|
काठमाडौंको नागपोखरीमा नागलाई दूध चढाइदै।

प्रकृतिको पूजा–आराधना गर्ने परम्परा सनातन धर्मावलम्बीहरूको मौलिक पहिचान हो। प्रकृतिका हरेक वस्तुको पूजा आराधना एवं प्रत्येक तत्वमा भगवानको स्वरूप देख्नु हाम्रो विशिष्ट पक्ष पनि हो। प्रकृतिका हरेक पदार्थलाई देवताको स्वरूप मानेर पूजा गर्नुको उद्देश्य हरेकको महत्त्वको विषयमा ज्ञान लिँदै तिनको संरक्षण संवर्धन गर्न हाम्रा शास्त्रहरूले प्रेरित गरेका छन्। आज अन्धाधुन्द रूपमा गरिएको भौतिक विकासले हिन्दूहरूको यो विशिष्ट पक्षलाई भुल्दै गएको छ।

विज्ञान र विकासका नाममा प्रकृतिका हरेक वस्तुहरूमाथि धावा बोल्दा आज मानव समाजले विभिन्न किसिमका दुष्परिणाम भोग्दै आएको छ। प्रकृतिको हस्तक्षेपलाई नरोक्ने हो भने आगामी पुस्ताले अझै कहालीलाग्दा समस्यालाई आत्मसात गर्नुपर्ने देखिइसकेको छ । 

यस्तै प्रकृतिको पूजा आराधना गर्ने दिन हो,श्रावण शुक्ल पञ्चमी। साउनको शुक्लपक्षको पञ्चमी नागपञ्चमीका नामले हिन्दुहरूमाझ परिचित छ। यो दिन प्रत्येक गृहस्थाश्रमीले आफ्नो गृहद्वारका दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति बनाएर घ्यू, दूध आदिले धारा दिई दुवो, धानको लाबा आदि पदार्थहरू चढाई गन्ध, पुष्पादिले पूजा गरी नागको आराधना गर्नुपर्ने विधि उल्लेख छ।

हिजोआज हिन्दू धर्मावलम्बीहरूले आ–आफ्नो घरको मूलद्वारमा नागको चित्र टाँसेर पूजा गर्ने चलन रहेको छ। यसरी विधिपूर्वक नागको पूजा आराधना गर्नाले नागहरू प्रसन्न हुने र वर्षभरि सर्प, बिच्छी आदि विषालु जीवहरूको भय नहुने विश्वास रहेको छ। यो दिनलाई नाग वा सर्पप्रति मात्र नभई अन्य जीव वा प्रकृतिसँग आत्मीयता दर्शाउने दिनको रूपमा समेत लिइन्छ। आकाशबाट खस्ने चट्याङले घरमा कुनै किसिमको हानि नोक्सानी नपुर्‍याओस् भन्ने हेतुले बज्रवारकहरूको पूजा गरिन्छ। 

नाग वा सर्पपूजनको परम्परा मानवसभ्यता जत्तिकै प्राचीन हो। वैदिक ग्रन्थहरूमा सर्पको स्तुति यसरी गरिएको छ– नमोऽस्तु सर्पेभ्यो ये के च पृथ्वीमनु येऽन्तरिक्षे ये दिवि तेभ्य सर्पेभ्यो नमः। यजुर्वेदका अन्य केही ऋचाहरूले पनि स्वर्गका ज्योतिर्मय स्थानमा रहेका नदेखिने सर्प, सूर्यको किरणमा रहने सर्प, जलमा रहने एवं देखिने रूपमा वृक्ष आदिमा रहने सर्प र पृथ्वी, अन्तरिक्ष एवं द्युलोकमा रहने सर्पहरूको वन्दना गरेका छन्।

यसैगरी पौराणिक ग्रन्थहरूमा पनि सर्पको महिमा प्रशस्त गाइएको छ। एकातिर भगवान् शिवको गहनाको रूपमा सर्पको महत्त्व छ भने अर्काेतिर भगवान विष्णु शेषनागलाई शय्या बनाएर सुतेका छन्। श्रीमद्भागवतमा विष्णुकै रूपमा शेषनागको वर्णन गरिएको छ भने शिवपुराणमा वासुकी नाग शिवको कण्ठमा बेरिएर रहेको वर्णन छ।

