|

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसभित्र मन्त्रालयका विषयमा विवाद हुँदा मंगलबार गर्ने भनिएको मन्त्रिपरिषद् विस्तार स्थगित भएको छ। सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदमा सहभागी हुने चार जनाको नाम दिन पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलसँग गरेको आग्रह पौडेलले अस्वीकार गरेपछि मन्त्रिपरिषद् विस्तारमा बाधा आएको हो।

कांग्रेसले १३ वटा मन्त्रालय लिने सत्तारुढ गठबन्धनबीचको सहमति अनुसार प्रधानमन्त्री देउवाले पार्टी वरिष्ठ नेता पौडेललाई उनको गुटको तर्फबाट चार जनाको नाम सिफारिस गर्न भनेका थिए। तर नेता पौडेलले आफ्नो समूहलाई ४० प्रतिशत भाग चाहिने भन्दै कांग्रेसले पाउने १३ मध्ये ६ वटा मन्त्रालय आफूलाई दिन माग गरेका छन्। यही कारण मन्त्रिपरिषद विस्तार मंगलबार हुन नसकेको कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले बताए।

‘पोर्टफोलियो र मन्त्रालयको सख्याको बिषयमा सहमति हुन बाँकी छ', उनले थाहाखबरसँग भने ‘पार्टीका शीर्ष नेतासँग छलफल चलिरहेकोले पोर्टफोलियो र मन्त्रालयको सख्या मिलेपछि सम्भवत बुधबार विस्तार हुन्छ।’

देउवाले मन्त्रिपरिषदमा कांग्रेसको तर्फबाट तीन जनालाई समावेश गरिसकेका छन्। तीनै जना देउवा पक्षधर हुन्। पौडेल समूहले ६ वटा मन्त्रालय माग गरे पनि देउवाले कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का समूहलाई एक/एक मन्त्रालय दिनुपर्ने भन्दै पौडेल समूहलाई चार वटा मात्र मन्त्रालय दिन तयार भएका हुन्।

पौडेल समूहले चार वटा मन्त्रालय मात्र दिने हो भने भौतिक पूर्वाधार तथा यातायात र सूचना तथा सञ्चार मन्त्रालय दिनुपर्ने अडान राखेका छन्। पौडेल समूहले संख्या आफूहरुले भने बमोजिम नहुने भए ‘राम्रा मन्त्रालय’ दिनुपर्ने अडान राखेका देउवा निकट एक नेताले जानकारी दिए।

प्रधानमन्त्री देउवाले भने सञ्चार र भौतिक पूर्वाधार मन्त्रालय आफ्नै पक्षका नेतालाई दिने योजना बनाएका छन्। पौडेलले मन्त्रीको सपथको लागि दुई जनाको नाम सिफारिस गरे पनि दुई दिन पछि भनेर सारिएको थियो। देउवाले महामन्त्री डा. शशांक कोइरालालाई उपप्रधानमन्त्रीसहित रोजेर एक मन्त्रालय र महेश आचार्यलाई मन्त्री बनाउने प्रस्ताव गरेका थिए। तर पौडेलले देउवाको प्रस्तावलाई अस्वीकार गर्दै केन्द्रीय सदस्यहरु बलबहादुर केसी र रामकृष्ण यादवलाई मन्त्रिपरिषदमा राख्न सुझाएका थिए। पौडेल पक्षबाट मन्त्री हुनेमा केसी, यादव, सरिता प्रसार्इँ र राजन केसीको नाम चर्चामा छ।

पौडेल समूहले ६ वटा मन्त्रालयको माग गरे पनि पाँच वटा मन्त्रालय पाउने कुरामा ढुक्क थियो। तर देउवाले चार भन्दा बढी नदिने भएपछि नेता पौडेल नै समस्यामा परेका छन्। पौडेल समूहमै रहेका महामन्त्री डा.शशांक कोइरालाले मन्त्रिपरिषदमा सहभागी गराउन नेतृ सरिता प्रसाईँको नाम लिएका थिए भने पौडेलले गोरखाकी कमला पन्तलाई मन्त्री बनाउन अडान लिएका थिए।

देउवाको तर्फबाट भने मीन विश्वकर्मा, वीरबहादुर बलायर, अम्बिका बस्नेत बन्ने सम्भावना छ। मन्त्रालय भागबण्डाका बिषयमा भएको सहमति नतोडिए अर्जुन जोशी, चन्द्र भण्डारी र भरत साहमध्ये एक जना मन्त्री हुने भएका छन्।

मन्त्रिपरिषदमा नेता सिटौलाको तर्फबाट सांसद भीमसेनदास प्रधान र खड्काको तर्फबाट मोहनबहादुर बस्नेत मन्त्रिपरिषदमा समावेश हुने सम्भावना रहेको छ। सभापति देउवाले आफ्नो समूहबाट मन्त्री हुनेमध्ये विश्वकर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, बलायरलाई युवा तथा खेलकुद र अम्विका बस्नेतलाई सिञ्चाई मन्त्रालय दिने तयारी थियो।

माओवादी केन्द्रले नौं वटा मन्त्रालय लिने सहमति बमोजिम माओवादीका तर्फबाट तीन जना मन्त्रिपरिषदमा सामेल भइसकेका छन्, ६ जनाको नाम सिफारिस गरिसकेको छ। कांग्रेस सभापति देउवाले गत जेठ २३ गते प्रधानमन्त्रीको पद सम्हालेका थिए। उनले मन्त्रिपरिषद् विस्तार गर्न खोजेको ४८ दिनमा पनि सफल हुन सकेनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.