|

इलाम : इलाम भन्नेबितिक्कै सुनेजानेका सबैको मस्तिष्कमा हरियो चियाको बुट्टा याद आउँछ।  हर्कटे हुँदै कन्यामको नागबेली कालोपत्रे सडक दायाँ–बायाँ हुँदै हुइँकिने गाडीमा चढेकाले ओर्लिएर चियाका बुटा समातेर फोटो खिचाउने धोको पूरा गर्न नपाए पनि डोको बोकेर डाँडाभरी हरियोपत्ती टिपिरहेका मजदुरको लस्कर देख्दा आनन्द लिन्छन्।

चिसो हावामा मन्त्रमुग्ध हरियोपत्ती टिपिरहेका मजदुर देख्दा धेरैका मनमा उनीहरू कति सुखी भन्ने कुरा मनमा बढ्छ।  देखाइ र भोगाइको कथा बुझ्न केही दिन मजदुर र किसानसँगै उठबस गर्नुपर्छ अनि थाहा हुन्छ, हरियो चियाभित्रको कालो कथा। इलाम जिर्मलेका गोविन्द पौडेल अहिले आफ्नो बारीको चियाको बुटा उखेलेर उत्तीस, मलातोको बिरुवा रोपिरहेका छन्।  

दुनियाँदारले चिनेको चिया फ्याँकेर उत्तीसको बिरुवा रोपिरहेको देख्दा घुमघामका लागि इलाम आउने धेरैले गोविन्दलाई ‘मुर्ख मान्छे’ समेत भने।  उसो त उत्पादन दिइरहेको चियाको बुटा उखेलेर अन्य रूखको विरुवा लगाउन गोविन्दको रहर नभई बाध्यता हो।  २० वर्षदेखि हरियोपत्तीको भाउ नबढ्नु तर, उत्पादन खर्च भने बर्सेनि बढ्न थालेपछि चिया फ्याँकेर बिरुवा रोप्न थालेको गोविन्द बताउँछन्।

सबैभन्दा उत्तम ‘ए’ ग्रेडको हरियोपत्ती ३२ रुपियाँमा कारखानाले किन्ने जानकारी दिँदै गोविन्द पौडेलले भन्नुभयो, एक किलो चिया टिप्दा मजदूरले १० रुपियाँ ज्याला लिने र बाँकी २० रुपियाँले वर्षभरको लगानी उठाउँदैन अनि कसरी गर्नु चिया खेती?

जिर्मलेका गोविन्द पौडेल मात्र होइन इलामका धेरै किसान अहिले चिया खेतीबाट लगानी नै उठ्न छोडेपछि चिया मासेर बिरुवा र तरकारी खेतीमा फर्किन थालेका छन्।  कारखानाले अर्गानिक उत्पादन खोज्ने तर सरकारले किसानलाई अर्गानिक मल, विषादी पर्याप्त दिन नसक्दा उत्पादन बर्सेनि घटिरहेको किसान बताउँछन् । 

यो त भयो इलाममा आफ्नै चिया बगान भएका किसानको गुनासो। बिहान झिसमिसेदेखि साँझसम्म चिया बगानमै बिताउने मजदुरको समस्या झन टिठलाग्दो छ।  चिया बगान मालिक र कारखाना सञ्चालकले एक किलो हरियोपत्ती टिपेको १० रुपियाँ दिने गरेका छन्।  एउटा मजदुरले दिनभरमा अधिकतम १० किलोसम्म पत्ती टिप्न सक्छन्।  यसो गर्दा मजदुरको दिनभरको कमाइ सय रुपियाँ हुन्छ।  कन्यामकी नर्वदा निरौला भन्छिन्, 'दिनभरको कमाइले एक पोका तेल मात्र आउँछ।  कसरी जीवन चल्छ?'

भारतीय लगानीकर्ताले पूर्वका धेरैजसो कारखाना सञ्चालन गर्न थालेको र सबै कारखानामा समान भाउ कायम गरेपछि चिया खेती हेर्दा मात्र हरियाली रहेको किसानको गुनासो छ।  किसान र मजदुर मात्र होइन कारखाना सञ्चालक पनि आफू समस्यामा रहेको बताउँछन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.