|

बुद्ध कुमार आछामी-

    सिन्धुली : भनिन्छ ‘मानिसका लागि स्वपहिचान र मौलिकता सबैभन्दा महत्वपूर्ण हुन्छ।’ आफ्नो पहिचान बचाउन आफ्ना मौलिक सीप, बुद्धि–वर्गत र प्रविधिले पनि सहयोग गर्दछ। आफ्नो सीपबाट सिर्जित स्थानीय प्रविधिको माध्यमद्वारा नै मानिसले आफ्नो गाउँ ठाउँ र स्वयं आफ्नो पहिचान बनाउन सक्छ।

    तर, आधुनिकतासँगै मानिसको जीवनशैलीमा आएको परिवर्तनले पछिल्लो समय सिन्धुली जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्थानीय प्रविधि अतिक्रमित भएको छ। यसले परम्परागत घरेलु मेसिनहरू हराउँदै मात्र छैनन्, ग्रामीण पहिचान मेटिँदै गएको छ। यसप्रति स्थानीय समुदाय सचेत भएको पाइँदैन भने सम्बन्धित निकायहरू भने मौन रहेको अवस्था छ।

    उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा नदेखिएको वर्षौँ भइसकेको छ। अघिल्लो पुस्तासम्ममा उखु, अमिलो र तोरी पेल्नका लागि गाउँमा निर्विकल्प घरेलु मेसिनको रूपमा रहेको कोलको अस्तित्व पूर्णरूपमा समाप्त भएको छ। यसका ठाउँमा नयाँ मेसिनहरूको प्रयोग हुन थालेका छन्।

    धान कुट्नका लागि प्रयोग हुने ढिकी र ओखल पनि बिरलै देख्न पाइन्छन्। वर्षामा ओढ्ने स्याखु (घुम) को ठाउँ अहिले प्लास्टिक, छाताले ओगटेको छ। गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन्। आधुनिक प्रविधिको विकास हुनु अघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अतिआवश्यक एवं निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानी घट्टहरू लोप हुँदै गइरहेका छन्।

    करिब तीन दशक अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै लोप हुन थालेकोमा स्थानीयहरु चिन्ता व्यक्त गर्न थालेका छन्। आधुनिक मेसिनहरू छिटो र सजिलो भए पनि यसमा उत्तिकै जोखिम हुनुको साथै सबैको पहुँचमा नहुनु, ठूलो धनराशि विदेशिनु, गुणस्तरीय नहुनेजस्ता समस्याहरू रहेको स्थानीयहरु बताउँछन्।

    दैनिक प्रयोगका विभित्र आधुनिक मेसिन भित्रिए पनि यस क्षेत्रका घरेलु मेसिनको आफ्नै खाले विशेषता रहेको स्थानीय बासिन्दा बताउँछन्। ‘घरेलु मेसिनको प्रयोगबाट लाभदायक एवम् गुणस्तरीय वस्तुको उत्पादन गर्न मिल्छ’ दुधौली नगरपालिका–३ का घनश्याम बस्तेत भन्छन्, ‘घरेलु मेसिनको तुलनामा आधुनिक मेसिनको प्रयोग महँगो एवं खर्चिलो छ।’ लोप हुँदै गइरहेका यी मेसिनको संरक्षण र प्रबद्र्धन गरी यिनीहरूको प्रयोगलाई बढावा दिइनुपर्ने उनको सुझाव छ।

    प्रायः सामूहिक रूपमा प्रयोग गरिने घरेलु मेसिनको विशेषता सामाजिक सद्भावमा अभिवृद्धि गर्नु पनि रहेको जानकारहरूको तर्क छ। सामूहिक प्रयोगका माध्यमबाट घरेलु मेसिनले आपसी सम्बन्धमा निकटता ल्याई सामाजिक सहयोग एवम् सद्भाव वृद्धि गर्ने उनीहरूको तर्क छ। परम्परागत सभ्यता र मौलिक संस्कृतिको प्रतीक घरेलु मेसिन लोप हुँदै गएपछि मौलिक संस्कृतिसमेत प्रभावित भएकामा यस क्षेत्रका सांस्कृतिक प्रेमीहरू चिन्तित बनेका छन्।

    घरेलु प्रविधिसँगै यहाँको मौलिक संस्कृति पनि धराशयी बन्दै जान थालेको स्थानीयको भनाइ छ। लोक संस्कृतिमा ख्याती कमाएको लोकबाजाहरू खैंजडी, मादल, डम्फू, ढोलकी, सहनाइ र कर्नाल पनि हराउँदै जान थालेपछि यहाँको लोक संस्कृति पनि अपांग बन्दै गएको देख्न सकिन्छ।

    स्थानीय प्रविधिहरू लोप हुँदै जाँदा कतिपयको रोजगारीसमेत गुम्न पुगेको छ। गाउँघरमै बनाउन सकिने कुटो, कोदालो, हसिया, खुकुरी, डोकाडाला, थुन्से, भकारी, गुन्द्री, राढीपाखी, कपडाहरू बुन्ने सीप कलाहरू विस्तारै हराउँदै जान थालेका छन्। स्थानीय मौलिक सीपका धनीहरू मर्ने, वृद्ध हुने र युवा पुस्तामा विदेशिने क्रमले पनि स्थानीय प्रविधिहरूको अस्तित्व हराउन थालेको हो।

    यस क्षेत्रको परम्परागत सभ्यता, मौलिक कला र संस्कृतिको समेत अध्ययन गर्न सकिने घरेलु मेसिनको संरक्षणलाई सबै क्षेत्रबाट प्राथमिकता दिनुपर्ने स्थानीय बताउँछन्। स्थानीय मौलिक सीप, प्रविधिहरूको संरक्षणका लागि परम्परागत मेसिनको नमुना संग्रहालय स्थापना गर्न सकिएमा भावी पुस्ताका लागि अध्ययन, अनुसन्धान गर्न र इतिहासलाई जीवित राख्न सहयोग पुग्ने स्थानीय बताउँछन्।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.