|

नेपालगन्ज : नेपालगन्जको समग्र विकासमा कुनै सम्झौता नगर्ने उद्घोष गरेका नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा अन्ततः विकास विरोधीसँग झुकेका छन्। हुलाकी राजमार्गअन्तर्गत पुष्पलाल चौकदेखि बसपार्क सम्मको सडक मापदण्डविपरीत बनाउन स्थानीयको दबाबपछि प्रमुख राणाले मापदण्डविपरीत ११ मिटर सडक बनाउने निर्णयमा पुगेका छन्।

सहमतिसँग पुष्पलाल चोकदेखि बसपार्क रोड विवाद समाधान भएको छ। विवाद समाधान भएपछि मंगलबारदेखि सडक र ढल निर्माण कार्य सुचारु हुने भएको छ। सडकको मापदण्ड ३० मिटर गर्ने भनिएता पनि ९५ प्रतिशत संरचना भत्काउनुपर्ने बहाना बनाउँदै उनी आफ्नो प्रतिबद्धताबाट भाग्न खोजेका छन्।

प्रमुख राणाकै कारण पुष्पलाल चौकदेखि बसपार्कसम्मको हुलाकी सडक अब ११ मिटर पिचमा सीमित हुने भएको छ। दुवैतर्फ नाला र फुटपाथ गरी अब उक्त सडक २२ मिटरको बनाइने हुलाकी राजमार्ग आयोजना योजना कार्यालय बाँकेका सब–इन्जिनियर सरुभर दासले बताए। उक्त सडकलाई मापदण्ड अनुसारकै बनाउनुपर्ने दबाब स्थानीयले दिए पनि प्रमुखले बेवास्ता गरेको स्थानीय विष्णुप्रसाद गौतमले बताए। उनले मापदण्ड अनुसारको सडक बनाउन फेसबुक वालमा लेख्दै आएका छन्।

सोमबार प्रमुख राणासहितको छलफलले ११ मिटर मात्र पिच बनाउने निर्णय गरेपछि गौतमले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘अन्ततः पुष्पलाल चोक–बसपार्क रोड साँघुरै हुने भयो र धन्यवाद छ विकास प्रेमी भनिएका मेयर साबलाई।’

छलफलमा उपस्थित बसपार्क सडक संघर्ष समितिका संयोजक लीलानाथ अधिकारीले सबैको सहमतिमा निर्माण कार्य अगाडि बढाउने सहमति भएको बताए। सडक डिभिजन कार्यालयसँगको सहकार्यमा यसै आर्थिक वर्षबाट नेपालगन्जमा चक्रपथ सडक निर्माण गर्ने, जमुनहा–राँझा सडक स्तरोन्नती गर्ने, सुर्खेतरोडको नाला सफाइ गर्नेलगायत विषयमा समेत छलफल गरी चाँडै नै काम सुरु गर्ने सहमति भएको नगरप्रमुख  डा. राणाले जानकारी दिए।

छलफलमा उपप्रमुख उमा थापा मगर, बसपार्क सडक संघर्ष समितिका सचिव गिरी, हुलाकी राजमार्ग निर्माणको जिम्मा पाएको गणपति कन्स्ट्रक्सनका राजेश ढकाल लगायतको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.