|

काठमाडौँ: माओवादी केन्द्रबाट बुधबार छ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। 

महिला बालबालिका तथा समाज कल्याणमन्त्रीमा तनहुँकी आशा खनाल कोइराला, पशुपंक्षी विकास मन्त्री बर्दियाका शान्त कुमार थारु र आपूर्तिमन्त्री मोरङका शिवकुमार मण्डलका बारेमा थाहाखबरले प्रकाशन गरेको थियो। यहाँ बाँकी तीन मन्त्रीको बारेमा उल्लेख गरिएको छ।

सल्यानका टेकबहादुर बस्नेतः सामान्य प्रशासनमन्त्री
२०२२ असोज १ गते सल्यानको कोटमैला गाविस- ३ बिउरेखोलामा जन्मिएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका छन्।सल्यानका नेता टेकबहादुर बस्नेत देउवा सरकारका सामान्य प्रशासनमन्त्री हुन्।

जेटिए भेटनरी अध्यन गरेका उनले २०६५ देखि २०६९ सम्म चार वर्ष लगाएर 'नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरू' नामक दस्तावेजसंग्रह र 'संविधान निर्माणमा जनसहभागिता, भाग–१' नामक किताब लेखेका छन्।

जनकल्यान मावि थारमारे सल्यानबाट एसएलसी दिएका बस्नेतले २०४० देखि २०४२ सम्म सोही विद्यालयमा अध्यापनसमेत गरेका थिए। २०४३ माघमा क्षेत्रीय पशु सेवा निर्देशनालय सुर्खेतबाट नायव प्राविधिक सहायक पदको नियुक्ति लिएर जिल्ला पशुसेवा कार्यालय सल्यान खलङ्गाबाट पशुसेवा कार्यालय रागेचौरमा तीन महिना काम गरेका बस्नेतले ०४४ सालमा जिल्ला पशु सेवा कार्यालय रुकुम मुसीकोट र चौरजहारी पशु सेवा कार्यालयमा काम गरे।

२०५० सालमा डोल्पाको चौँरी फार्ममा कार्यरत उनी त्यहीँबाट सरकारी सेवाबाट बाहिरिएका थिए।

माओवादी संसदीय दलका सचेतकसमेत रहेका बस्नेतले भारत, बंगलादेश, अमेरिका आदि देशको भ्रमण गरेका छन्। २०५० सालदेखि भूमिगत राजनीतिमा लागेका उनी ०५७ सालमा सल्यानको जिल्ला जनसरकार प्रमुख भएका थिए। ०६२ सालमा जनमुक्ति सेनाको ब्रिगेड कमिसार भएका बस्नेत शान्ति प्रक्रियालगत्तै सल्यानको पार्टी जिल्ला इन्चार्ज बनेका थिए।

संविधानसभा सदस्य बनेपछि उनले संविधानसभाअन्तर्गत संविधान अभिलेख अध्ययन तथा निर्क्यौल समिति सदस्य, संसदीय सुनुवाइ विशेष समिति सदस्य, सार्वजनिक लेखा समिति सदस्य हुँदै संसदीय दलको सचेतक बनेको अनुभव छ। सामान्य प्रशासनमन्त्रीको शपथ ग्रहण गरेपछि नेता बस्नेतले प्रभावकारी रूपमा जनताको काम गर्ने बताएका छन्। 

तेस्रो पटक मन्त्री बनेका गिरिराजमणि पोखरेल 
पुर्ख्यौली घर खोटाङमा जन्मे हुर्केका गिरिराजमणि पोखरेल २०३६ सालबाट विद्यार्थी आन्दोलनमा जोडिएका हुन्। २०४२ सालमा अनेरास्ववियुको अध्यक्ष बनेका पोखरेल माओवादी केन्द्रका हेडक्वाटर सदस्य हुन्। 

महोत्तरी १ बाट प्रत्यक्ष निर्वाचित पोखरेलको कुनै व्यक्तिगत सम्पत्ति नभएको उनका सहकर्मी तथा माओवादी नेता आहुतिले बताए। महोत्तरीको बर्दिबासमा रहेको सम्पत्तिमा आधारशिला परिवार नामको कम्युन सञ्चालन गरेका छन्। १४ परिवारका ४५ जनाको संयुक्त परिवार सञ्चालन गरेका उनी आधारशिलाका प्रमुख योजनाकार हुन्।

अविवाहित नेता पोखरेल यससँगै तीन पटक मन्त्री बनेका छन्। ०६५ भदौमा प्रचण्ड प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बनेका उनी ०७२ असोजमा केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका थिए भने अहिलेको मन्त्रिपरिषदमा पनि पनि स्वास्थ्यमन्त्री बनेका छन्।

बाणिज्यशास्त्रमा स्नातकोत्तर र कानुन विषयमा स्नातकसम्म अध्ययन गरेका पोखरेलले बेलायत, चीन, भारत, भुटान, थाइल्याण्ड, फ्रान्स, स्वीटजरल्याण्डसहित एक दर्जन देशहरूको भ्रमण गरेका छन्।

प्रधानन्यायाधीशलाई महाभियोग लगाउने शाही ऊर्जामन्त्री 
कालीकोटका जन्मिएका महेन्द्रबहादुर शाही माओवादीका पोलिटव्युरो सदस्य हुन्। पूर्व जनमुक्ति सेनाका कमाण्डर रहेका उनी माओवादीमा राम्रो संभावना भएका युवा नेतामा गनिन्छन्। 

जनयुद्धमा राजनीतिक र फौजी गरी दुवै मोर्चामा काम गरेका शाही प्रत्यक्ष निर्वाचित सांसद हुन्। सशस्त्र विद्रोहको सुरुदेखि नै जनयुद्धमा लागेका उनको अध्ययन एसएलसीसम्म मात्रै छ।

उनले ०४८ सालमा पार्टी सदस्यता प्राप्त गरेका थिए। जनयुद्धका दर्जनौँ ठूला साना मोर्चाको कमाण्ड सम्हालेका उनी क्यान्टोनमेन्टमा रहँदा कैलालीको दशरथपुरमा बसेका थिए।

प्रत्यक्षतर्फका सांसद शाही प्रधानन्यायाधीश सुशीला कार्कीलाई लगाएको महाभियोगका प्रस्तावक थिए। पहिलो पटक मन्त्री बनेका शाहीले ऊर्जामा यसअघिका ऊर्जामन्त्री जनार्दन शर्माले जस्तै काम गरेर देखाउने र लोडसेडिङ हुन नदिने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.