|

चितवनः चितवनको पदमपुरकी ६० वर्षकी सुखमाया तामाङ  हातमा ऊनीको धागो च्यापेर आइन्। तौलँदा दुई किलो १०० ग्राम भयो उनले ल्याएको ऊन। दुई दिनको फुर्सदको समय निकालेर दुई किलो १०० ग्राम धागो कातेकी सुखमायाले झण्डै ३०० रूपैयाँ लिएर गइन्।

चाउरी परेको अनुहारमा चमक देखाउँदै उनले भनिन्, ‘अलेली सहयोग हुन्छ, एकछिन एकछिन हो बाबू।’

उनले भैँसी, बाख्रा पालेकी छन्। वस्तुभाउको स्याहार गरिसकेर उनी खाली समय चर्खा चलाउँछिन्। ‘त्यो एकछिन एक छिन बस्या बेलाँ गर्ने हो, यसमा मात्रै ध्याउन्न हुन्न’, उनी भन्छिन्।

एकैछिनमा यसैगरी धागो च्यापेर आइपुगे, वृद्ध हिमलाल घले। चार दिनमा दुई किलो ऊनबाट धागो तयार पारेको बताउने उनले २८० रूपैयाँ बुझेर गए। महिलाले सिकेका कामले पुरुषले समेत फाइदा लिँदै छन् अहिले चितवनमा।

पहिले यहाँका महिलाहरूलाई एक सय रूपैयाँ जम्मा गर्न धौधौ भएको तर चर्खा कार्यक्रम सुरु भएपछि उनीहरूलाई वैकल्पिक पेसा गर्न ऊर्जा मिलेको स्थानीय बताउँछन्। एक सय रूपैयाँ बचत गर्न नसक्ने अहिले सहकारीमा १२ हजार रूपैयाँभन्दा बढी जोहो गर्न सफल भएका छन्।

चर्खा घुमाउने पेसा पछिल्लो समय जहीँतहीँ देखिँदैन। फाट्टफुट्ट देखिए पनि यो पेसा हराउँदै गएको छ। आधुनिक प्रविधिको विकाससँगै ऊनीको धागो कात्ने घरेलु प्रविधिको यो पेसाले स्थान पाएको देखिँदैन।

हराउँदै गएको यो पेसा चितवनको पूर्वी क्षेत्र पदमपुरमा भने कायमै छ। यहाँका स्थानीय महिलाहरू अहिले फुर्सदको समयको भरपूर उपयोग गर्दै चर्खा घुमाउँछन्।

कालिका नगरपालिका– २ पदमपुरकी बुद्धिमाया घले पनि ऊन कात्छिन्। चर्खा चलाएपछि यहाँका महिलाहरूमा फुर्सदको समय मजैले सदुपयोग भएको र आम्दानी पनि बढेको बुद्धिमायाको अनुभव छ।

उनलाई कच्चा पदार्थ (भेडाको रौँ) ल्याइदिने, व्यवस्थापन गर्ने, दिदीबहिनीहरूलाई धागो कात्न लगाउने र तयारी धागो बनाएर पठाउने व्यवस्थापनको जिम्मा छ। यो गरेवापत उनले १० प्रतिशत कमिसन पाउँछिन्।

यहाँ अहिले २६० महिलालाई चर्खा वितरण भएको छ। १२० जना चर्खा समूहमा आवद्ध छन्।

गाउँमा उनीहरू नै संलग्न भएर खोलेको चेतना चेली बहुउद्देश्यीय सहकारीले पनि ८० जना महिलालाई चर्खा दिएको चर्खा समूहकी सचिव तथा सहकारीकी अध्यक्ष सत्यादेवी श्रेष्ठले बताइन्। अहिले बुढापाका, महिला सबैले सानो कमाइसमेत बचत गर्न थालेको उनले जानकारी दिइन्। ‘सय रूपैयाँ जम्मा गर्न नसक्नेको पनि अहिले १२ हजार रुपैयाँसम्म सहकारीमा जम्मा भइसक्यो’, उनले भनिन्।

