|

दमक : झापाको दमक नगरपालिकाले विगत २६ वर्षदेखि आफ्नो शरण लिएर बसेका भुटानी शरणार्थीको क्षतिपूर्ति खोज्न थालेको छ। नगरपालिकाले आफ्नो नगर क्षेत्रमा विगत लामो समयदेखि बसोवास गर्दै आएका शरणार्थीको क्षतिपूर्ति खोज्न थालेको हो।

शरणार्थीसम्बन्धी काम गर्ने संस्था राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर) मार्फत नगरपालिकाले आफूहरुले शरणार्थीलाई हालसम्म दिएको सेवा र आफूले दिएको शरणको आधारमा क्षतिपूर्ति माग गरेको जनाएको छ।

दमक नगरपालिकाको कार्यालयले जनप्रतिनिधिले कार्यभार सम्हालेयताको प्रगति सार्वजनिक गर्न मंगलबार दमकमा गरेको पत्रकार सम्मेलनमा शरणार्थीले बसोबास गरेको क्षेत्रको र आफूहरुले अहिलेसम्म दिएको सेवाको क्षतिपूर्ति माग गर्ने दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालले बताए। ‘हामीले १ लाख बढी शरणार्थीलाई लामो समयदेखि यहाँ शरण दिएर राखेका छौं’, उनले भने, ‘हामीले यति सहयोग गरेबापत युएनएचसिआरले दमकको विकासमा सहयोग गर्नुपर्छ।’

स्थानीयकरण गर्न युएनएचसिआरसँग बजेट भएकाले यो बजेट नगरपालिकालाई उपलब्ध गराए आफूहरुले स्थानीयकरणमा काम अघि बढाउने बताए। उनले भने,‘युएनएचसिआरसँग स्थानीयकरणका लागि ७ अर्बभन्दा धेरै बजेट छ, यो बजेट दमकको विकासमा खर्च गर्नुपर्छ हामी यहाँ बस्न चाहने शरणार्थीका लागि आवश्यक पूर्वधार विकास गरेर दमक नगरपालिकाको सुविधा सम्पन्न स्थानमा नै राख्ने छौं।’

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकमा रहेका शरणार्थीको समस्या दिगो समाधानाका लागि आफूहरु लागिपरेको बताए। उनले भने,‘शरणार्थीको समस्या समाधानका लागि हामी प्रयत्नशील छौं, त्यसका लागि हामी केन्द्र सरकारसँग पहल गर्नेछौं।’ उनले केही दिनमै युएनएचसिआरसँग आफूहरु छलफल गर्ने पनि सुनाए।

राष्ट्रिय महत्वका योजनालाई प्राथमिकता

दमकमा स्थापना हुन लागेको महत्वकांक्षी योजनाहरु औद्योगिक पार्क, विश्वकै अग्लो बुद्धको मूर्ति, भ्युटावरलगायत योजनाहरुमा आफूहरु प्राथमिकताका साथ अघि बढेको ओलीले बताए। उनले यो योजना सफल पार्न सरकारी नएकायका प्रमुखहरुसँगको भेटघाट र छलफलाई निरन्तरता दिइरहेको उनको भनाइ छ। उनका अनुसार औद्योगिक पार्क, बुद्धको मूर्ति र भ्युटावरको डिपिआर तयार भइसकेको जानकारी दिए। उनले भ्युटावरका लागि १ अर्ब २५ कारोड सरकारले विनियोजन गरेको र एक महिनाभित्र टेन्डरसमेत लाग्ने उनले बताए।

सुकुम्बासी र बेरोजगारी पहिचान गर्ने

नगरपालिकामा बसोबास गर्ने सबै सुकुम्बासी नभएको नगरप्रमुख ओलीले बताए नगरमा बसोबास गर्नेमध्ये पनि बेरोजरागी सुकुम्बासीको समस्या सामाधानमा उचित कदम चाल्ने बताए। उनले भने, ‘घर जग्गा छैन भन्दैमा सबै सुकुम्बासी हुँदैन, त्यसको मासिक आयपनि हेर्नु पर्छ, त्यसो त मेरो पनि घर छैन, म पनि दमकमा अर्काकै घरमा बस्दै छु, मलाई सुकुम्बासी भन्न मिल्छ?’

खेतीयोग्य जमिन मासिएकाले प्लटिङ व्यवस्थित गरिने

पछिल्लो समय दमक नगरपालिकामा जताततै प्लटिङ गर्दा खेतीयोग्य जमिन मासिएकाले अब प्लटिङमा कडाइ गरिने बताए। नगरप्रमुख ओली भन्छन्, ‘खेती योग्य जमिन सबै प्लटिङमा परिणत भएको छ, अब हामी प्लटिङलाई कडाई गछौं।’ उनले दमकमा उद्योग स्थापनाभन्दा प्लटिङतर्फ व्यवसायी उत्साही भएको भन्दै यसलाई निरुत्साहित गर्दै उद्योग स्थापनामा प्रोत्साहन गर्ने बताए।

लोडसेडिङ अन्त्यमा जोड

पछिल्लो समय दमकमा लोडसेडिङ बढेको भन्दै नगरप्रमुख ओलीले आफूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई ध्यानकर्षण गराएको बताए। उनले भने,‘हामीले कुलमानजीको ध्यानकर्षण गरायौं, उहाँले यहाँको समस्या समाधानमा चासोका साथ लाग्नुभएको छ र समस्याको पहिचान गरि लोडसेडिङ अन्त्य गर्न मातहतका कार्मचारीलाई निर्देशन दिनुभएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.