|

रुपन्देही : रुपन्देहीको मर्चवारमा किशोरीमाथि कुटपीटको घटना सेलाउन नपाउँदै लुम्बिनीमा महिला तथा दलित समुदायमाथि चरम यातना दिएका घटना सार्वजनिक भएका छन्।

जग्गाको बिबाद, बालबालिकाको विषयमा भएको झगडा लगायतका बहानामा कुटिएका ३ जना पीडित महिलाहरू अस्पतालमा भर्ना भएका छन्।

रुख काटने विषयमा विवाद हुँदा लुम्विनी सांस्कृतिक नगरपालिका ४ महुबारीकी एक महिलामाथि निर्घात कुटपिट भएको छ। महुबारीकी हसीरुन निशा दर्जीमाथि स्थानीय इन्ताफ मुसलमान, महबुब मुसलमान र बुदे दर्जीले कुटपिट गरेका हुन्।

कुटपिटबाट निशाको टाउकोमा गम्भीर चोट लागेको छ। उनको अहिले लुम्बिनीको महजिदीयास्थित लाइफ हेल्थ केयर सेन्टरमा उपचारत छन्। आफ्नो जग्गामा रहेको रुख काटेर लग्न खोजेपछि आफूमाथि बञ्चरो प्रहार गरेको पीडित निशाले बताइन्।

यसैगरी लुम्बिनी ४ मनौरा निवासी गीता लोनियालाई उनका जेठाजुहरूले कुटपिट गरेका छन्। श्रीमान् विदेशमा रहेका उनलाई घर छोड्न दबाब दिँदै उनका जेठाजु तेजु लोनिया र खेदु लोनियाले निर्घात कुटपिट गरेका हुन्। कुटपिटबाट घाइते भएकी उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

विवाह भएको ३ वर्षमा श्रीमान विदेश गएदेखि जेठाजुहरूले यातना दिने गरेको लोनियाले बताइन्। उनले जेठाजुहरुविरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी छन्। प्रहरीको रोहबरमा पीडकले औषधी उपचार गराउने भनिएपनि पीडकहरू सम्पर्कमा नै नआएको गीताका बुवा रामकिसुन लोनियाले जानकारी दिए।

त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका ६ तेनुहवाको एक सिंगो परिवारमाथि पनि निर्घात कुटपिट भएको छ। गत आइतबार आफ्नो खेतमा राखेको दाउरा नहटाएको भन्दै जनता निमावि पिपरपतियाका प्रधानाध्यापक हीरालाल श्रीवास्तव र उनका भाइहरु चन्द्रभवन र विनोद मिलेर तेनुहवाका शान्ति हरिजन, घनश्याम हरिजन, सुनील हरिजन, रीता हरिजन र केउला हरिजनलाइ कुटपिट गरेका हुन्। कुटपिटपछि पीडित पक्षले इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका छन्।

आफ्नो घर नजिकै रहेको श्रीवास्तवको खेतमा दाउरा राखेका हरिजन परिवारलाई दाउरा नहटाएको निहु पारेर श्रीवास्तवका परिवारले घरभित्र पसेर ३ जना महिला सहित पुरुष सदस्यलाई समेत निर्घात कुटपिट गरेको शान्ति हरिजनले बताइन्।

यस्तै उनका श्रीमान घनश्याम, आमा केउला, बुहारी रीताको लुम्बिनी हेल्थ केयर सेन्टरमा उपचार गरिएको प्रहरीले जनाएको छ। उपचारपछि उनीहरुको अवस्था सामान्य रहेको डाक्टर अशफाक हुसेनले बताए। लामो समयदेखि आफ्नो खेत कब्जा गरी दाउरा राखेकाले हटाउन भन्दा नमानेपछि झगडा भएको श्रीवास्तवले बताए। उनले झगडाका क्रममा आवेशमा आएका कारण घटना भएको भन्दै पीडित सबैको उपचार व्यवस्था मिलाएको बताए। प्रहरीले दुबैपक्षबीच घाइतेहरुको उपचार खर्च व्यहोर्ने सहमतिमा कागज बनाएको छ।  

यसैगरी बालबालिकाको झगडाको विषयलाइ लिएर लुम्बिनी ९ रमवापुरकी मञ्जु गुप्तामाथि पनि कुटपिट भएको छ। स्थानीय रुपायन यादवका परिवारले उनीमाथि कुटपिट गरेको गुप्ताले बताएकी छन्। उनले पीडकहरूविरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी छन्। कुटपिटबाट सामान्य घाइते भएकी उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिका ३ ठूलो पडेरीयामा द्रुपति कुर्मीमाथि पनि कुटपिट भएको छ। घरायसी झैझगडाका क्रममा देउरानी मञ्जु कुर्मी, उनकी छोरी सीमा कुर्मी र मञ्जुका भाइहरु मिलेर कुटपिट गरेका हुन्। कुटपिटका क्रममा हानेको इट्टाले लागेर स्थानीय लक्ष्मी मिश्राको पसलमा समेत क्षति भएको छ।

घटनापछि पीडितले इलाका प्रहरी कार्यालयमा निवेदन दिएपनि प्रहरीले सहमति कागज मात्रै गराएको छ। धेरैजसो झैझगडाका घटना भएकाले अनुसन्धान जारी रहेको लुम्बिनीका प्रहरी नायब निरीक्षक महेन्द्र पोखरेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.