|
जिल्ला मालपोत कार्यालय डोटीमा पुन:र्स्थापनाका लागि माग गर्दै गरेका मुक्त हलिया।

  • कर्ण चन्द-

डोटी : डोटी जिल्लामा मुक्त हलिया पुन:र्स्थापना कार्यक्रम कमिसनको चक्रब्युमा फसेको छ। जिल्लामा  ३७ परिवार पुन:र्स्थापनाका लागि नेपाल सरकारबाट प्राप्त भएको ७४ लाख रुपैयाँ कार्यक्रममा पुन:र्स्थापना कार्य समितिले  कमिसनको आसका कारण पुन:र्स्थापना प्रभावित गरेको हो।

आर्थिक वर्ष ०७३/७४ भित्र पुन:र्स्थापना कार्यक्रम सम्पन्न हुनपर्ने भए पनि पुन:र्स्थापनामा अन्योल देखिएको छ।  जिल्ला सदरमुकाम सिलगढी बजार नजिकै भएको जमिन छाडेर पुनःस्थापना कार्यदलले सदरमुकामबाट ३ घन्टाको पैदलदूरी बगलेकमा रहेको जमिन किन्ने निर्णय गरेको छ।

ठूलाबडाका कारण आपूmले प्राप्त गर्दै गरेको रकम फ्रिज जाने पुर्बिचौकी गाउँपालिका वडा–२ बगलेककी बिस्ना बिकले बताइन। उनले भनिन, ‘हामी सबै सदरमुकाम नजिकैको जमिनमा बस्न राजी थियौं, हलियाका नेता र हाकिम मिलेर अर्कैको जग्गा पास गर्ने तयारी गरे, हामीलाई अरू थाहा छैन हामीलाई पुन:र्स्थापना हुन प¥यो, राम्रो ठाउँमा बस्न पाउनपर्‍यो।’

हिउँदमा खारो पर्ने, जंगल भएको जमिनमा आफूलाई इच्छा नभएको ७० वर्षीय भागा बिकले बताइन्। भागाले भनिन्,‘जंगलमा बस्नुपर्ने भएमा के को पुन:र्स्थापना भएको मान्ने ? सरकारबाट आएको पैसाले हामीलाई राम्रो व्यवस्था हुनपर्छ हामीलाई ठग्न पाइन्न।’

हलिया पुन:र्स्थापनाका लागि आएको बजेट हलिया हलियाबीच भएको विवादका कारण फ्रिज हुने भएको जिल्ला मातपोत कार्यालय डोटीका कार्यालय प्रमुख तथा पुन:र्स्थापना कार्य समितिका सदस्य सचिब सुनील सागर जोशीले बताए। थाहा खबरसँग जोशीले भने, ‘चुनावका कारण काम ढिलो भयो, जग्गा खोज्ने उहाँहरुको जिम्मेवारी हो, हाम्रो होइन सामूहिक बस्ती निर्माण गर्ने भएकाले हामीले खोजेका हौं।’

हलियालाई अरुले उक्साउने काम गर्दा निर्णय गर्न समस्या भएको मुक्त  हलिया समाज डोटीका अध्यक्ष भीम सार्कीले बताए। उनले भने, ‘हामी सामूहिक बस्ती निर्माण गर्ने पक्षमा छौं, उहाँहरुकै सहमतिमा लगेर हनुमान हर्टिककल्चरको जमिन खरिद गर्ने निर्णय भएको हो।’

४३ रोपनी छाडेर ३० रोपनीतर्फ

जिल्ला हलिया  पुन:र्स्थापना कार्यदलले ४३ रोपनी जग्गा छाडेर ३० रोपनी जग्गा किन्न निर्णय गरेको छ। सदरमुकामनजिकै रहेको ४३ रोपनी जमिन ७४ लाखमा खरिद गर्न छाडेर सोही मूल्यमा सदरमुकामबाट टाढा रहेको बगलेकमा  ३० रोपनी जग्गा किन्नका लागि तयार भएको छ। 

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ सिलगढीको  पैयाँभञ्जाङनजिकै रहेको  हर्क बोहराको ४३ रोपनी  जग्गा छाडेर पुन:र्स्थापना कार्य समितिले साबिकको बगलेक गाविसमा रहेको हनुमान हर्टिकल्चरको नाममा रहेको सासद मोहन बमको जग्गा किन्नका लागि तयार भएको हो ।

समय घर्काउँदै ल्यायर अन्तिम अवस्थामा हस्ताक्षर नगरे रकम फ्रिज जाने भन्दै जबरजस्ती हस्ताक्षर गराएको बिस्ना बिकले बताइन्। उनले भनिन्, ‘हामीलाई जग्गा मालिक बोलार ल्याउनु भने, हामी बिहान कार्यालयमा पुग्दा हाकिम र हलियाका अध्यक्ष अर्कैको जग्गा नाप्न बग्लेक पुगेको रहेछन्।’

