामा निर्वाचित हुने महिलातर्फका सदस्यहरू असार १४ गतेको निर्वाचनबाट निर्वाचित भएका वडा सदस्यहरूबाट पुनः निर्वाचित भएका हुन् भने अल्पसंख्यकमा भने बाहिरबाट निर्वाचित भएका हुन्। 

शौचालय निर्माणदेखि ‘हेलो मेयर’सम्म
इटहरी उपमहानगरपालिकाको साउन १ गते बसेको पहिलो वोर्ड बैठकले इटहरी उपमहानगरपालिकाका विभिन्न चोकमा आउने यात्रुको चापलाई मध्यनजर गर्दै घुम्ती शौचालय निर्माण गर्ने तयारी गरेको छ। 

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीका अनुसार इटहरीका मुख्य चोकहरूमा वाइफाई फ्रि जोन बनाउने साथै महिनाभर गरेको कामको बारेमा  नगरवासीलाई जानकारी गराउने उद्देश्यले महिनामा एक दिन ‘हेलो मेयर’ कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ। 

त्यसैगरी, जेष्ठ नागरिकहरूले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता वडाध्यक्ष र सदस्यहरूमार्फत् घर–घरमा पुर्‍याउने व्यवस्था जतिसक्दो छिटो गर्ने निर्णय पनि भएको छ। 

लक्षित समूहलाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाभित्र सहायता कक्ष सञ्चालन गर्ने र सुत्केरी भत्तामा वृद्धि गर्ने तथा महिनामा एक पटक जनप्रतिनिधिहरूको अगुवाइमा नगरको सरसफाई गर्ने निर्णय भएको प्रमुख चौधरीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.