६ करोड लगानी थप, १० दिनमा सञ्चालनमा आउने

|

काठमाडौं: मिति २०७१ साल वैशाख ५ गतेबाट  पूर्ण रुपमा बन्द रहेको एभरेस्ट क्यासिनो ३ वर्ष ३ महिनापछि पुन: सञ्चालन हुने भएको छ। एभरेस्ट होटल सञ्चालकबाट क्यासिनो लिजमा लिएको एभलोन इन्टरनेसनल प्रालिले लगानीकर्ता खोजेर सञ्चालनको जिम्मेवारी तोकेसँगै क्यासिनो खुल्ने भएको हो।

होटल सञ्चालकबाट एभोलनले १० वर्षका लागि वार्षिक ८० लाख रुपैयाँ तिर्ने गरी क्यासिनो लिजमा लिएको थियो। लिजमा लिएकोमा एभलोनले क्यासिनोमा लगानी गर्न तयार चक्रबहादुर शाहलाई क्यासिनो सञ्चालनको जिम्मेवारी दिएको छ।

 सञ्चालनको जिम्मेवारी पाएका शाहले क्यासिनोमा रहेका पुराना कर्मचारीहरुलाई नै प्राथमिकता दिएर क्यासिनो सञ्चालन गर्ने तयारीमा जुटेको बताए। ३ वर्षअघि बन्द हुँदा ८ सय ४८ कर्मचारी रहेकोमा व्यवस्थापनको सूचनापछि ४ सय ८२ कर्मचारी पुन: कामको लागि उपस्थित देखिएका छन्।

काम गर्न इच्छुक पुराना कर्मचारीहरुलाई १ साउनदेखि ९ साउनसम्म सम्पर्कमा आउन आग्रह गरिएकोमा ९ गतेसम्म ४ सय ५० कर्मचारी सम्पर्कमा आएको क्यासिनो समस्या समधानको लागि गठित क्यासिनो विकास समितिका संयोजक सुभाष रानाले जानकारी दिए।

क्यासिनो सञ्चालनको तयारी थालेका चक्रबहादुर शाहले पनि पुरानै कर्मचारीहरुलाई प्राथमिकता दिने बताए। 'हामीले पहिलो प्राथमिकता पुराना कर्मचारीलाई नै दिएका छौं,अहिलेलाई नयाँ कर्मचारी नथपी क्यासिनो सञ्चालनको तयारीमा जुटेका छौं' सञ्चालनको जिम्मेवारी पाएका चक्रबहादुर शाहले थाहाखबसँग भने। अबको एक साताभित्र क्यासिनो सञ्चालनको पूर्ण तयारीमा जुट्न कर्मचारीहरुलाई निर्देशन गरेका छौ‌ं।'  क्यासिनो खुल्ने दिनकै मिति भने तोकिनसकिएको पनि उनले बताए।

 सञ्चालनको क्रममा सम्पर्कमा आएका ४ सय ५० कर्मचारीले पुन: रोजगारी पाउने तथा कर्मचारीको सेवा सुविधा र पुरानो रकमका विषयमा भने अहिले व्यवस्थापन समितिले छलफल गरिरहेको छ पनि उनले जानकारी दिएका छन्।

किन बन्द भएको थियो क्यासिनो एभरेस्ट?

वैधानिक जुवा घरको रुपमा मानिने एभरेस्ट क्यासिनो लगायतका नेपालका १० वटै क्यासिनो २०७१ वैशाख ५ गते बन्द भएका थिए। बन्द हुनुको कारण थियो क्यासिनो नियमावली २०७०। तत्कालीन मन्त्रिपरषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले ल्याएको नियमावलीअनुसार नवीकरण नगरेका कारण। नवीकरण गर्ने  म्याद चार/ चारपटक थप्दा पनि नयाँ नियम मान्न कुनै पनि क्यासिनोहरु तयार भएका थिएनन्।

क्यासिनो नियमावलीअनुसार क्यासिनो सञ्चालन गर्न २५ करोड चुक्ता पुँजी चाहिने, २५ करोड पनि कर चुक्ता गरेको प्रमाण हुनुपर्ने, क्यासिनोको वार्षिक रोयल्टी ५ करोड तिर्नुपर्ने,  क्यासिनोमा आउने खेलाडी गेस्टको बारेमा भिडियो राख्न पर्ने तथा क्यासिनोबाट जितेको पैसाबाट कर लिनुपर्ने लगायतका व्यवस्था गरिएको थियो।

सरकारले दिएको समयमा नवीकरण नगरेता पनि र्‍याडिसन, ह्‍यात, सोल्टी र सांग्रिला होटलको क्यासिनो नयाँ नियमावलीअनुसार चल्न तयार भएका थिए। बाँकी अन्य भने नयाँ नियमावलीअनुसार क्यासिनो सञ्‍चालन गर्न तयार भएका थिएनन्। साथै क्यासिनोहरुले राज्यलाई तिर्नुपर्ने करडौं रोयल्टीसमेत तिरेका थिएनन्।

