|

रुपन्देही : उत्तरतर्फ लहरै फैलिएको चुरे पर्वत। त्यही पर्वतको काखैमा छ समथर छपिया। छपिया अहिले माछा उत्पादनमा राजधानी बन्ने कसरतमा छ।

३२ वर्षअघिदेखि माछा पालन थालिएको रुपन्देहीको सियारी गाउँपालिका (साविकको दयानगर गाविस) मा ७ वर्षअघिदेखि अभियानमुखी माछा उत्पादन थालिएको छ। ‘पहिले व्यवसायिक भन्दा बढी घरायशी प्रयोजनका लागि माछा पालिन्थे, अहिले पूरै व्यवसायिक भएको छ छपिया’ स्थानीय माछा किसान तथा व्यवसायी टंकप्रसाद ज्ञवाली भन्छन्।

साविकको दयानगर गाविसको छपियामा मात्रै हैन, साविकका सूर्यपूरा, धमौली, मानमटेरिया, कम्हरिया, मैनहिया, हर्नैया र पश्चिम अमुवा गाविस पनि माछापालनमा अगाडि छन्। यी गाउँलाई समावेश गरी प्रधानन्त्री कृषि आधुनिकीकरण परियोजना मत्स्य जोन कार्यक्रम लागू गरिएको छ।

यी गाविस अहिले सियारी, गैडहवा, मायादेवी र शुद्धोधन गाउँपालिकामा पर्छन्। रुपन्देहीमा माछा उत्पादनमा अझै प्रगति हुनसक्ने कृषि कार्यालय रुपन्देहीका मत्स्य विकास अधिकृत रमेश जयसवालको ठम्याई छ। ‘अहिले रुपन्देही माछा उत्पादनका हिसाबले देशभरकै तीन जिल्लामध्येको एक हो भने एउटै भूगोलमा व्यवसायिक हिसाबले धेरै माछा उत्पादन हुनेमा पहिलो नै हो भन्न सकिन्छ' उनी भन्छन्।

अहिले बारा जिल्लामा देशभरमै धेरै माछा उत्पादन हुन्छ भने त्यसपछि रुपन्देही र मोरङ पर्छन्। माछा उत्पादनका हिसाबले फड्को मार्दै गरेको बारामा सुपर जोन बनिसकेको छ भने रुपन्देही र मोरङमा मत्स्य जोन मात्रै छन्।

जिल्ला कृषि कार्यालयका अनुसार रुपन्देहीको कुल ११ सय हेक्टर क्षेत्रफलमा वार्षिक ५३ सय मेट्रिक टन माछा उत्पादन हुदै आएको छ। रुपन्देहीमा सिल्भर कार्प, विग हेड कार्प, रहु, भ्याकुर, कमनलगायत गरी सात प्रकारका माछा उत्पादन भइरहेको कृषि कार्यालयको तथ्यांकमा उल्लेख छ। रुपन्देहीका २ हजार २ सय ५० जति किसान माछापालनमा संलग्न छन्।

माछा पालनमा सामान्य किसानका अलावा ठूलो लगानीका व्यवसायीसमेत लागिपरेका छन्। मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष पुण्य चौधरी भन्छन् ‘८ करोड लगानीसम्मका होम स्टे सहितका माछा पालन केन्द्र र रेष्टुरेण्ट खुलेका छन्। तिनमा दैनिक २ सय भन्दा बढी किसान तथा पर्यटक माछाका बारेमा जान्न बुझ्नका लागि आउने गर्छन्।’

माछामा भविष्य देखेरै रुपन्देहीलाई माछा उत्पादनमा राजधानी बनाउनका लागि ४ वटा गाउँपालिकाका विभिन्न वडाहरु समेटेर मत्स्य जोन बनाइएको छ। जसले माछा पालन र उत्पादनमा बढावा दिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मत्स्य जोन कार्यक्रम सञ्चालक समितिका संयोजक गणेशबहादुर साहीको भनाइ छ। ‘मत्स्य जोनले अहिले व्यवसायिक रुपमा माछापालन र बजारीकरणका लागि किसानसँग मिलेर काम गरिरहेको छ, यो योजना सफल भइसकेपछि हामी सुपर जोनमा जान सक्छौं, उनले भने–अहिले हामी क्षेत्र विस्तारकै क्रममा छौं, माछापोखरीहरु बढाउने र नयाँ नयाँ ठाउँमा पोखरीहरु थपेर माछा उत्पादनलाई जोड दिइरहेका छौं।’