हलिया र आ–आफ्ना बीचमा जग्गा लेनदेनबारे सबै कुरा मिलेको र कागजी पक्रिया अन्तिम चरणमा हुँदा कार्यदलले अर्कैको जग्गा प्रस्ताव गरेको जग्गा धनी हर्क बोहराले बताए। बोहराले भने, ‘म ७४ लाखमा जग्गा दिन तयार छु, हलिया पनि मेरो जमिनमा बस्न तयार छन लिने र दिने बीचमा सहमति भएको छ भने बीचमा अर्कै व्यक्तिसँग जमिनको कुरा गर्ने कार्यदलको नियत के हो?’

बाटो नभएको बहाना

सिगलढी सदरमुकाममा रहेको जमिनमा बाटो नभएको भन्दै पुनःस्थापना कार्यदलले पन्छाएको छ। कार्यदलले चैत्र २४ गते जग्गा बाटो नभएको प्रतिक्रिया दिएको दोसो दिनमा नगरपालिकाले  नक्सामा उक्त जमिनमा चलनचल्तीको गोरेटोबाटो रहेको दिपायल सिलगढी नगरपालिका कार्यालयले सिफारिस गरेको छ।

सदरमुकामनजिकै भएको जमिनमा बाटो नभएका कारणले खरिद गर्न नसकिएको पुन:र्स्थापना कार्य समितिका संयोजक तथा प्रजिअ कुमारबहादुर खड्काले बताए। उनले भने, ‘बाटो नभएको जमिन खरिद गर्न सम्भव भएन, त्यसैले हामी वैकल्पिक व्यवस्था गरेका हौं।’ कार्यदलले बाटो नभएको ठहर गरे पनि उक्त जग्गा मालिकले जसरी पनि जमिनमा सडक पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।  कार्यदलको रोजाइमा परेको जमिन सडकमा जोडिएको भए पनि खानेपानी, बिजुली, शिक्षा स्वास्थ्य र भूगोलका आधारमा विकट रहेको छ।

प्रतिवेदनभन्दा बाहिरको जमिन 

०७३ फागुन महिनामा हलिया पुन:र्स्थापनाका लागि बनेको जग्गा खरिद सहजीकरण उपसमितिले जिल्लाका ५ स्थान जग्गा खदिर गर्न सक्ने भन्दै सिफारिस गरेको छ। समितिले सिफारिस गरेको जमिन मध्य हलियाको रोजाइमा सदरमुकामनजिकै रहेको जमिन रहेको थियो।

जिल्ला पुन:र्स्थापना कार्यदलले खरिद गरेको सांसद मोहन बमको नामको फर्म हनुमान हर्टिकल्चरको नाममा  रहेको बगलेक गाविसमा रहेको जमिन उपसमितिले जग्गा खरिदका लागि सिफारिस गरेको प्रतिवेदनमा समावेश नभएको पाइएको छ। हलियाको रोजाइमा पनि नपरेको, प्रतिवेदनमा सिफारिस नभएको ग्रामीण क्षेत्रमा गएर सोही मूल्य बराबरको जग्गा खरिद गर्नले पनि समितिको नियतमा शंका गर्ने प्रशस्त ठाउँ रहेको छ।

निल्नु न ओकल्नु भयो 

साबिकको बगलेक गाविसमा रहेको हनुमान हर्टिकल्चरको फर्मको जग्गा खरिदका लागि पुन:र्स्थापना कार्यदलको निर्णय भए पनि हलियाका नाममा राजीनामा भएको छैन। जग्गा राजीनामा हुन बाँकी रहँदा नै जिल्ला मालपोत कार्यालय डोटीले हनुमान हर्टिकल्चरको नाममा ७४ लाखको चेक काटिएको छ।

हलियालाई हनुमान हर्टिकल्चरको जग्गा अस्वीकार गर्दा पुन:र्स्थापना पनि नहुने र अर्कोपटक ढिलो गरी पुन:र्स्थापना पर्ने चिन्ताले छोयको मुक्त हलिया धनबहादुर बिकले बताए।

 बिकले भने, ‘हामीलाई अफ्ठ्यारो ठाउँमा ल्याएर फसाइयो, कार्यदलको निर्णय मानौं पुरानै रावते जिन्दगी बित्ने भयो नमानौं  भने हाम्रो नाममा आउन लागेको रकम फ्रिज हुन्छ।’  काम सम्पन्न भए मात्र भुक्तानी दिनुपर्ने  भए पनि कार्य सम्पन्न नहुँदै फर्मको नाममा राजीनामा हुनुभन्दा पहिला चेक काटिनुले अर्को शंका उत्पन्न गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.