|

  • मणिकुमार श्रेष्ठ-

बा !
त्यसबेला सानो भएर पनि
आग्लो थिएँ म
मेरो उचाइ तिम्रो काँधबाट सुरु हुन्थ्यो
आज
ठूलो भएर पनि होचो छु म
नियतिले तिम्रो काँध
मबाट खोसेपछि ...।

यी पंक्तिहरू लेखक तथा पत्रकार रामप्रसाद खरेलको कवितासंग्रह ‘अक्षरमा मान्छे’बाट लिइएका हुन्।

पत्रकार खरेलले असारको पहिलो साता ‘अक्षरमा मान्छे’ कवितासंग्रह बजारमा ल्याएका हुन्। उनले यस संग्रहमा जीवनलाई चार विधामा समेटेका छन्।

प्रगतिशील लेखक संघ सुनसरीका अध्यक्षसमेत रहेका खरेलको यो चौथो कृति हो। उनले यसभन्दा अगाडि २०७२ सालमा ‘रेडियो पत्रकारिता’, २०७० सालमा, ‘रे’ (निबन्धसंग्रह) र २०६८ सालमा ‘महानवाणी’ नामका पुस्तक बजारमा ल्याइसकेका छन्।

सकारात्मक सोचका अभियन्तासमेत रहेका खरेल २०५८ सालबाट नै लेखनको सुरुवात गरेको बताउँछन्। बाल्यकालमा आमाले ऊ बेलाका ‘सुनकेसरी रानी’ जस्ता दन्त्यकथाहरू सुनाउँदा आफूलाई पनि भविष्यमा गएर पुस्तक लेख्ने सोचको विकास भएको उनी बताउँछन्।

आमाले ‘रामायण’ पुस्तकलाई पूजा गर्दा आफूले पुस्तकलाई र लेखकलाई भगवान सम्झने गरेको र सोही अनुभवबाट पुस्तक लेख्ने सोचको विकास भएको उनले बताए।

उमेरले ३५ वर्ष पुगेका कवि तथा पत्रकार खरेल रेडियो पूर्वोदय इटहरीका निर्देशक तथा रेस मिडिया प्रालिका प्रबन्ध निर्देशक हुन्।

स्व. मोहनलाल खरेल र माता चन्द्रकला खरेलको कोखबाट २०४० असोज ४ गते जन्मिएका रामप्रसाद खरेलले निकट भविष्यमा ‘सकारात्मक सोच’ र ‘भाषण तथा उद्घोषण कला’ नामका दुई पुस्तक बजारमा ल्याउने तयारीसमेत गरिरहेका छन्।

‘अक्षरमा मान्छे’
खरेलले पछिल्लो पटक प्रकाशन गरेको ‘अक्षरमा मान्छे’ कवितासंग्रहमा भूमिका लेख्दै ‘कवितामा आफ्नै मत, आफ्नै अभिमत’मा यसरी अक्षरहरू निर्माण गरेका छन् उनले– ‘एउटै विन्दुमा उभिएका छौँ हामी दुई, ऊ र म, उति नै अक्षरहरू लिएर। अक्षरहरू मिलाएर मैले सुन्दर कविता बनाएँ, जुन अक्षरहरूमा मानिसका भावना, चेतना, प्रेम आदि विम्बात्मक रूपमा देखिए। त्यहाँभित्र एउटा मानिसले आफूलाई अलिकति भए पनि भेट्छ। उसले मैले बनाएको कवितामा अक्षरहरू र मात्राहरू सब भिन्नाभिन्नै छरपस्ट पारिदियो । अब कुनै पनि अक्षरमा अर्थ भेटिएन। फगत अक्षरहरूको छरपस्ट बिस्कुन।’

यसैगरी कवितायात्रामा जीवन आफैँमा कविता हो, हरेक मानिस कवि हो, हरेक मान्छेमा कविता हुन्छ भनेका छन्। यसरी नै कविता बिक्दैन? कवितामा विम्ब र प्रतीकहरूको प्रयोगमा ज्यादैज्यादै जटिलता पनि पाइन्छ। कविता पनि सरल हुन्छ भन्ने चेतना राखौँ भन्दै खरेलले भनेका छन्, ‘अनि कसरी बिक्दैन कविता?’
कवि खरेलको यस कवितासंग्रहलाई डिकुरा पब्लिकेशन प्रालिले प्रकाशन गरेको हो।

यस कवितासंग्रहमा कवि खरेलले गद्यमा लेखिएका ३४ वटा कवितालाई चारवटा खण्डमा समेटेका छन्। उनले जीवन र प्रेमलाई एकआपसमा तुलना गर्दै चाहना, आशा, प्रेमको अनुभुति समेटिएका ११ वटा कवितामार्फत जीवनलाई प्रेममा उतारेका छन्।

यसैगरी जीवनमा विद्रोह पनि हुन्छ भन्ने हेक्का राखेका खरेलले नौवटा कवितामार्फत जीवनलाई विद्रोहमा समर्पित गरेका छन् भने छवटा कवितामार्फत जीवनका ऊर्जालाई प्रस्फुटन गराएका छन्।

उनले मानिसको जीवनका भोगाइलाई आठवटा कवितामार्फत अभिव्यक्त गरेका छन्।

लेखेर बाँच्ने दिन आयो
कवि खरेल अब नेपालमा पनि लेखकले लेखेरै बाँच्न सक्ने दिनको सुरुवात भएको बताउँछन्। उनले २०७४ असारमा प्रकाशन गरेको कवितासंग्रह ‘अक्षरमा मान्छे’ एक हजार प्रतिभन्दा बढी बिक्री भइसकेको बताउँदै भने, ‘गुणस्तरीय पुस्तक लेख्नुपर्दछ, नेपालमा नै लेखकले नेपाल सरकारको सचिवस्तरको कमाइ गर्न सक्छन्।’

पछिल्लो समय कवितासंग्रहको बिक्री कम हुन्छ भनिरहेका बेला कवितासंग्रह नै प्रकाशन गरेका कवि खरेल अहिले पाठकले गुणस्तरको खोजी गरिरहेका र जहाँ गुणस्तर हुन्छ, त्यहाँ जुन विधाका पुस्तक ल्याए पनि बिक्री हुने बताउँछन्। ‘तर गुणस्तरीय भएन भने जस्तोसुकै पुस्तक प्रकाशन गरे पनि त्यो प्रकाशनका लागि मात्र हुन्छ’, खरेल भन्छन्।

अन्तमा उनकै कविताका यी पंक्ति:

लेख्छु हरेक अनिदा रातमा
मर्मस्पर्शी व्यथा
जीवन जिउने बाध्यताको
मेरो भाषै नबुझ्ने विरानो माटामा
आफ्नो देशभन्दा धेरै पर।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.