|

गोरखा : जिल्लामा चार युवाको लगानीमा गोरखामा सुविधा सम्पन्न होटल ‘गोरखा प्यालेस’ सञ्चालन भएको छ। पाँच करोड लगानीमा निर्माण भएको भवनमा थप ३ करोड लगानी गरेर उनीहरुले होटल सञ्चालन गरेका हुन्। उनीहरुले सो होटल भएको घर १० वर्षका लागि भाडामा लिएका हुन्।

विशेष गरी मनास्लु पदमार्ग तथा मनास्लु हिमाल आरोहण गर्न आउने पर्यटकहरु र तल्लो मनास्लु घुम्न आउने स्वदेश तथा विदेशी पर्यकहरु लक्षित रहेको होटलका एक सञ्चालक निधि तिमल्सिनाले जानकारी दिए। आरुघाट गाउँपालिका ८ आरुपोखरीका सुरेन्द्र न्यौपाने, निधि तिमल्सिना, युवराज न्यौपाने, पुष्पराज न्यौपाने गरी चार जना यूवाहरुले सञ्चालनमा ल्याएका हुन्।

उनीहरु मध्ये कोही काठमाडौँमा होटल चलाइरहेका, कोही ट्रेकिङ ब्यवसायी र कोही अन्य व्यापारमा संलग्न छन्। ‘हामी एउटै गाउँका हौँ’ म्यानेजिङ डिरेक्टर सुरेन्द्र न्यौपानेले भने, गोरखालाई पर्यटकहरुको गन्तव्यस्थल बनाउनु, स्वादिष्ट खाना तथा स्तरीय आवासीय सुविधा दिनु र केही हदसम्म रोजगारीको अवसर सिर्जना गर्नु हाम्रो उद्देश्य हो।'

२०७२ सालको गोरखा भूकम्पपछि राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत स्वदेशी, विदेशीहरु गोरखा बस्न सुरु गरेपछि एकपछि अर्को होटल खुल्ने क्रमः बढ्दो छ। तर सेवा, सुविधाका दृष्टिले होटलको सेवाबाट ग्राहकले सन्तुष्टी नपाएको गुनासो गर्ने गरेका थिए। गोरखा नगरपालिकाको हरमटारीमा निर्माण भएको सो होटल आगामी शुक्रबार नागपञ्चमीको दिन शुभारम्भ गरिने तिमल्सिनाले बताए।

होटलमा इन्टरनेट, टेलिभिजन, एयर कण्डिसनसहित सुविधा भएका २१ वटा कोठाहरु रहेका छन्। ‘हाम्रो होटलमा स्वीट, सुपर डिलक्स, डिलक्स तथा बजेट रुम गरी बिभिन्न प्रकारका कोठाहरु रहेका छन्’ न्यौपानेले भने, ‘इनडोर र आउट डोर दुवै ब्यवस्था यहाँ हुन्छ। पार्टी प्यालेस हुन्छ, ५ सय जना क्षमताको सुविधा सम्पन्न दुई ओटा हलहरु छन् हनिमुन प्याकेजको ब्यवस्था अन्य सेवासुविधाहरु यहाँ छ।’ होटलमा अपांगमैत्री र बालमैत्री विभिन्न संरचनाहरु निर्माणाधीन छन्।

होटल संचालनमा आएको एक हप्ता साउन १३ गतेदेखि कोठा बुक गर्नेलाई निशुल्क खाना खुवाउने व्यवस्था गरिएको छ। हाटेलमा बस्न आउनेहरुले पाँचसय रुपैयाँदेखिको तीन हजार रुपैयाँसम्मका कोठाहरु छन्। होटलमा हनिमुनका लागि छुट्टै कोठा समेत बनाइएको छ।

होटलमा इलेक्ट्रिक मेसिनबाट पुरुषहरुलाई मसाज गर्ने सुविधा पनि छ। यस्तै सानो चिल्ड्रेन पार्क, धुम्रपानका लागि छुट्टै कोठा, एटेज बाथरुमलगायत सुविधाहरु रहेको छ। लगानी वृद्धि गर्दै लैजाने सञ्चालकहरुले बताए।  होटलमा आएका ग्राहक तथा पर्यटकलाई गोरखाका विभिन्न क्षेत्रमा पदयात्रा तथा अबलोकन गर्न परे गाइडको समेत ब्यवस्था गरिदिने उनीहरुको भनाइ छ। त्यस्तै गोरखा सदरमुकामको बजार क्षेत्रभित्र कम्तीमा पाँच प्लेट खाजा अर्डर भएमा होम डेलिभरी गरिदिने प्याकेज पनि उनीहरुले सुरु गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.