|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। ८ सदस्यीय मौजुदा मन्त्रिपरिषद्लाई बुधबार विस्तार गर्न लागिएको हो। बुधबार विस्तार हुने मन्त्रिपरिषदमा कांग्रेसका १० मन्त्री थपिने छन्। ३ जनाले यसअघि नै मन्त्री बनिसकेका छन्।

मन्त्रिपरिषदमा सभापति शेरबहादुर देउवा पक्षबाट अर्जुनप्रसाद जोशी, अम्बिका बस्नेत, मीन विश्वकर्मा र वीरबहादुर बलायर मन्त्री बन्ने भएका छन्। यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट केन्द्रीय सदस्यसमेत रहेका सांसद रामकृष्ण यादव तथा सांसदहरु यज्ञबहादुर थापा, सञ्जय न्यौपाने र राजन केसीलाई मन्त्री बनाउन सिफारिस गरिएको छ। नेता कृष्णप्रसाद सिटौला समूहबाट भीमसेनदास प्रधान र नेता खुमबहादुर खड्का समूहबाट मोहनबहादुर बस्नेत मन्त्रीका लागि सिफारिस भएका छन्।

सत्ता साझेदार दल माओवादी केन्द्रले पनि मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नाम प्रधानमन्त्रीलाई बुझाइसकेको छ। नेपाली कांग्रेसभित्रको आन्तरिक किचलो र विवादका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो।

कांग्रेस नेता रामचन्द्र पौडेल समूहले पहिले ६ वटा मन्त्रालय माग गरेको थियो भने प्रधानमन्त्री देउवाले चारवटा मात्र दिन सकिने बताएका थिए। पछि ४ मन्त्रालयमा चित्त बुझाएका पौडेलले आफूहरुलाई प्रभावशाली र राम्रा मन्त्रालय चाहिने माग गरेका थिए।

कसलाई कुन मन्त्रालय भन्ने टुंगो लागेन

कांग्रेसबाट मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नाममा सहमति जुटे पनि कसलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागिसकेको छैन। पौडेल समूहबाट मन्त्रीमा सिफारिस हुने रामकृष्ण यादवलाई कृषि विकास मन्त्रालय र सञ्जय गौतमलाई सिँचाई मन्त्रालय दिइने पौडेल समूहका एक नेताले बताए।

नेता सिटौला र खड्काको तर्फबाट श्रेष्ठ र बस्नेतको नाम पहिले नै सिफारिस भएको थियो। देउवाका तर्फबाट मन्त्री हुने आकांक्षीको संख्या धेरै भएपछि छनोटमा समस्या भएको थियो। देउवा समूहबाट भरत साह, एनपी साउद, भीष्मराज आङदम्बे र चन्द्र भण्डारी मन्त्रीका आकांक्षी थिए।

पौडेल समूहबाट पहिले नै केन्द्रीय सदस्य बलबहादुर केसीको नाम सिफारिस गरिएको थियो। तर, प्रधानमन्त्री देउवाले केसीको नामप्रति असन्तुष्टि जनाउँदै आएका थिए। सांसद कमला पन्त र सरिता प्रसाईको नाम मन्त्रीमा राख्ने प्रारम्भिक सहमतिलाई परिमार्जन गर्दै मंगलबार पौडेल समूहको बैठकले चार जनाको नाम परिवर्तन गरेको थियो।

यसअघि पौडेल समूहबाट केन्द्रीय सदस्य महेश आचार्य मन्त्री हुने चर्चा थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.