विभिन्न पुराणमा नागहरूको आफ्नै छुट्टै लोेक 'नागलोक' भएको बताइएको छ । साथै नागवंशको बारेमा थुप्रै आख्यान पनि पाइन्छन्। अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी नाग आठ प्रकारका छन्। प्राचीन ग्रन्थहरूमा मानिस र नागजातिबीच रक्तसम्बन्ध कायम थियो भन्ने उल्लेख पनि पुराणमा पाइन्छ। कसरी? यो खोजीको विषय हुनसक्छ। 

देवमाता अदीतिकी बहिनी कद्रुले नागवंशी कन्या उत्पत्ति गरेकी थिइन्। नागवंशी कन्याहरूको विवाह कश्यप ऋषिसँग भएको पुराणमा उल्लेख छ। यसैगरी भगवान् कृष्णको साथै अर्जुनले नागकन्यासँग विवाह गरेको प्रसंग महाभारतमा अाउँछ। अर्जुनका पनाति जनमेजयसँग नागराजाले मैत्रीसम्बन्ध स्थापना गरेको आदि सन्दर्भले नागजाति र मानिसबीचको सम्बन्ध पुरानो भएको प्रमाणित गर्छन्।

पछिल्लो समयमा पनि भारतका विभिन्न भागमा नागवंशी राजाहरूले राज्य गरेको इतिहासमा पाउन सकिन्छ। तिनका सन्तानहरू अझै पनि भारत र नेपालका विभिन्न भागमा रहेका बताइन्छ। नेपालका केही जातिले पनि आफूलाई नागजाति बताउने गर्दछन्। इतिहासकारहरूका अनुसार मगर जाति पनि नागवंशी हुन्। 

हिन्दू समाजमा नागपञ्चमीको दिनलाई नागपूजा गरेर मानिस र सर्पजातिबीच रहेको भयलाई हटाउँदै आत्मीय सम्बन्ध स्थापना गर्ने दिनको रूपमा लिन सकिन्छ। यसैगरी प्राचीन संस्कृति र इतिहासलाई अध्ययन अनुसन्धान गरेर सर्प र मानिसबीचको दूरी हटाउन यस पर्वको ठूलो महत्त्व छ।

हिन्दू समाजमा नागपञ्चमीको दिनलाई नागपूजा गरेर मानिस र सर्पजातिबीच रहेको भयलाई हटाउँदै आत्मीय सम्बन्ध स्थापना गर्ने दिनको रूपमा लिन सकिन्छ। यसैगरी प्राचीन संस्कृति र इतिहासलाई अध्ययन अनुसन्धान गरेर सर्प र मानिसबीचको दूरी हटाउन यस पर्वको ठूलो महत्त्व छ। पृथ्वीमा पाइने प्रजातिहरूमध्ये दुईचार जातका बाहेक सबै सर्पहरू मानिसले सोचेको जति विषालु नहुने विज्ञानले पत्ता लगाएको छ।

सर्पलाई मानिसले शत्रुका रूपमा हेर्ने गरेको छ। तर नेपाल कृषिप्रधान देश भएकोले तराई र पहाडी भेगमा बस्ने अधिकांश मानिस सर्पको सम्पर्कमा रहन बाध्य हुन्छन्। सर्पको विष औषधीको लागि प्रयोग हुन्छ। प्राचीन आयुर्वेद ग्रन्थमा सर्पको विषद्वारा गरिने उपचारको उल्लेख गरिएको पाइन्छ भने आधुनिक चिकित्सामा समेत विभिन्न उपचारमा सर्पको प्रयोग गरिन्छ।

सबै सर्प विषालु हुँदैनन् र हानि नपुर्‍याएसम्म सर्पले केही गर्दैन भन्ने सन्देश नागपञ्चमीले दिन्छ। साथै श्रद्धा भक्तिले देवताको रूपमा पूजा गरिने भएकोले पनि सर्प र मानिसबीचको दूरी घटाउन मद्दत गर्दछ। साथै पानीका स्रोतलाई स्वच्छ र पवित्र राख्न यो दिनले प्रेरणा दिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.