|

गुल्मीमा जन्मिएर बुटवललाई कर्म थलो बनाउँदै शैक्षिक क्षेत्रसँगै सांगीतिक क्षेत्रमा एकैसाथ लागिरहेकी र पछिल्लो समयमा चर्चा बटुल्दै गरेकी गायिका कल्पना कुशुमसँग थाहा खबरका लागि अनील खत्रीले गरेको कुराकानी :

तपाईंको सांगीतिक यात्रा कसरी र कहाँबाट सुरु भयो?

 मेरो सांगीतिक यात्रा २०६८ सालबाट सुरु भएको हो। मलाई संगीत सानैदेखि नै मन पथ्र्यो पछि संगीत कक्षा लिन थालेपछि झन् मोहनी नै लगायो संगीतले। अहिले पनि निरन्तर संगीत कक्षा लिइरहेकी छु।

गायन क्षेत्रमा लागेर कत्तिको खुसी हुनुहुन्छ र कस्ता खाले संगीतमा बढी रुचि राख्नुहुन्छ?

गायन क्षेत्रमा लागेर धेरै खुसी छु। किनकि मलाई संगीतले बाच्न सिकायो, यसले थप ऊर्जा पनि दिएको छ। साथै म आधुनिकसँगै लोक गीतमा बढी रुचि राख्छु तर, गाउन र सुन्न सबै किसिमका नेपाली गीत संगीत मन पर्छ।

तपाईंलाई अलि फरक किसिमकी गायिका भनेर चिनिन्छ नि के भन्नुहुन्छ?

हजुर मैले सन्देशमूलक गीतहरु बढी गाउने गर्छु र दर्शक तथा श्रोताहरुले पनि पढेलेखेकी गायिका भएको भएर त्यस्तै किसिमका गीत मात्रै गाउने फरक हुनुहुन्छ भन्नुहुन्छ, यस्तो सुन्दा निकै खुसी लाग्छ। शब्द मन परेमा गाउछु जुन पायो त्यही शब्द गाउन अप्ठ्यारो लाग्छ।

तपार्इंको पहिलो एल्बम कुन हो, र बजारमा त्यसले कत्तिको चर्चा पायो?

मेरो पहिलो एल्बम भमरा हो। उक्त एल्बमले बजारमा राम्रै चर्चा पायो, समग्रमा भमरा एल्बम राम्रो रह्यो र मलाई सांगीतिक यात्रामा अगाडि बढ्नका लागि प्रेरित गरायो। गत वर्षको तिजमा लेहंगा लगाउँछु नामक तिज गीत निकालें त्यो गीत निकै नै चर्चित भयो। सोही गीतले मलाई अवार्डसमेत जितायो। त्यपछि गतवर्षको तिजमा पनि शिवजीको दर्शन नामक तिज गीत धेरैले मन पार्नुभयो र अहिले रानी चरी तिजगीत निकालेको छु र यो गीत पनि यतिखेर चर्चामा रहेको छ।

आगामी दिनमा यस क्षेत्रमा तपार्इंको योजना के छ?

म खास शिक्षा क्षेत्रको मान्छे हुँ शिक्षासँगै संगीतलाई पनि निरन्तरता दिँदै आगामी दिनमा एउटा राम्रो कलाकार बन्ने लक्ष्यका साथ अगाडि बढिरहेकी छु। भविष्यमा कलाकार मात्र नभएर अन्य क्षेत्रमा पनि काम गर्ने योजनामा छु। गीत संगीत नशा हो म यसबाट अलग हुन सक्दिनँ।

तपार्इंको सांगीतिक यात्रालाई तारिफ गर्ने र गाली गर्नेहरुका लागि के भन्नुहुन्छ?

मलाई गायन क्षेत्रमा तारिफ र सपोर्ट गर्नुहुने आदरणीय दर्शक श्रोता र पाठकहरु सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा निरन्तर माया, सहयोग र सल्लाह सुझावको अपेक्षा राख्दछु। साथै मलाई गाली गर्ने दर्शक श्रोताहरुको लागि तपार्इंहरु अझै गाली गर्नुहोस् कुरा काट्दै जानुहोस् तर, म भने अझ बलियो बन्दै जान्छु हजुरहरूको गालीले भन्न चाहन्छु।

पढाई कहाँसम्म पुर्‍याउनुभयो र यहाँसम्म आउने प्रेरणा कसरी मिल्यो?

पढाइको सन्दर्भमा भन्नुपर्दा मैले स्नातकोत्तर सम्मको अध्ययन गरेकी छु। यो क्षेत्रमा आउनका लागि २०६८ सालमा म निकै बिरामी परें, अनि मलाई व्यस्त र स्वस्थ राख्नको लागि मेरो श्रीमानले संगीत कक्षामा भर्ना गरिदिनुभयो। ततपश्चात संगीत क्षेत्रमा निरन्तर लागि रहेको छु। मलाई यहाँसम्म ल्याइपुर्‍याउने प्रेरणाको स्रोत नै मेरो श्रीमान् हुनुहुन्छ।

विदेशका कार्यक्रमहरुमा कत्तिको अफर आउने गर्छन्?

यस क्षेत्रमा म अझै नयाँ नै भएकोले होला विदेशबाट त्यति कार्यक्रमका लागि अफर आउने गरेको छैन तर, हामी तपाईंलाई हाम्रो कार्यक्रममा बोलाउछौं भन्ने धेरै हुनुहुन्छ। तिजको अवसरमा जापानमा हुने कार्यक्रममा जाँदै छु।

अन्त्यमा के भन्न चाहनुहुन्छ?

मैले बजारमा पस्किएका गीत सुनिदिनुहोस् माया गरिदिनुहोस्, राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनिदिहोस् तपार्इंहरुको माया, सहयोग र सल्लाह सुझाव नै मेरा लागि थप हौसला हुनेछ भन्न चाहन्छु। साथै पाठकवर्गहरुलाई पनि सम्झन चाहन्छु। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.