|

चितवन : जिल्ला निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नामावली दर्तामा अत्याधिक भिड बढेपछि नामावली संकलन केन्द्र थपेर बिहीबारदेखि ६ ठाउँमा पुर्‍याएको छ। यसअघि पाँच ठाउँबाट संकलन हुँदै आएकोमा भीड थेग्न नसके एक ठाउँ थपेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए।

निर्वाचन कार्यालय र प्रशासन कार्यालयको गरी ६ ठाउँमा फोटो सहितको मतदाता नामावली संकलन गरिएको छ। फोटो खिचाउन आउनेको भीड दिनदिनै बढ्दो छ। कोही गाडी र कोही ट्याक्टर रिजर्ब गरेरै मतदाता नामावली संकलनका लागि आएका छन्।

राजनीतिक दलका नेता र कार्यकर्ताहरु आआफ्नो मत संरक्षणका लागि कार्यकर्ता ओसार्ने काममा लागिरहेका छन्। भरतपुर महानगरपालिका वडा नम्बर ९ कि तिलमायाँ सुनार र सुनिता विक पनि नाम दर्ताका लागिलाइनमा छन्। उनीहरुलाई स्थानीय अगुवा महिला सुमिता विकले ल्याएकी हुन्।

‘अरुलाई पनि बोलाएको छु, आफ्नो मताधिकार त प्रयोग गर्नुपर्‍यो नि,’ सुमिताले भनिन्। यसैगरी अर्को लाइनमा छन् भरतपुर वडा नम्बर १२ का माधवप्रसाद खतिवडा। पहिलो संविधानसभाका बेला उनले श्रीमतीसँगै फोटो खिचाएका थिए। ‘श्रीमतीको नाम निस्कियो मेरो निस्किएन', ३२ वर्षीय खतिवडाले भने 'यो लापरबाही हो, बीचमा आउन पाइन अहिले फेरि दर्ता गर्न आएको।’ अधिकार सुरक्षित होस् भनेर फेरी दर्ताका लागि आएको उनको प्रतिक्रिया छ।

चितवनमा साउन १ देखि शुरु भएको मतदाता नामावली संकलनमा हरेक दिन नाम दर्ता गराउनेको संख्या बढ्दो छ। पहिलो दिन १८४ जनाले नाम दर्ता गराएकोमा साउन ११ गते एकै दिन ७५१ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए।

'दैनिक बढ्दै छन् मतदाता, लाइन मिलाउँदै ढकालले भने 'बृद्धबृद्धालाई छुट्टै लाइन बनाइएको छ, भीड बढेकाले झगडा समेत हुन थालेपछि लाइन मिलाउन आफैं खटिएको छु।’ उनका अनुसार साउन ११ गते बुधबारसम्म ५ हजार ३९९ जनाले नाम दर्ता गराएका छन्। बिहीबार मध्यान्ह १२ बजेसम्म २०० बढीले नाम दर्ता गराइसकेको उनी बताउँछन्। अहिलेसम्म नाम दर्ता गराउनेमा २ हजार ८१० महिला र २ हजार ५८९ जना पुरुष रहेका छन्।

साउनको १६ गतेदेखि भने हरेक गाउँपालिका र नगरपालिकाको कार्यालयमा नै नामावली दर्ता गर्ने काम शुरु हुने ढकालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.