|

  • माधव दुलाल/प्रकाश पार्की  

काठमाडौं : नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता भएको छ। डडेल्धुराको परशुराम नगरपालिकामा नेपालकै इतिहासमा पहिलो पटक समलिंगी जोडीको विवाह दर्ता भएको हो। समलिंगी विवाहको कानुन निर्माणको काम भइरहेका बेला समलिंगी जोडीको विवाह दर्ता हुनुलाई महत्वका साथ हेरिएको छ।

कैलालीकी मोनिका शाहीले डडेल्धुराका केटासँग विवाह गरेकी हुन्। उनले डडेल्धुराको परशुराम नगरपालिका १२ का रमेश नाथसँग विवाह गरेकी छन्। कैलालीको लम्किीचुहा नगरपालिका १ की मोनिका शाहीले यस अघि नेपालमै पहिलो पटक ‘अन्य’ लिंग उल्लेख गरी राहदानी बनाएकी थिइन्।

मोनिका र रमेशले गत वैशाख २४ गते सामाजिक परम्परा एवं विवाह दर्ता ऐन २०२८ अनुसार विवाह गरेका थिए।

६ महिना अघि प्रेममा परेका उनीहरुले गत वैशाखमा विवाह गरी श्रीमान/श्रीमतीको साइनोलाई पूर्णता दिएका हुन्। हाल मोनिका आफूले विवाह गरेका कारण विवाह पूर्व बनाएको नागरिकतामा भएको नाम सच्याउन जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेकी छन्। नागरिकतामा उनको नाम मनोज शाही छ।

मोनिकाले तेस्रोलिंगी भएको थाहा भएसँगै गरेको लामो संघर्ष पछि मात्रै नेपालमा पहिलो पटक जारी गरिएको अन्य बाट मनोज शाहीको नामबाट राहदानी पाएकी थिइन्। उनले राहदानी प्राप्त गर्नु भन्दा पहिले नागरिकता/राहादानी तथा अन्य फारमहरूमा महिला/पुरुष भनेर मात्र छुट्याइन्थ्यो। अहिले महिला पुरुषसँगै ‘अन्य भनेर राखिने गरेको छ। परशुराम नगरपालिकामा साउन ६ गते विवाह दर्ता गरेका मोनिका र रमेश नाथ दम्पत्ति नागरिकतामा भएको मनोज नाम सच्याई मोनिका बनाउन प्रशासन कार्यालय डडेल्धुरा पुगेको बताउँछन्।

राहदानी, नागरिकता र विवाह दर्तामा मनोज शाही नाम भए पनि आफूले विवाह गरिसकेकाले नाम सच्याइनुपर्ने उनको माग छ। तर उनको पहिलो नाम नै सच्याइनुपर्ने माग भएका कारण सहजै नाम परिवर्तन गर्न भने प्रशासनले मानेको छैन।

प्रमुख जिल्ला अधिकारी जनकराज भट्ट कार्यालय बाहिर रहेका कारण पनि उनको नाम सच्याउन नसकिने निमित्त एवं सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थी बताउँछन्। ‘मलाई त्यति अधिकार छैन, यसबारे मैले पनि आवश्यक जानकारी लिनु पर्छ, प्रमुख जिल्ला अधिकारीले पनि कानुनी प्रक्रिया बुझेरै नाम परिवर्तनका लागी पहल थाल्नु पर्ने देखिन्छ’, उनले भने, ‘शाहीले पहिले कैलालीबाट पुरुषको नाम मनोज शाहीबाट नागरिकता प्राप्त गरेकाले पहिलो नाम नै परिवर्तन गर्नु पर्ने भनिएको छ, हामी यस सम्बन्धमा कानुन बाहिर रहेर काम गर्न सक्दैनौँ। तर उनको अधिकार प्राप्तिका लागि बाधक बन्दैनौँ। चार/पाँच दिन भित्र प्रमुख जिल्ला अधिकारी कार्यालयमा उपस्थित भएसँगै उनको काम अघि बढ्ने निमित्त प्रमुख जिल्ला अधिकारी अवस्थीले बताएका छन्।

समलिंगी विवाहमा सर्वोच्चको आदेश

२०६४ साल पुष ६ गते सर्वोच्च अदालतले समलिंगी विवाहबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो। सर्वोच्चको आदेश पछि गठन भएको समितिले दुई वर्षअघि समलिंगी विवाहलाई मान्यता दिनुपर्ने निष्कर्ष सहितको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको थियो।

मन्त्रिपरिषद्को कार्यालयले प्रतिवेदन अनुसार कानुन निर्माणको तयारी गर्न महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा पठाएको थियो। मन्त्रालयले अहिले प्रतिवेदन अनुसार कानुनको मस्यौदा निर्माण गरिरहेको छ।

कर्णबहादुर शाही र मनसरा शाहीको कोखबाट कान्छी सन्तानको रुपमा जन्मिएकी शाहीले तीन महिना पहिले रमेशनाथ योगीसँग बिहे गरेको सार्वजनिक गरेकी थिइन्।

शाहीले थाहाखबरसँग भनिन्, ‘हामी खुसी छौँ, तर हामी मात्रै खुसी भएर हुँदैन, म जस्ता लाखौ समलिंगी तेस्रोलिंगी दिदी बहिनीहरू खुसी हुनुपर्छ।

उनले रमेशका आमाबाबुको समर्थनमा आफूले तेस्रोलिंगी महिला भएरै समलिंगी विवाह दर्ता गरेको बताइन्। उनले नाम परिवर्तनका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई आग्रह गरेको सुनाइन्। समलिंगी विवाह दर्ता गरेकोमा मोनिकालाई यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तले बधाइ दिएका छन्।

नील हिरा समाजको नर्वेजियन परियोजनामा मानवअधिकारकर्मीको रुपमा कार्यरत मोनिका लिंगको महलमा ‘अन्य’ उल्लेख गरेको पासपोर्ट लिने पहिलो तेस्रोलिंगी महिला हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.