|

इलाम :  इलामको प्रथम जिल्ला सभाले संसदिय पद्धतीको अभ्यास गरेको छ। जिल्ला सभाका सदस्य रहेका १० वटै स्थानीय तहका प्रमुख एवम उपप्रमुखहरुको उपस्थिती रहेको बैठकमा संसदमा हुने गतिविधीहरु प्रत्यक्ष अनुभुत हुन गरी अभ्यास गरियो। 

जिल्ला समन्वय समितीको निर्वाचन नभएको अवस्थामा जिल्ला सभाको जेष्ठ नागरिकले सभाध्यक्ष गर्नुपर्ने प्रावधान अनुसार इलाम नगरपालिकाको उपप्रमुख शुशिला नेम्वाङले सभा संचालन गरिन्।

राष्ट्रिय गानबाट सर्वप्रथम सभाको उदघाटन गरियो। चुलाचुली गाँउपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले सहिदहरु प्रतिको सम्मानका लागि राखेको प्रस्तावलाई सुर्योदय नगरपालिका उपप्रमुख दुर्गादेवी भट्टराईले समर्थन गरिन्। सभाले सर्वसम्मतिले प्रस्ताव पारित गर्‍यो। यसपछि १ मिनेट मौनधारण गरियो। 

निर्वाचन सफल पार्न सहयोगीको भूमिका निवार्ह गर्ने सबै निकायलाई धन्यावद ज्ञापनक गर्न माइ नगरपालिका प्रमुख दिपक थेवेले प्रस्ताव गरे। रोङ गाँउपालिका अध्यक्ष शमशेर राईले यसमा सर्मथन गरे। सभाले सर्वसम्मतिले यो प्रस्ताव पारित गर्‍यो।

जिल्ला समन्वय समितीको पदाधिकारी संख्या ९ सदस्ययी राख्नका लागि इलाम नगरपालिका प्रमुख महेश बस्नेतले प्रस्ताव गरे। यो प्रस्तावलाई सन्दकपुर गाँउपालिका उपाध्यक्ष शोभा पराजुलीले गरेको सर्मथन गरिन्। सर्वसम्मतिले प्रस्ताव पारित भयो।

प्रथम सभाको सबै निर्णयहरुहरु प्रमाणित गर्नका लागि देउमाइ नगरपालिका प्रमुख सुर्य पोख्रेलले प्रस्ताव गरे।  माइजोगमाइ गाँउपालिका उपाध्यक्ष सावित्रा भट्टराईले सर्मथन गरिन्। यो प्रस्ताव पनि सर्वसम्मत पारित भयो। 

नेपालको संविधान २०७२ को भाग १७ स्थानिय कार्यपालिकाको धारा २२० को उपधारा (२) मा जिल्ला सभामा जिल्ला भित्रका गाँउ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिका प्रमुख र उपप्रमुख सदस्य रहने व्यवस्था छ। गाँउ तथा नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितीले ३० दिन भित्र पहिलो बैठक बस्ने व्यवस्था अनुरुप इलामको पहिलो जिल्ला सभाको बैठक बसेको हो।

धारा २२० को (३) मा 'जिल्ला सभाले एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा ३ जना महिला र कम्तीमा १ जना दलित वा अल्पसंख्यकसहित बढीमा ९ जना सदस्य रहेको जिल्ला समन्वय समितीको निर्वाचन गर्ने' उल्लेख भए अनुसार इलामको जिल्ला समन्वय समिती ९ सदस्यीय बन्‍ने भएको छ।

सम्बन्धित गाँउ सभा वा नगर सभाको सदस्य जिल्ला समन्वय समितीको जुनसुकै पदका लागी योग्य हुने संविधानमा व्यवस्था छ। निर्वाचित पदाधिकारीहरुले ५ वर्षसम्म जिल्ला सभा वा जिल्ला समन्वय समिती संचालन गर्नुपर्ने भएकाले नियम संगत इलामको सभा संचालन गर्न पहिलो बैठकमा नै संसदिय पद्धतीको अभ्यास गराइएको स्थानिय विकास अधिकारी ध्रुवबहादुर खडकाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.