|

गोरखा : गोरखाको धार्चे गाउँपालिकास्थित केरौंजाको कामीगाउँ पहिरोको उच्च जोखिममा परेको छ। दुई वर्षअघि वैशाख महिनामा गएको विनासकारी भूकम्पपछि जोखिमयुक्त क्षेत्रको रुपमा पहिचान भएको सो गाउँमा अहिले पहिरो जान थालेपछि ६० घर जोखिममा परेको स्थानीय सुशीला गुरुङले जानकारी दिइन्। ‘बर्खाको बेला छ, घरको पिँडीको डिलसम्म नै पहिरो आउन लागिसक्यो,’ गुरुङले भनिन्, ‘पानी पर्न थालेपछि होसहवास् नै हराउँछ।’ 

स्थानीय ५ परिवार घर छाडेर पारी डाँडामा टहरो बनाएर बसेका छन्। ‘राती पानी पर्‍यो भने केटाकेटी सबै पारी डाँडामा जान्छन्, हामी बुढाबुढी सरसामान जोगाउनु पर्‍यो भनेर यहिँ बस्छौँ,’ उनले भनिन्, ‘सामानहरु लैजाउँ भने कहाँ लैजाने?’  

स्थानीय कान्छा गुरुङ, माया गुरुङ, राममाया गुरुङ, यत्ना गुरुङ र धनबहादुर गुरुङको परिवार १५ दिनदेखि पारीपट्टि रहेको डाँडामा टहरा बनाएर बसेको १५ दिन भयो। उनीहरुले आफन्तको जग्गामा टहरा बनाएका छन्।

कामीगाउँभन्दा तल्लो गाउँका बासिन्दाले समेत सामान सुरक्षित स्थानमा सार्न थालेको गुरुङले टेलिफोनमा जानकारी दिइन्। केरौंजामा हिजो आज नियमितजसो वर्षा भइरहेको छ। गतवर्ष पहिलोले केरौंजाको ९० र केरौंजाबेसीको २३ घर पुरेको थियो। त्यसक्रममा ४ जनाले ज्यान गुमाएका थिए।

केरौंजा भूकम्पपछि बस्नै नहुने भनेर पहिचान भएको गाउँ हो। भूगर्वविद्हरुले समेत केरौंजा गाउँलाई स्थानान्तरण गर्नुपर्ने बताए पनि त्यसो हुन सकेको छैन। जिल्ला दैवीप्रकोप उद्धार समितिलाई केरौंजा गाउँ स्थानान्तरण गर्न पुननिर्माण प्राधिकरणले पत्रचार नै गरे पनि अहिलेसम्म सुरक्षित स्थानको खोजी हुन सकेको छैन। कामी गाउँ पहिरोको उच्च जोखिममा रहेको स्थानीय शिक्षक सञ्जय ढकालले बताए। 

‘कामी गाउँ त पहिरोको उच्च जोखिमै छ,’ उनले भने, ‘साविकको वडा नं. १ को तल्लो गाउँको १५ घर, २ को ५०÷६० घर धरापमा छन्। पहिरो गाउँतिर बढ्दै आइरहन्छ। कति बेला गाउँ बगाउँछ थाहा छैन।’

तस्बिर सौजन्य : सञ्जय ढकाल

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.