|

काठमाडौं : तिथिका हिसाबले श्रावण शुक्ल पञ्चमी भए पनि १० दिनपछि गरिने रक्षाबन्धन शुक्रबार नै गरिँदैछ। साउन २३ गते श्रावण शुक्ल पूर्णिमाको राति चन्द्रग्रहण परेकाले रक्षाबन्धन नयाँ जनै लगाउने कार्य शुक्रबार नै परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।

नेपालमा तिथिमिति तय गर्दै आएको समितिको सुझावअनुसार शुक्रबार नै रक्षाबन्धन गर्न लागिएको हो। ‘यसवर्ष २०७४ साल श्रावण २३ गते सोमबार श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रि पूर्व खण्डग्रास चन्द्रग्रहण भएकाले सो दिन गरिने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन श्रावण १३ गते शुक्रबार श्रावणशुक्ल पञ्चमी (नागपञ्चमी) का दिन गर्नु शास्त्र तथा परम्पराअनुसार समुचित छ’, समितिले केही दिनअघि जारी गरेको विज्ञप्तिमा भनिएको थियो। 

यता मूल वैदिक परम्पराका अनुयायीहरूले भने पूर्णिमाकै दिन रक्षाबन्धन गर्न सुझाव दिएका छन्। वेदका ज्ञाता आमोदवर्धन कौण्डिन्न्यायनले पूर्णिमामा गर्ने काम पञ्चमीमा गर्न नहुने भन्दै साउन २३ गते नै रक्षाबन्धन गर्न सुझाए। केही ज्योतिषीहरूले चन्द्रग्रहण राति लाग्ने र सुतकसमेत अपराह्नदेखि मात्रै लाग्ने भएकाले पूर्णिमाकै दिन रक्षाबन्धन गर्ने तथा नयाँ जनै फेर्ने कार्य गर्नुपर्ने बताएका छन्। 

यता मैथिली पञ्चांगमा पूर्णिमाकै दिन रक्षाबन्धन गर्न भनिएको छ। सो दिन बिहान १० देखि २ बजेसम्म रक्षाबन्धन मनाउने तिथि दिइएको छ। मिथिलाञ्चलमा रक्षाबन्धन प्रायः बिहानै हुने भएकाले पूर्णिमाको राति पर्ने ग्रहणले असर नपार्ने जनकपुरका पण्डित दिगम्बर झा ‘दिनमणि’ले जनाए। मिथिलाञ्चलमा श्रावण शुक्ल पूर्णिमाका दिन नयाँ जनै फेर्ने परम्परा छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.