|

काठमाडौं : नेपालको सबैभन्दा पुरानो वीर अस्पतालले आफ्नो सेवालाई  विस्तार गर्न अत्याधुनिक ७ तले सर्जिकल भवन बनाउने भएको छ। अस्पतालको १ सय १८ औं वार्षिक उत्सवको अवसरमा निर्देशक प्रा. डा. भुपेन्द्रकुमार बस्नेतले नयाँ भवन निर्माणका लागि बोलपत्र समेत आह्वान गरिसकिएको समेत उनले बताए।

उनले भने 'अस्पताललाई सुविधासम्पन्न र विस्तार गर्नको लागि हाल अस्पतालको मूल भवनको अगाडि ६ सय ५० बेडको सात तले अत्याधुनिक र सुविधासम्पन्न सर्जिकल भवन बनाउने तयारीमा छौँ, जसको लागि बोलपत्र समेत आह्वान गरिसकेका छौँ।' कार्यक्रममा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले नेपालको स्वास्थ्य स्थिति बदलिएको छ कि छैन भनेर थाहा पाउने मानक वीर अस्पताल नै भएकाले यसले जनतालाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताए।

'नेपालको स्वास्थ्य सेवा बदलिएको छ कि छैन, जनताले गुणस्तरीय सेवा पाएका छन् कि छैनन् भनेर हेर्ने प्रतीक भनेको वीर अस्पतालको सेवा हो। त्यसैले जनतालाई स्वास्थ्य सेवामा सुधार भएको छ भनेर विश्वास दिलाउन वीरको सेवा सुविधालाई गुणस्तीय बनाउनुपर्छ। जसको लागि मेरो कार्याकालमा गर्नु पर्ने सम्पुर्ण सेवा गर्न तयार छु' मन्त्री पोखरेलले भने। उनले स्वास्थ्य सेवाको गुणस्तरीयता वृद्धिका लागि चाहिने अत्याधुनिक उपकरण र विशेषज्ञ सेवा विस्तार गर्न आफूले सहयोग गर्ने समेत बताए।

सुविधासम्पन्न बन्दैछ वीर अस्पताल

हाल ४ सय ६० शैय्यामार्फत सेवा दिइरहेको वीर अस्पताले आफ्नो सेवालाई सुविधासम्पन्न बनाउन अस्पतालभित्रै आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ। क्यान्सर उपचारको लागि आवश्यक रेडियोथेरापी मेसिन, न्युरो सर्जरी सम्बन्धी उपचार गर्दा आवश्यक पर्ने हाल्मोनियमलेजर उपकरण खरिदको तयारी भइरहेको निर्देशक डा. बस्नेतले जानकारी दिए। त्यस्तै नाक, कान, घाँटी र कार्डियोलोजी,ग्यास्ट्रोलोजी  जस्ता सेवालाई गुणस्तरीय बनाउन आवश्यक पर्ने उपकरण पनि सञ्चालन गर्ने तयारी भएको उनले जानकारी दिए।

'हामीले अस्पतालको सेवा विस्तार गर्नको लागि अस्पतालभित्रै आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएका छौं' उनले भने 'क्यान्सर उपचारको लागि आवश्यक रेडियोथेरापी मेसीन ल्याउने,  न्युरो सर्जरी सम्बन्धी उपचार गर्दा आवश्यक पर्ने हाल्मोनियमलेजर, ईएनटी, कार्डियोलोजी, ग्यास्ट्रोलोजी जस्ता सेवालाई गुणस्तरीय बनाउन आवश्यक उपकरण सञ्चालन गर्ने तयारी तयारीमा छौं। यसको स्थापना भए पछि जनताले सर्वसुलभरुपमा सेवा पाउँछन्।'

यस्तै अस्पतालले श्वासप्रश्वास सम्बन्धी बिरामीको लागि छुट्टै स्वासप्रश्वास युनिट समेत स्थापना गर्ने तयारी गरेको डा. बस्नेतले बताए। वि. सं. १९४७ साउन १२ गते १५ शैय्याबाट सञ्चालनमा भएको नेपालकै जेठो केन्द्रीय अस्पताल हाल ४ सय ६० शैय्याबाट जनतालाई सेवा दिदै आएको छ। अस्पतालमा हाल  दैनिक १८ सयदेखि २ हजार बिरामी बहिरंग सेवामा उपचार गराउँछन्। गत आर्थिक वर्षमा वीर अस्पतालबाट ३ लाख ८४ हजार ५ सय ५५ जनाले उपचार गराएका डा. बस्नेतले बताए।

गरिब, असहायले सुलभ मूल्यमा उपचार पाउने भनेर चिनिएको वीर अस्पतालले हाल २४ सै घन्टा हेमोडायलासिस र प्रत्येक हप्ता निशुल्क मिर्गौला प्रत्यारोपण र मानसिक रोग उपचार सेवा र  जेष्ठ नागरिकको लागि छुट्टै बहिरंग सेवा सञ्चालन हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.