मासिक १० देखि १५ क्विन्टलसम्म ऊन बन्ने बुद्धिमाया बताउँछिन्। उनका अनुसार यसबाट गाउँका महिलाहरूले नजानिँदो आम्दानी गरिरहेका छन्।
चर्खा चलाएर एक किलो ऊन कातेको ज्याला १४० रुपैयाँ छ।  फुर्सदको समयमा महिलाहरू दिनमा दुई किलोसम्म ऊन कात्छन्।

वैकल्पिक तरिकाबाट वन संरक्षणका लागि जिल्ला वन, चितवन निकुञ्ज, स्थानीय सामुदायिक वन, हरियो वन कार्यक्रमको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषले यहाँका विपन्नलाई समेटेर चर्खा कार्यक्रम सञ्चालन गरेको हो।

कोषका कार्यक्रम अधिकृत सन्तोष भट्टराईका अनुसार पहिले फुर्सद भएपछि दाउरा संकलन गरेर बिक्री गर्थे। अहिले फुर्सदको समयमा सदुपयोग गरेर घरमै आर्थिक उपार्जन गर्छन्।

जंगलमाथिको मानवीय चाप घटाउन चर्खा कार्यक्रम ल्याइएको कोषका कार्यक्रम सहायक परमानन्द गर्ग बताउँछन्।

चर्खा उनीहरूको वैकल्पिक पेसा हो। अन्य समयमा अरु नै काम गर्ने भएकाले उनीहरुको फुर्सदको समय खेर गएको छैन। पहिले पहिले फुर्सद भयो कि जंगल जाने, दाउरा खोज्ने अनि बिक्री गर्ने चलन अहिले चर्खाले हटाउँदै ल्याएको स्थानीय बताउँछन्।

यहाँका लागि कच्चा पदार्थ दिने र उत्पादित ऊन तथा गलैँचा लिने काम युनिक ऊनी धागो उद्योग काठमाडौँले गर्छ। उद्योगका सञ्चालक मोहन सुवेदी अहिले मेसिनका कारण हातले बुनेको ऊनको माग घट्दै गएको दुखेसो गर्छन्।

‘कोही कोही हातले नै बुनेको भनेर अर्डर गर्छन्, उनीहरूका लागि जेनतेन धानेका छौँ’, सुवेदीले भने, ‘नेपालीले खपत गर्न सक्दैनन्, सबै बाहिर पठाउनुपर्छ। अडर नै छैन बाहिर, मजदुरलाई काम दिनै गाह्रो भो।’

यसरी सुरु भयो चर्खा कार्यक्रम
तात्कालीन महेन्द्र प्रकृति संरक्षण कोषले २०६१ सालबाटै पाँच समूह गठन गरेर चर्खा कार्यक्रम ल्याएको थियो। बुद्धिमायाकै नेतृत्वमा यहाँ १०० चर्खा बाँडियो।

चितवन निकुञ्जको जंगलबीचमा बसेको साविक पदमपुर गाविस नै स्थानान्तरण भएकाले उनीहरूलाई आयआर्जनमा सहज पार्न यो कार्यक्रम सुरु गरिएको थियो। स्थानान्तरणको संक्रमणकालमा उनीहरू गलत व्यवसायमा नलागून् भनेर पनि यो कार्यक्रम सुरु गरिएको थियो।

नयाँ ठाउँमा आम्दानी गर्ने विकल्प पनि गाह्रो हुने हुँदा त्यसलाई पनि ध्यान दिएर कार्यक्रम सुरु गरिएको कार्यक्रम कोषका कार्यक्रम सहायक गर्गले बताए।

कोषका प्रमुख डा. चिरञ्जिवी पोखरेल विपन्नहरूलाई जंगलमा आश्रित हुन नपरोस् र उनीहरूको फुर्सदको समयको सदुपयोग गरी आयआर्जन बढोस् भन्ने उद्देश्य कार्यक्रमको रहेको बताउँछन्।

व्यवस्थापन अभावमा २०६४ सालमा चर्खा कार्र्यक्रम बन्द भएको भए पनि यसलाई फेरि ल्याउनुपर्छ भनेर २०७० सालको जेठ महिनाबाट कार्यक्रम पुन सुरु गरिएको बुद्धिमाया बताउँछिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.