|

बैतडी : भारतीय सीमाबजार झुलाघाटमा नेपाली मुद्रामा कारोबार बढेसँगै सीमा क्षेत्रका नेपालीलाई सहज भएको छ। केही वर्षअघिसम्मे नेपाली नोट देखाउँदा कमिसनको कुरा गर्ने व्यापारीले अहिले निर्वाध रूपमा कारोबार गर्न थालेको स्थानीय व्यापारी दिपक भट्टले बताए। ‘पहिला व्यापारीले कमिसन माग्थे', भट्टले भने, 'अहिले सजिलै कारोबार गर्छन्।’

८० प्रतिशतभन्दा बढी नेपाली ग्राहक
महाकाली नदी किनारमा रहेको झुलाघाट बजारमा भारतीय व्यापारीले नेपाली ग्राहकलाई लक्षित गरी व्यापार व्यवसाय गर्ने गर्छन्। त्यस क्षेत्र वरपर भारतीय बस्ती कमै छ। नेपालका बैतडी र बझाङ्का नागरिकको लागि झुलाघाट एक मुख्य व्यापारिक केन्द्र हो।

करिब ८० प्रतिशत भन्दा बढी नेपाली ग्राहक हुने भारतीय सीमाबजार झुलाघाटमा नेपाली नोटमै कारोबार हुने गरेको उद्योग बाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले बताए। गतवर्षदेखि भारतीय नोटबन्दीका कारण नेपाली मुद्राको प्रभाव झन् बढेको भट्टको भनाइ छ। ‘८० प्रतिशत भन्दा बढी ग्राहक नेपाली नै हुने भएकाले नेपाली पैसा चल्छ,’ उनले भने, ‘ग्राहक नेपाली भएकाले नेपाली रुपैयाँमै बढी कारोवार हुन्छ।’ 

झुलाघाटमा कारोबार गर्न आउने भारतीय नागरिकले समेत नेपाली मुद्रामा कारोबार गर्ने गर्छन्। महाकाली नदी किनारमा रहेको झुलाघाट बजारका व्यापारीको गल्लामा अहिले नेपाली पाँच रुपैयाँका नोट र सिक्का समेत चल्न थालेका छन्। झुलाघाट सीमा नाकाबाट दैनिक सयौं नेपालीको आवतजावत हुन्छ। 

भारतीय नोट अभाव 
नेपाली मुद्रामा व्यापार बढेसँगै भारतीय मुद्रामा कमी आउँदा त्यहाँका स्थानीय व्यापारीहरुको दैनन्दिन प्रभावित बनेको छ। नेपाली मुद्रा अत्यधिक मात्रामा भारत जानुले यस्तो समस्या उत्पन्न भएको हो। भारतीय बैंकहरूले पनि व्यापारीहरूको माग अनुसार भारतीय रुपैयाँ  दिन नसकेकोे पिथौरागढ जिल्लाका व्यापारीहरू बताउँछन्। तर नेपाली रुपैयाँमै कारोवार हुने भएपछि भारतीय नोटअभावमा पनि नेपाली नागरिकलाई समस्या परेको छैन। 

नेपाल–भारत सीमा जौजजीवी, धार्चुला, पिथौरागढ लगायतका बजारमा पनि पछिल्लो समय नेपाली मुद्रा चल्न थालेका छन्। भारतीय मुद्राको विनिमय दर तलमाथि हुँदा पनि नेपाली १०० रुपैयाँको सट्टामा यतिबेला भारतीय १६० रुपैयाँ सजिलै प्राप्त भइरहेको नेपाली व्यापारीहरुले बताएका छन्। बैतडी र बझाङ

अधिकांश व्यापारी र नागरिकले भारतीय सीमाबजार झुलाघाटबाटै सामान ल्याउने गरेका छन्।  केही व्यापारीले समान खरिद बिक्री गर्दा नेपाली नोटलाई भारतीय रुपैयाँमा हिसाब गरेर कारोबार गर्छन् भने केहीले नेपालीमै हिसाब गर्ने गरेका छन्। डोटेली भाषा र कुमौली भाषा मिल्ने भएकाले पनि कारोबार गर्न दुवै देशका सीमा क्षेत्रका नागरिकलाई सहज भएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.