|

काठमाडौं : 'हारे हतकडी हातमा जिते यो सिंगो संसार' भन्दै जनयुद्धमा होमिएकी आशा खनाल कोइराला अहिले महिला बालबालिका तथा समाजकल्याण मन्‍त्री बनेकी छिन्। बुधबार प्रधानमन्‍‍त्री शेरबहादुर देउवाले मन्‍‍‍त्रीपरिषद् बिस्तार गर्दा माओवादीका तर्फबाट मन्‍‍त्री बन्‍ने ९ जनामध्ये उनी एक्लो महिला हुन्। 

उनी भूमिगत समयमा तत्कालिन शाही सेनाको गोलीले घाइते भएकी एक योद्धा हुन्। २०२६ सालमा गोरखाको नारेश्वर १ भोगटेमा जन्मिएकी खनालले शिक्षाशास्त्रमा स्नातक तह सम्म अध्ययन गरेकी छन्।  

गोरखामा जन्मिएकी उनी बिहेपछि तनहुँ पुगिन्। २०४२ सालदेखि कम्युनिष्ट पार्टिमा संगठित भएकी उनी २०५० सालमा अखिल नेपाल महिला संघ तनहुँको संयोजक हुँदै २०५४ सालमा जिल्ला अध्यक्ष भएकी थिइन्। २०४८सालमा पतिको निधन भएपछि केही समय राधा मावि जामुनेमा स्थायी शिक्षकका रूपमा उनले काम गरेकी थिइन्।

२०५४ साल बैशाख १० गते संगठनकै कामको शिलशिलामा तनहुँको सतिश्वाराबाट प्रहरीले पहिलो पटक उनलाई पक्राउ गरेको थियो। हात हतियार खरखजना मुद्दामा ३५ दिन हिरासत र एक महिना जेल राखेपछि पुनरावेदन अदालतले उनलाई धरौटीमा रिहा गरेको थियो।  

२०५५ साल साउनमा कोईराला पुनः तनहु गुणादिस्थित आफ्नै घरबाट गिरफ्तारमा परिन्। उनलाई शान्ति सुरक्षा ऐन अन्तर्गत नजरबन्द गरियो। तनहुँ, कास्की, बारा, पर्सा र महोत्तरी, काठमाडौं लगायतका ठाउँमा उनले जेल जीवन बिताइन्। अदालतबाट रिहाइको आदेश भएपनि अदालत परिसरबाटै प्रहरीले उनलाई पटक-पटक पक्राउ गरेको थियो।

२०५८ भदौमा तत्कालीन विद्रोही माओवादी र सरकारबीच पहिलो चरणको वार्ताका क्रममा उनी जेलमुक्त भएकी थिइन्। कोइरालामाथि २०६२ साल जेठ ४ गते साभुङ गाबडाँडामा नेपाली सेनाको युनिफाईड कमाण्डले गोली प्रहार गरेको थियो। त्यसपछि घाइते अवस्थामा सेनाले पक्राउ गरेर उनलाई विजयपुर, समरसुर गुल्म चापाघाट हिरासतमा राखेको थियो।

१८ दिनको नजरबन्दपछि आतंककारी तथा विध्वंसात्मक कार्य नियन्त्रण अन्तर्गत कर्तव्य ज्यान मुद्दामा कास्की काराकार चलान गरियो।  २०६२-६३ को आन्दोलनका क्रममा उनी जेलमै थिइन्। गणतन्त्र स्थापना भएसँगै २०६३ असारमा मुद्दा फिर्ता लिइ सरकारले उनलाई रिहा गरेको थियो।

माओवादी केन्द्रीय सदस्य समेत रहेकी समानुपातिक सांसद् खनाल २०६० सालमा तत्कालीन विद्रोही माओवादीद्वारा घोषित जिल्ला जनसरकारमा प्रमुख हुने पहिलो महिला हुन्। पहिलो पतिको निधन पछि २०६३ मा पार्टीकै सहकर्मी दिनेश गौतम विश्वसँग उनले दोस्रो विवाह गरेकी हुन्। उनकी एक छोरी छन्।

कोइरालाले बुधवार बिस्तार भएको देउवा सरकारमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन्। यसअघि प्रचण्ड सरकारको पालामा माओवादीले कुनै मन्त्रालयमा महिला मन्त्री पठाएको थिएन भने त्यसअघिको केपी ओली नेतृत्वको सरकारमा माओवादीबाट रेखा शर्मा सामान्य प्रशासन मन्त्री बनेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.