यसरी सञ्चालनमा आउँदै छन् क्यासिनो
चारवटा क्यासिनो नयाँ नियमावलीअनुसार चल्न तयार भए तापनि अन्यले भने नयाँ नियमावलीअनुसार चल्न नसक्ने जनाएपछि बन्द अवस्थामा पुगेका थिए। तर, अन्याएमा परेको भन्दै अदालतको ढोका गुहार्दै हिँडेका क्यासिनो सञ्चालकहरु यथास्थितमा सञ्चालनमा अवरोध सिर्जना नगर्न अदालतले आदेश जारी गरेपछि सञ्चालनको बाटो खुलेको हो। बन्द भएको क्यासिनोमध्येबाट क्यासिनो रोयलका मनोज सुवेदीले सर्वोच्च अदालतमा क्यासिनो सञ्चालन गर्न पाउनुपर्ने भन्दै  रिट दायर गरेका थिए। उक्त रिट निवेदनमा सर्वोच्चका न्यायधीश दीपकराज जोशीको असोज २ गतेको एकल इजलासबाट क्यासिनो बन्द गर्ने आदेश क्यासिनो रोयलको हकमा हाल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको थियो। त्यसपछि अन्य क्यासिनोका सञ्चालकहरु पनि अदालतको बाटो खुला अवलम्बन गरेका छन्। अहिले एभरेस्‍ट, अन्ना, भेनस लगायतका क्यासिनो कानुनी उपचार खोजिरहेका छन्।

उच्च अदालतमा एभरेस्‍ट क्यासिनो

एभरेस्‍ट क्यासिनो बन्द भएसँगै क्यासिनोमा कार्यरत ८ सय ४८ मध्ये ५ सय ९२ कर्मचारीले काननुनी बाटो खोजेका थिए। कर्मचारीको भेलाबाट समस्या समधानको लागि क्यासिनो विकास समिति खडा गरेको थियो।

क्यासिनो विकास समितिको संयोजक सुभाष रानाले यसको व्यवस्थापकीय पाटो हेरे भने अधिवक्ता गजेन्द्र बहादुर थापाले कानुनी पाटो हेरेर श्रम अदालतमा मुद्दा दायर गरे। चार महिनाको तलब र २४ महिनाको सञ्चयकोष लिन बाँकी भए तापनि सञ्चालक सम्पर्कमा नरहेको भन्दै मुद्दा दायर गरेको थियो। साथै सञ्चालक सम्पर्कमा नआएको अवस्थामा स्रोत प्रयोग गरी नयाँ लगानीकर्ताबाट क्यासिनो सञ्चालन गर्न पाउनुपर्ने माग गरिएको थियो।

श्रम अदालतले १० वर्षे लिजमा एभरेस्‍ट होटल सञ्चालकबाट क्यासिनो सञ्चालनको जिम्मेवारी पाएको एभलोन इन्टरनेसनल प्रालिलाई कर्मचारीको तलब, सञ्चयकोष, उपदानका साथै रोयल्टीसमेत गरी ३४ करोड रुपैयाँ बुझाउनुपर्ने आदेश जारी गरेको थियो।

तर, पुरानो रकम तिर्नको लागि क्यासिनो सञ्चालन गर्न पाउनुपर्ने मागसहित पाटन उच्च अदालतमा एभलोन इन्टरनेसनलको तर्फबाट वीरेन्द्र महर्जनले मुद्दा जाहेर गरेका थिए। २०७४ असार २७ गतकोको न्यायाधीश राजेन्द्र सुवेदीको एकल इजालसले अन्तिम निर्णय नआएसम्म क्यासिनो सञ्चालनमा अवरोध नगर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका निकायलाई निशेधाज्ञा जारी गरेको थियो।

त्यसपछि एभलोन इन्टरनेसनल प्रालिले लगानी थपेर क्यासिनो सञ्चालनको लागि तयार चक्रबहादुर शाहलाई सञ्चालन जिम्मेवारी दियो। सञ्चालन जिम्मेवारी पाएपछि शाहले क्यासिनो सञ्चालन गर्न थालिएको खबर पठाएर पुराना कर्मचारीलाइ फर्कन आग्रह गरेका थिए। शाहले पहिलो चरणमा ६ करोडसम्मको लगानी गरेर क्यासिनो सञ्चालनको तयारीमा जुटेका छन्।

नेपालमा क्यासिनो

नेपालमा क्यासिनो इतिहास दक्षिण एसियामै सबैभन्दा पुरानो हो। सोल्टी होटलले सन् १९६८ मा क्यासिनो खुलाएको थियो। जुन दक्षिण एसियाकै सबैभन्दा पुरानो क्यासिनो हो। त्यसपछि सन् १९९२ मा अन्नपूर्ण होटलको  क्यासिनो अन्ना,  सन् १९९३ मा होटल एभरेस्‍टको क्यासिनो एभरेस्ट, होटल याक एन्ड यतीको क्यासिनो रोयललाई सञ्चालन अनुमति दिएको थियो।  पछि भने सरकारले पाँचतारे सबै होटललाई क्यासिनो सञ्चालनको अनुमति दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.