|

नेपाली कांग्रेसको सपना र जपनामा सधैँसधैँ आउँछन्, महामानव वीपी। कुनै समय उनी नेपाली जनताका लागि ‘वीर विश्वेश्वरप्रसाद कोइराला’ थिए। त्यो रूपक अब खासै उच्चारित हुँदैन। सपना र जपनामा जति आए पनि कांग्रेसको जीवनमा वीपी र उनको सपनामाथि निर्दयतापूर्वक दमन जारी छ। संसदीय सत्तामा रमाएका कम्युनिस्टले गरिबको राज्य ल्याउने सपना देखाएजस्तै भएको छ, कांग्रेसको वीपी जपना। 

वीपीको समाजवाद
अंग्रेजको चाकरीका भरमा देश लुटिरहेका क्रूर राणा शासकलाई धूलो चटाउन वीपीको नेतृत्वमा कांग्रेसको लडाइँ युगान्तकारी क्रान्ति थियो। यो गौरवमय इतिहासलाई सिँच्न वीपीले प्रजातान्त्रिक समाजवादको सपना देखेका थिए। उनी हरेक नेपालीका घरमा एउटा दुहुनो गाई, एक हल गोरु, गरी खान पुग्ने जमिन, ओषधिमूलो गर्न र सन्तानलाई शिक्षा दिन सक्ने अवस्था होस् भन्ने चाहन्थे। ‘हलो जोतिरहेको किसानको तस्वीर हेरेर योजना बनाउनू’ भन्ने उनको निर्देशनको अर्थ थियो, नेपाली जनसाधारणको मर्म र हितलाई सर्वोपरि राख्नू। 

वीपीको प्रजातान्त्रिक समाजवाद पुँजीवादलाई मानवीय अनुहार प्रदान गर्ने प्रयास थियो। चरम पुँजीवाद भनौँ वा नवउदारवाद अथवा खुलाबजार अर्थतन्त्रमा धन हुनेलाई धनमाथि धनै हुन्छ। महाराज इन्द्रलाई जस्तै स्वर्गीय सुखभोग यहीँ प्राप्त हुन्छ। विश्वामित्रसामु मेनका उभिएझैँ अप्सरा, रम्भा, तिलोत्तमा यहीँ उपलब्ध हुन्छन्। 

गौतम ऋषि पत्नी अहिल्यामाथि बलात्कार गर्दा इन्द्रले श्राप पाएका थिए। अहिले धन हुने इन्द्रहरूले गम्भीर अपराधमा समेत मुक्ति पाउँछन्। किनभने अधिवक्ता र न्यायाधीशहरू नै सुविधाअनुसार मात्र सत्य र न्यायका पक्षमा उभिन्छन्। कानुनी राज्यमा कानुनतः बाँच्न पाउने अधिकार सबैलाई हुन्छ। तर, धन नहुनेलाई जीवनको क्रूर रंगमञ्चमा बाँच्ने अधिकार नै हुँदैन। पैसा छैन त बाँच र बचाऊ भन्ने मानवीय मन्त्र पुस्तकका पाना र गीत–संगीतमा सीमित हुन्छ। 

पैसाको अभावमा विगतमा कति होनाहारले क्यान्सर, मिर्गौला वा मुटु रोगबाट अकालमै ज्यान गुमाएका छन्। अस्पतालहरू मानवताविहीन विश्वबजारका नाफाखोर साहुजी भइदिन्छन्। स्वास्थ्य क्षेत्रमा मात्र होइन, नाफाखोर साहुजीहरू हाम्रो जीवनका हरेक मोडमा छन्। 

मानवीय गरिमासाथ बाँच्न पाउने जनताको मौलिक हक, शिक्षा, स्वास्थ्य र रोजगारको हक पूरा गर्न राज्यले नै दायित्व लिनुपर्छ। तब मात्र पुँजीवादलाई मानवीय अनुहार दिन सकिन्छ। यही अभ्यास अहिले नर्वे, डेनमार्क, फिनल्यान्ड जस्ता स्कान्डिनेभियन देशहरूमा भइरहेको छ। तर, हाम्रो देशमा के भइरहेको छ?