रुपन्देहीसहित बारा, मोरङ, कपिलवस्तु, नवलपरासी, दाङ, बाँके, बर्दिया, चितवन, झापा, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा व्यवसायिक रुपमा माछा पालन गरिदै आएको कृषि कार्यालयले जनाएको छ।

मत्स्य विकास निर्देशनालय मातहतमा रुपन्देही, स्याङ्जा, बाँके, चितवन, सप्तरी, लहान, मकवानपुर, धनगढी, कुलेखानीमा मत्स्य विकास केन्द्र छन्। ती केन्द्रमा माछा र माछाका भुरा उत्पादन गर्नुका साथै आसपासका जिल्लामा आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराइदै आएको छ।

पर्यटक खोजिरहेछ छपिया

व्यवसायिक रुपमै माछा पालेर नाम र दाम कमाएका छपियाका किसान अब मत्स्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कस्सिएका छन्। बितेको २ वर्षयता छपियालाई मत्स्य पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्नका लागि अभियान नै थालिएको छ।

माछा किन्ने, हेर्ने र माछासँग खेल्न पर्यटकले चाख देखाएपछि पर्यटकलाई पोखरीमा घुमाउने, बल्छी हान्ने, माछाका परिकार खुवाउने र बसोवासको व्यवस्था मिलाउन स्थानीय कम्मर कसेरै लागेका छन्।

त्यसका लागि माछाले डुबुल्की मारेको हेर्न मिल्नेगरी माछापोखरीकै बीचमा सेड बनाइएका छन्। तिनै सेडमा बसेर पर्यटकले माछाका परिकार खादै, माछा मार्दै गर्न सक्छन्। यहाँका ११ वटा भन्दा बढी माछा फार्म पर्यटक तान्ने उद्देश्यका साथ लागेका छन्। 

‘माछाकै माध्यमबाट छपियालाई चिनाएका छौं, माछा भनेपछि छपिया सम्झिने अवस्था भइसकेको छ, यसलाई अब पर्यटकीय हिसाबले पनि अघि बढाउन हामी लागिरहेका छौं'  मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष पुण्य चौधरी भन्छन्  'बुद्ध जन्मस्थल लुम्बिनी, बुटवल र भैरहवामा आएको पर्यटकलाई छपियामा ल्याउने हाम्रो उद्देश्य हो।’

छपियामा माछा हेर्न र किन्न मात्रै हैन, माछाका नयाँ नयाँ परिकार खान पाइन्छ। फिस चिल्ली, फिस करी, फिस मम, फिस टिकिया, फिस अचारलगायतका परिकार स्थानीयले बनाएर खान दिन्छन्। माछा रेष्टुरेन्ट सञ्चालन गरेका छपियाका किसान टंकप्रसाद ज्ञवाली भन्छन् 'एक दिनमा २०–३० जना पर्यटक फिसिङ गर्न, माछाका परिकार खान र कसरी काम गर्दा रहेछन् भनेर हेर्न आउँछन्, उनीहरुलाई खुशी पार्न हामीले सबै स्रोतसाधन प्रयोग गरेका छौं।’

छपियाको १ सय ६७ हेक्टर क्षेत्रफलमा १ हजार २ सय माछापोखरी छन्। छपियाका ५ सय ५० किसानले वार्षिक एक हजार मेट्रिक टन माछा उत्पादन गर्छन्। यसबाट वार्षिक २५ करोड भन्दा बढीको कारोबार हुन्छ।

यहाँ १७ वटा माछा फर्म छन्। गाउँमै माछा बजार, जिउदो माछा पसल, दाना उद्योग र मत्स्य प्रशोधन केन्द्र छन्। माछा पालनलाई सहज बनाउन किसानले १२ वटा कृषक समूह र जलदेवी मत्स्य उत्पादन सहकारी संस्था खोलेका छन्।

कृषि कार्यालय र मत्स्य विकास केन्द्रको समन्वयमा यी कृषक समूह र सहकारीले वर्षभरि नै माछा उत्पादन र व्यवसायिकतामा सहयोग गर्ने गरेका छन्। माछापालनमा उदाहरण बन्दै गरेको छपिया (सियारी गाउँपालिकाको एक गाउँ) लाई विकासको मुलधारमा ल्याउने सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु बताउँछन्। ‘छपिया मात्रै हैन, सियारी गाउँपालिका नै कृषि उत्पादनमा अब्बल बन्नेछ', उनले भने ‘यसलाई कृषि ग्राम बनाउने गरी म योजना बनाइरहेको छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.