इलाम : इलामको दक्षिणी क्षेत्र माई नगरपालिकाका वासिन्दाहरुमा फेरि ०७३ असोज २८ को घटना दोहोरिने चिन्ता थपिएको छ। गत वर्ष दसैंको टीका थाप्न गएकाहरु डुंगा पल्टिएर मृत्यु भएको घटना माई नगरवासीको आँखामा झलझली आउने गरेको छ। सो घटनामा ६ वर्षीया जुम्ल्याहासहित ८ जनाले अकालमा ज्यान गुमाए। जसमा ४ जना महमाईका स्थायी बासिन्दा थिए।
विगतको घटना सम्झिँदै स्थानीय चन्द्र तामाङ भन्छन्, ‘सबैलाई गन्तव्यसम्म पुग्न हतारो थियो त्यही अवसरको मौका छोपेर डुंगा चालकले आफूखुसी सय रुपैयाँदेखि २ सय रुपैयाँसम्म असुलेर गुन्द्रुक खाँदेझैं यात्रुहरुलाई खोला पार गराइरहेको थियो।
कति यात्रु आए कति गए भन्नेसम्म सञ्चालकलाई जानकारी थिएन। त्यही भार थेग्न नसकेर पुरानो डुंगा करिब ६० जनासँगै माई खोलामा डुब्यो। हेर्दाहेर्दै माईखोलामा मानिसहरु बग्न थाले कोही पौडिएर किनारतिर आए त कोही नदीको बेगसँग बगेर गए। खोलाबाट उद्धार गरिएका ३४ जनाले नयाँ जीवन पाए भने ८ जनाको अमूल्य जीवन माईखोलामा बिलायो।’ त्यो घटनाले हेदौ हेदै दसैँको उल्लासलाई शोकमा परिणत गर्दै मुलुकलाई नै स्तब्ध पार्यो।
माईखोलाको वारिपट्टि पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र हो भने पारिपटि पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र। अझ खोलाबाट ५ सय मिटर मात्र पर आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेसका सांसद नगेन्द्रकुमार कुमालको मूल घर छ।
खोलामा पानी बढ्न थालेपछि मालवाहक तथा यात्रुवाहक कुनै पनि सवारीसाधनहरु चल्न सक्दैनन्। मानिसहरु पुरानो काठको डुंगा प्रयोग गर्न बाध्य छन्। असारदेखि असोजसम्मको अवधिमा माई नगरपालिकाको महमाई र माङसेबुङ गाउँपालिकाको बाँझो, इभाङका बासिन्दालाई खाद्य सामग्री ढुवानी र आवततावत गर्न समस्या हुने गरेको छ। वर्षौंदेखिको सास्ती उनीहरुको दिनचर्या जस्तै भएको छ।
हिउँदको आठ महिनासम्म झापाको विर्तामोडबाट चुरे क्षेत्र हुँदै निरन्तर सवारीसाधन चल्ने गरे पनि बर्खा लागेपछि त्यस क्षेत्रका वासिन्दाहरुको झापाका बजार र इलाम सदरमुकामसँग सम्वन्धविछेद नै हुने गरेको छ। बर्खा याममा खोला तर्ने एक मात्र विकल्पका रुपमा चण्डाल घाटमा डुंगा सञ्चालनमा छ तर, गत वर्षको घटनाले अझै माईबासीको त्रास हट्न सकेको छैन।
जोखिम न्यूनीकरणका लागि भनेर डुंगामा लाइफ ज्याकेटको व्यवस्था भए पनि गत वर्षको घटनाका त्रासका कारण स्थानिय डुङगा चढन डराउने गरेको समाजसेवी देवीभक्त कुमाल बताँउछन्। माईखोलाको वहाब ठूलो हुने र वर्षादको समयमा भलबाढी चलिरहने भएकाले डुंगाको मात्रै सहाराले खोला तर्न मुस्किल हुने गरेको छ।चुरे क्षेत्रका स–साना खहरे खोलाहरुको जोखिम उच्च रहेको छ। बर्खा समय लाग्नासाथ उर्लेर आउने खहरेले बर्सेनि लाखौं धनजनको क्षति गर्ने गरेको छ।
जिल्लाको माई, जोगमाई, देउमाई र पुवामाईको मिश्रण भएर गएको खोला त्यस क्षेत्रमा पुग्दा अत्यधिक ठूलो हुने गरेकाले तर्न समस्या हुने गरेको छ। खोलाको फैलावट आधा किलोमिटरभन्दा बढी छ। झापाको दोमुखा हुँदै माई नगरपालिकाको महमाई आउने सडक खण्डमा लाखौं खर्च भइसकेको छ।
तर, भौगोलिक बनावट जटिल भएका कारण सडक भरपर्दो हुन सकेको छैन। झापाको दमकबाट माङसेबुङ हुँदै पाँचथरको मिक्लाजुङ रविसम्म जोड्ने फाल्गुनन्द मार्गको पनि कमसल भौगोलिक बनोटका कारण सडक नै जोखिममा रहेको स्थानीयको गुनासो छ।
दानाबारीका बजार, क्याम्पस र माध्यमिक विद्यालयहरु महमाइबासीका दैनिक गन्तव्य हुन्। उच्च शिक्षा अध्ययन गर्न दर्जनौं विद्यार्थी बर्खा लागेपछि ४ महिना आधा घन्टा टाढा रहेको मावि र क्याम्पसमा पढ्नका लागि डेरा नै बस्नुपर्ने अवस्था रहेको गरुवा बहुमुखी क्याम्पसका प्रमुख तारानाथ खनाल बताँउछन्।
डुंगा दुर्घटनापछि पुल निर्माणले गति लियो
गत वर्षको डुंगा दुर्घटनापछि पुलको निर्माण कार्यले गति लिएको छ। २५ करोड ७१ लाख ७३ हजार ५ सय ६६ रुपैयाँको लागतमा दुवै निर्वाचन क्षेत्र जोड्ने ५ सय ५० मिटर लामो पुल निर्माण कार्यले सम्झौता अवधिमा सम्पन्न हुने संकेत देखिएको छ।
झापाको बिर्तामोड हुँदै माङसेवुङको लारुम्वा जोडने चलनचल्तीको बाटोमा पर्ने माइखोलाको पुल ५ वर्षमा सक्ने गरी २०६९ असार २६ गते सूर्य इलाइट जेभी र सडक विभाग पुल महाशाखा अन्तर्गतको पुल योजना पूर्वी क्षेत्र सेक्टर नं १ धरानबीच सम्झौता भएको थियो।
योजना शाखाका डिभिजन इन्जिनियर अर्जुन अर्याल भन्छन्, ‘पुल निर्माण सम्झौता अवधिमा सम्पन्न हुन्छ। २०७४ असार मसान्तमा पुल निर्माण सम्पन्न हुनुपर्ने भए पनि भूकम्प र नाकाबन्दीका कारण पुल निर्माणको म्याद १ वर्ष थपिएको छ। डिजाइनमा ढिलाइको म्यादसमेत जोड्दा करिब डेढ वर्षमा पुल सम्पन्न हुनुपर्छ। हालसम्म ११ वटा पिलर हाल्ने काम सम्पन्न भई स्ल्याबको काम भइरहेको छ। यही गतिमा काम गर्दा २०७५ असार मसान्तमा पुलको ९० प्रतिशत काम सम्पन्न हुन्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।