पूर्व राष्ट्रपति डा. रामवरण यादव, केपी ओली, खुमबहादुर खड्कादेखि सुजाता कोइरालासम्मले राज्यको महँगो खर्चमा विदेशमा उपचार गराए। गत वर्ष मात्र हप्तामा तीन हजार रुपियाँ जुटाउन नसक्दा दोलखा मालुका मिर्गौलापीडित विजय खड्काले १९ वर्षको रहरलाग्दो उमेरमै अस्पतालको छतबाट फालहालेर आत्महत्या गर्नुपर्‍यो। 

गम्भीर प्रकृतिका केही रोगको उपचारमा सरकारले थोरै भए पनि जनसाधारणलाई अनुदान राहत नदिएको होइन। ओली सरकारले मिर्गौला रोगीको निःशुल्क हेमोडाइलासिसको सुविधा दिएर प्रशंसनीय काम गरेकै हो। प्रचण्ड सरकारका स्वास्थ्यमन्त्री गगन थापाले त्यसभन्दा अगाडि बढेर मिर्गौला प्रत्यारोपण र बाथ मुटुको निःशुल्क उपचारलगायत क्रान्तिकारी निर्णय गरेका हुन्। त्यो प्रक्रिया कहाँ पुग्यो? गरिब जनतालाई थाहा छैन। किनभने तिनले अझै त्यो सुविधा उपभोग गर्न पाएका छैनन्। 

कांग्रेसले वीपीलाई ईश्वरजस्तै जपना गर्नु अन्यथा होइन। त्यसो गर्दा उसले प्रजातान्त्रिक समाजवादलाई पनि आत्मसात गर्नु जरुरी छ। होइन, महतको खुला बजार अर्थतन्त्र ठीक हो भने वीपीको प्रजातान्त्रिक समाजवाद गलत थियो भन्ने आँट गर्नुपर्छ।

गरिब जनसाधारण त सामान्य खर्च पनि जुटाउन सक्दैन। यसरी फेरि पनि तिनले अकालमै ज्यान गुमाउनुपर्छ। यता, सत्ता सुखभोग गरिसकेका सुविधा सम्पन्न रामवरण, सुजाता, ओली र खुमबहादुरहरू भने हरेक रोगको निःशुल्क उपचार गराउन पाउँछन्। वीपीको समाजवाद त यहाँ शासक र सत्तासीनहरूलाई मात्र आएजस्तो भयो।

वीपीले आफ्नो आदर्शलाई साकार पार्न भरिसक्य प्रयास अवश्य गरेका हुन्। ०१२ सालमा वीरगञ्जमा सम्पन्न कांग्रेसको महाधिवेशनले वीपीको प्रजातान्त्रिक समाजवादलाई आधारभूत निर्देशक सिद्धान्त मानेको थियो। ०१५ सालको आमनिर्वाचनमा कांग्रेसले पूर्ण बहुमत पाएपछि ०१६ जेठ १३ गते वीपीको नेतृत्वमा नयाँ सरकार गठन भयो।

महाधिवेशनले पारित गरेको सिद्धान्त कार्यान्यवन गर्ने प्रारम्भिक प्रयास स्वरूप त्यस सरकारले ०१६ सालमा बिर्ता तथा राजारजौटा उन्मूलन ग¥यो। कर्मचारीको तलब बढायो तर मन्त्रीहरूको घटायो। वनको राष्ट्रियकरण, मोही हक रक्षा, भूमिहीनलाई बसोवासको व्यवस्था, भूमिसुधार, छुवाछुत अन्त्यलगायत सामाजिक–आर्थिक परिवर्तनको रेखा को¥यो। तर, त्यसले आकार लिन नपाउँदै तत्कालीन राजा महेन्द्रले कु गरेर देशमा फेरि निरंकुश हावा फर्काए।

वीपीको देवत्वकरण
कांग्रेस लोकतन्त्रप्रति ‘सबैभन्दा प्रतिबद्ध’ पार्टी हो। यसकै कारण उसलाई अन्तर्राष्ट्रिय मान्यता र विश्वास पनि प्राप्त छ। तर, उसका लागि आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष रहने संसदीय व्यवस्था, प्रेस स्वतन्त्रता, मानवअधिकारको व्यवस्था नै लोकतन्त्र हो। गणतन्त्र र संघीयतामा ऊ थेगिनसक्नु जनदवाबले मात्र पुगेको हो। 

आर्थिक क्रान्ति, सामाजिक र सांस्कृतिक परिवर्तनका लागि ऊसँग खास एजेण्डा छैन। वीपीको सपनालाई त जीपीको नेतृत्व र  रामशरण महतको आर्किटेक्चरमा २५ वर्षअघि नै वनवास पठाइएको हो। हवाई यातायात जस्ता अर्थतन्त्रका कतिपय क्षेत्र निजी क्षेत्रका लागि खोल्नमा महतले भूमिका खेले। नोक्सानमा गएका र जान लागेका सरकारी संस्थालाई कौडीको मूल्यमा निजीकरण गरिए।

विदेशी सहयोगको प्रतिबद्धतालाई आर्थिक नीतिको सफलता मान्ने परिपाटीको सुरुवात पनि उनकै नेतृत्वमा भयो। बुझ्नेहरू भन्छन्, आज भारतमाथि नेपालको पूर्ण निर्भरता महतकै नीतिहरूको परिणाम हो। 

तथापि, आज पनि कांग्रेसमा वीपी र उनको प्रजातान्त्रिक समाजवाद चुनावमा भोट माग्ने मूल नारा भएकै छ। शब्दमा महामानव भने त्यहाँ वीपीलाई ईश्वर जस्तै मानिन्छ। सायद त्यहाँ ईश्वर र उनको आदर्र्श अनुसरण गर्नु जरुरी छैन। तिनलाई धूलो चटाए पनि हुन्छ। आलोचनाचाहिँ कहीँ कतैबाट हुनु हुँदैन। 

वीपीका कतिपय पक्ष आलोच्य नभएका होइनन्। उनीसँग अपेक्षित राजनीतिक दूरदृष्टि थिएन। कम्युनिस्टलाई उनी अछुत जस्तै व्यवहार गर्थे। गणेशराज शर्माद्वारा सम्पादित ‘आत्मकथा’मा वीपीले कम्युनिस्टप्रति व्यक्त गरेका असहिष्णु शब्द अगणित छन्। पञ्चायतविरुद्ध संयुक्त संघर्ष गर्न पुष्पलाल श्रेष्ठले गरेको प्रस्तावलाई उनले सधैँ अस्वीकार गरे। उनको यस्तो हठलाई खण्डन गरेर अगाडि बढ्न बरु गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई सफल भए। फलस्वरूप ०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन सफल भयो।

पहिले वीपीकै जस्तो हठ गर्ने गिरिजाप्रसाद कोइरालाले पनि कम्युनिस्टसँग सहकार्यमा दोस्रो जनआन्दोलनको सफल नेतृत्व गरे। गणतन्त्र स्थापना र संविधानसभा चुनाव पनि त्यसबाटै संभव भयो। त्यसैलाई सुशील कोइरालाले निरन्तरता दिएर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गराए। वीपीले त्यो हठ नगरेको भए उनकै जीवनकालमा प्रजातन्त्र पुनःस्थापना संभव हुने थियो।

राजनीतिशास्त्री लोकराज बरालका अनुसार राजा महेन्द्रको कुपछि कति मामलामा वीपीले द्वैध चरित्र देखाए, (आत्मचिन्तन रहेछ जिन्दगी, नयाँ पत्रिका, २०७३ वैशाख १८)। बरालका अनुसार ०१७ सालपछि सुवर्णशमशेरको पत्रका आधारमा वीपी जेलबाट छुटेका थिए। पत्रमा ‘राजालाई सहयोग गर्ने संविधानको विकास गर्न’ उल्लेख थियो। प्रजातन्त्रवादी भएकैले जेल परेका वीपी यसरी छुट्नु उनको द्वैध चरित्र थियो। 

जेलबाट छुटेको एक महिनापछि उनले फेरि विराटनगरमा ‘जेल जान तयार छु’ भनेर भाषण गरे। तर, पक्राउबाट बच्न बनारस पुगे। त्यहाँ सशस्त्र संघर्षदेखि हाइज्याकिङको योजना बनाए। सन् १९७५ मा भारतमा सिक्किम विलयपछि इन्दिरा गान्धीले संकटकाल लगाइन्। त्यसपछि त्यहाँ टिक्न नसकी उनी ‘राष्ट्रियता खतरामा पर्‍यो’ भन्दै नेपाल आए। 

यहाँ आएर भने, ‘राजासँग मेरो घाँटी जोडिएको छ।’ वीपीले कांग्रेसले उठाउँदै आएको संविधानसभाको नारा छाडेकै कारण राजाले त्यसलाई लत्याएर आमनिर्वाचन गराएका थिए।

खुला बजार भर्सेस समाजवाद
कांग्रेसले वीपीलाई ईश्वरजस्तै जपना गर्नु अन्यथा होइन। त्यसो गर्दा उसले प्रजातान्त्रिक समाजवादलाई पनि आत्मसात गर्नु जरुरी छ। होइन, महतको खुला बजार अर्थतन्त्र ठीक हो भने वीपीको प्रजातान्त्रिक समाजवाद गलत थियो भन्ने आँट गर्नुपर्छ। वीपी जपेर महतको आर्किटेक्चर लागू गर्नु प्रजातान्त्रिक समाजवादी कांग्रेसका लागि कहाँको नैतिकता हो?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.